+
+

शेष घले र श्रमिक नेतृत्वको प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३ गते २०:५४

-घनश्याम पराजुली (कृष्ण)

Ghanashyam parajuliगैर आवासीय नेपाली संघको सातौं महाधिवेशनबाट शेष घले पुनः गैरआवासीय नेपाली नेपाली संघको नेतृत्वमा आए । झण्डै ८० प्रतिशत बढि मत लिएर कुनै पनि संस्थामा दोस्रो कार्यकालका लागि आउनु बिरलै घटना हुन् । अमेरिकी राष्ट्रपतिको चुनावमा समेत अघिल्लो कार्यकालमा भन्दा दोस्रो कार्यकालमा उम्मेदवारको लोकपि्रयता खस्किने गरेको देखिन्छ । तर, घलेले दुई बर्ष अगाडीभन्दा झण्डै तीस प्रतिशत बढि मत ल्याएर बिजयी भए ।

८० प्रतिसत बढि मतबाट पुनः अनुमोदन हुनु घलेले थालेका कामको जनअनुमोदन हो । बिजयी भएसँगै स्वंय घलेले पनि यही कुरा स्वीकारे । कतारका उम्मेदवार टेकबहादुर कार्कीको उम्मेदवारीका कारण सर्वसम्मत हुने उनको कोसिस सफल हुन भने सकेन ।

टेकबहादुरको हार र शेष घलेको जितले के खाडीका मुलुकका श्रमिकको हारको सन्देश दिन्छ ? के यो चुनाव श्रमिक भर्सेस धनाढ्यहरुको थियो ?

गैरआवासीय नेपाली संघको सातौं अधिवेशन सुरु हुनै लाग्दा देखिएको यो ध्रुवीकरणको परिक्षण गर्न म कतारका श्रमिकहरुसम्म पुगेको थिएँ । दुई बर्षमा शेष घलेले के गरे ? अबको नेतृत्व कसको हुनुपर्छ ? एनआरएन राजनीतिमा खासै चाख नभएका भुइँमान्छेहरुको मन छाम्ने कोसिस गरेँ ।

उनीहरुबाट मैले जे नतिजा पाएँ, त्यसबाट म त्यतिबेलै प्रष्ट भइसकेको थिएँ कि यी श्रमिकको आवाजलाई नै यहाँबाट भोट हाल्न चुनिएर गएका प्रतिनिधिहरुले न्याय गर्नेछन् ।

अर्थात, मैले कुरा गरेकामध्ये ९० प्रतिशत बढी नेपाली श्रमिकहरुले शेष घलेको पक्षमा आवाज दिए । उनले गरेको कामबारे संचारमाध्यम र सामाजिक संजालबाट थाहा पाएका उनीहरुले घलेले नै एनआरएनको नेतृत्वलाई न्याय गर्न सक्ने कुरा बलियोसँग राखेका थिए । मैले यो पनि सोधेको थिएँ कि, यसपटक कतारबाटै एनआरएनको अध्यक्षका लागि उम्मेदवारी परेको छ । एनआरएनलाई श्रमिकले नेतृत्व गर्ने यो उपयुक्त मौका विरलै आउँछ । त्यसैले यसपटक तपाईले श्रमिकको नेतृत्वका पक्षमा किन नलाग्ने ?

उनीहरुले जे कारण दिएर शेषको निरन्तरताका बिषयमा मलाई कन्भिन्स गर्ने कोसिस गरे आखिर त्यही बिषय काठमाण्डौको सोल्टी होटलको हलमा स्थापित हुँदै थियो । त्यसैले मत परिणाम म र मजस्ता गैरआवासीय नेपालीका लागि अपेक्षित नै थियो ।
के गर्लान घलेले श्रमिकका लागि ?

मैले कतारमा भेटेका श्रमिकलाई नै खाडी क्षेत्रका आम नेपाली श्रमिकका प्रतिनिधि मान्ने हो भने यहाँ पसिना बगाउने नेपाली श्रमिकहरुले घलेबाट केही ब्यबहारिक कामको अपेक्षा गरेका छन् । पछिल्ला दिनमा घलेको करिश्मा जसरी चम्किदो छ, त्यसका कारण पनि धेरै श्रमिकहरु घलेसँग नजिकै बसेर आफ्ना दुःख सुनाउन चाहान्छन् । त्यसका लागि घलेले आफ्नो शक्ति, सम्र्पक र स्रोतसाधनको उपयोग गर्नेछन् भन्ने बिश्वास उनीहरुलाई छ ।

उनीहरुको माग छ- घले, तिमी हाम्रा होस्टलहरुमा, हाम्रो कार्यस्थलमा आएर हाम्रा कुरा सुन, अनि जेजति सक्छौ श्रमिकका पक्षमा नीति बनाउन पहल गर ।

जबजब चुनाव आउँछ खाडीका क्षेत्रका मुद्दा धेरैजसो उम्मेदवारका मुख्य एजेण्डा बन्न पुग्छन । धेरै उम्मेदवारले त यहाँका समस्याको छेउटुप्पो पत्तो नलगाई ठूला ठूला काम गर्ने गफ दिन्छन् । खाडी क्षेत्रका एनआरएनहरुलाई यही मुद्दा नेतृत्वमा पुग्न गतिलो भर्‍याङ बनिदिन्छ । अनि भन्ने गरिन्छ- एनआरएनले श्रमिकका लागि केही गरेन ।

गैरआवासीय नेपाली संघप्रति किन यति आशा चुलिएको होला ? के एनआरएन खाडी क्षेत्रका तिसौं लाख मजदुरको समस्या समाधान गर्न सक्ने शक्तिशाली संगठन हो ? अबश्य पनि हैन् । एनआरएन बिदेशमा बसेर संघर्ष गरिरहेका पहिलो पुस्ताका नेपालीहरुको एउटा सानो संगठन हो, जो भावनाका आधारमा नेपाली लागि केही गर्न कोसिस गरिरहेको छ । बाहिरबाट हेर्दा जति ठूलो देखिएपनि गैरआवासीय नेपाली संघको वास्तविक हैसियत भनेको एउटा सामाजिक संस्थाको मात्र हो । न त योसँग अबौंको स्रोत साधन छ, न कुटनीतिक हैसियत छ । त्यसैले एनआरएनले चाहँदैमा खाडी मुलुकका श्रमिकका लागि सुखका दिन ल्याउन सक्दैन् । मेरो बिचारमा एनआरएनले समस्यालाई बाहिर ल्याउन, सरकारलाई घचघचाउन, मुद्दाको पैरवी र केही सय वा केही हजार श्रमिकलाई सानोतिनो सहयोग गर्न मात्र सक्छ । एनआरएनको हैसियतभन्दा निकै ठूलो भारी उसलाई बोकाउनु पनि अन्याय हो । बैदेशिक रोजगारीका सन्दर्भमा एनआरएनमाथि यस्तै ठूलो र बोक्नै नसक्ने भारी बोकाएर अन्याय त गरिएको छैन् ? सबैले एकपटक सोच्नुपर्छ ।

किनकी बैदेशिक रोजगारी भनेको बहुपक्षीय र बहुदेशीय सहभागितामा सिर्जना भएको समस्या हो र त्यसको समाधानका लागि पनि त्यही तहको सक्रियता चाहिन्छ । समस्या समाधानका लागि एनआरएन एउटा पक्षसम्म त बन्न सक्ला तर पुरै समस्याको समाधान उ एक्लैले गर्नु असम्भव छ ।

तर, इच्छाशक्ति भयो भने केही सामान्य सुधार यो क्षेत्रमा गर्न सकिन्छ एनआरएनकै अग्रसरतामा । जसले कालान्तरमा राम्रो परिणाम ल्याउन सक्छ । यस क्षेत्रमा पीडित बनेका नेपाली कामदारका लागि घोषणा गरिएको कल्याणकारी कोषको संचालन त्यसमध्ये सवैभन्दा प्रतिक्षित बिषय हो । निसन्देश त्यसले सरकारी कोषबाट राहत पाउन बञ्चित धेरै पीडित श्रमिकका लागि मल्हमको काम गर्ने छ ।

बैदेशिक रोजगार सूचना केन्द्रको संचालन र मोबाइल एपमार्फत हुने सूचना प्रबाहले बर्षमा एक डेढ लाख नेपालीले सही सूचना पाए र त्यसैका कारण उनीहरु ठगिनबाट बचे भने त्यो भन्दा ठूलो पुण्य गैरआवासीय नेपाली संघका लागि अरु हुन सक्दैन् । धमिलो मुहानलाई सफा बनाउन सकियो भने खोला, नदी र समुद्रसम्मै त्यो सुद्दता कायम हुनसक्छ ।

सातौं महाधिवेशनमार्फत् नेतृत्व चुनिदा केही क्षेत्रीय असन्तुलन कायम भएको छ जसलाई पूर्ति गर्ने जिम्मेवारी फेरि पनि घलेकै काँधमा छ । यही क्षेत्रका श्रमिकको मतले यही क्षेत्रका प्रतिनिधि हारे र तपाइर्ं जित्नुभयो । त्यसैले अब अन्य निकायमा तपाईले यो क्षेत्रको प्रतिनिधित्व होस् भन्नेतर्फ ध्यान दिनैपर्छ । कोष संचालन तपाईको मुख्य एजेण्डा भएकै कारण पनि केही महत्वपूर्ण टास्कफोर्स र समितिहरुमा यो क्षेत्रका एनआरएनहरुले प्रतिनिधित्व जनाउन सके भने तपाईलाई पनि काम गर्न सजिलो हुन्छ र खाडी क्षेत्रको प्रतिनिधित्व पनि हुन्छ ।

अहिलेको निर्वाचनबाट प्राप्त स्पष्ट सन्देश के हो भने तपाई खाडी मुलुकमा बस्दैमा खाडी मुलुकको प्रतिनिधि बन्न सक्नुहुन्न, श्रमिकका पक्षमा काम गर्नुपर्छ । टीवी कार्कीले चुनाव प्रचारका क्रममा जति श्रमिकको मुद्दा उठाए, उनी सचिव वा उपाध्यक्ष रहेका बेला त्यसको १० प्रतिशतमात्र पनि काम गरिदिएको भए आज यो अबस्था भोग्नुपर्ने थिएन् । किन खाडीका आम श्रमिक नै उनलाई भोट हाल्न नमान्ने स्थीतिमा पुगे भन्ने समिक्षा कार्की स्वंय र आगामी दिनमा खाडीको नेतृत्वको दावी गर्नेहरुले बेलैमा गर्नुपर्छ ।

निसन्देशः गैरआवासीय नेपाली संघको नेतृत्व खाडी मुलुकका गैरआवासीय नेपालीहरुले गर्नुपर्छ, त्यसो हुँदा एनआरएनप्रतिको अपनत्व पनि बृद्धि हुन्छ । तर, त्यसका लागि खाडी क्षेत्रका मतदाताले श्रमिकका लागि काम गर्न सक्ने मानिसलाई नेतृत्वका लागि अगाडी बढाउँदै गर्नुपर्छ । किनकी हामीले कस्तो नेता बनाउने भन्ने कुरा हाम्रै हातमा छ, अरुका हातमा हैन् । श्रमिक हित जबसम्म ओठेभक्ति बन्छ, जवसम्म श्रमिकका पक्षमा सिन्को भाच्न नसक्ने तर नाराचाहिँ ठूलाठूला लगाउने प्रबृत्तिको अन्त्य हुँदैन् तबसम्म खाडी क्षेत्रले एनआरएनको नेतृत्व हत्याउन सक्दैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?