६ कात्तिक, गौशाला । असत्य माथि सत्यको विजयको प्रतीक शारदीय नवरात्रको क्रममा महोत्तरीको मटिहानीमा विजया दशमीका दिन लंकाधिपति रावणको पुत्ला बिहीबार राति जलाइएको छ ।
रामले रावणमाथि विजया दशमीकै दिन विजय प्राप्त गरेको खुसियालीमा रावणको प्रतिमा बनाएर जलाउने कार्य त्रेतायुगदेखि चल्दै आएको धार्मिक परम्परा रहेको छ ।
पचास फिट अग्लो रावणको पुत्ला भारतको दरभङ्गाबाट आएका सातजना कलाकारले २० दिन लगाएर रु एक लाख ५० हजारको लागतमा बाँस, रङ्गीचङ्गी पताका तथा विस्फोटक पदार्थ राखी सो प्रतिमा निर्माण गरिएको आदर्श दुर्गापूजा समिति मटिहानीले जनाएको छ ।
बाँसको तिल्ली, कागज, किरकिरी, कलर, दफ्ती, थर्माकोलको मद्दतबाट निर्माण गरिएको रावणको पुत्लामा ठूलो आवाज हुने बम तथा पुतला दहन गर्नुभन्दा पहिले आतिशबाजीको प्रदर्शन हुन्छ ।
पुत्ला टाउको, शरीर तथा खुट्टा गरी तीन भागमा बनाइन्छ र पुत्लामा पटाका जडान गरेपछि निर्धारित स्थानमा लगी सबै भागलाई जोडेपछि साजसज्जा गरी पुत्लाको स्थापित गरिन्छ । यहाँका रावणको पुत्ला दहनको दृश्य अत्यधिक आकर्षक हुन्छ । मर्यादा पुरुषोत्तम रामको लीलामा आधारित रामको प्रतिकात्मक बनेका राम भगवानले धनुषबाट रावणको नाभिमा तीर हानेपछि रावणको पुत्ला दहन हुन्छ ।
श्रद्धालुले असत्यमाथि सत्यको विजयका रूपमा भगवान् रामको दीप प्रज्वलन गरी पूजा आराधना गरिन्छ । भगवान् रामको धार्मिक विधिअनुसार पूजा सम्पन्न भएपछि रावणको पुत्ला दहन गरिन्छ र सोही राति विजय उत्सव मनाउने गरिन्छ ।
भगवान् रामको प्रतीकको रुपमा रहेका बालकले धनुषबाट रावणको नाभिमा तीर प्रहार गरेपछि रावणको पुत्ला जलेको थियो । रावण बध कार्यक्रम हेर्न नेपाल र भारतका हजारौंँ सर्वसाधारणको घुइँचो लागेको थियो । नेपालमै सबैभन्दा अग्लो रावणको प्रतिमा बनाएर जलाउने कार्य गरिँदै आएको छ ।
असत्यमाथि सत्यको विजय होस् भने सन्देश दिनका लागि विगत ११ वर्षदेखि नेपालकै प्रसिद्ध धार्मिक क्षेत्र मटिहानीमा रावण बधको कार्यक्रम प्रत्येक वर्ष विजयादशमीको दिन आयोजना गर्दै आएको छ । रासस
प्रतिक्रिया 4