१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग आफ्नो नेतृत्वको सरकारमा आउने मात्रै उपयूक्त बाटो भएको दाबी गरेका छन ।
रिपोर्टर्स क्लब नेपालको चौथौं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,’कांग्रेससँग म नेतृत्वको सरकारमा आउने मात्रै बाटो उपयूक्त हो । त्यो बाहेक अर्को विकल्प अहिले देखिँदैन ।’
प्रधानमन्त्रीले कांग्रेसलाई ईमान जमानमा रहन र विगतमा भएको सहमति तोड्ने जस्तो गल्ती सच्याउन आग्रह गरे । आफूलाई प्रधानमन्त्रीको कुर्सी बस्नका लागि नचाहिएको भन्दै उनले भने, ‘मलाई प्रधानमन्त्रीको कुर्सी भारतसँगको सम्बन्ध सच्याउन र चीनसँगको सम्बन्ध नयाँ उचाईमा पुर्याउन चाहिएको थियो । त्यो काम मैले गरेको छु ।’
मुलुकको काम गर्ने संयन्त्र भोलि गर्छौं भन्ने खाल्को अल्छि रहेको भन्दै आजैबाट गर्ने सुरु गर्ने गरी आफू अघि बढ्ने धारणा राखे । उनले दुध खान गाई नै पाल्नु पर्ने भनाइसहित मधेसीहरुप्रति लक्षित गर्दै नारा जुलस गरेर दुध खान नपाइने बताए । उनले भने, ‘भावावेशमा होइन, अब देश विकासमा अघि बढ्नुपर्छ ।’
नेपाल भारतको विरुद्ध हुनै नसक्ने बरु भरपर्दो मित्र भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालले भारतको कहिल्यै पनि अहित नचिताउने स्पष्ट पारे । उनले भने, ‘भारत नेपालको बहुआयामिक र इतिहास भन्दा अघि देखिको मित्र देश हो । केही असमझदारीहरु थिए । अहिले समाप्त भइसकेको छ ।’
मधेसवादी दलहरुप्रति लक्षित गरेर प्रधानमन्त्रीले भने, ‘केही मानिसहरु धु्रविकरणको कल्पना गरिरहेका छन् । पहाडे, मधेसी, हिमाली भनेर झ्याली बजाउने प्रयासमा लागेका छन् । जातजाति, भाषाभाषी नेपालको सुन्दरता हो । उनीहरु जात थर र भुगोलको विचमा कलह उत्पन्न गर्न खोजिरहेका छन । यो सफल हुँदैन । नेपालमा अब झ्याम्टा बज्दैन । जनताका अधिकारहरु संस्थागत भइसके ।’
सभामुख ओनसरी घर्तिले संविधान जारी भएपछि पनि असन्तुष्टिहरु ब्यक्त भइरहेको भन्दै वार्ता र सम्वादको बाटोबाट समाधान गरेर अघि बढ्नु पर्नेमा जोड दिइन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वार्ता र सम्वादबाट समाधान हुन नसक्ने कुनै समस्या नभएको भन्दै असन्तुष्ट दलहरुलाई वार्तामा आउन आब्हान गरे । उनले भने, ‘सीमांकन मिलाउन वार्ता गर्न म तयार छु । अब झगडा गरेर मात्रै हुँदैन ।’
नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधानको अपूर्णता पुरा गरेर भुकम्प र नाकाबन्दीबाट थिल्थिलो पारेको मुलुकलाई आर्थिक विकासको बाटोमा लानु पर्ने बताए । उनले नयाँ शक्ति मुलुकमा वैकल्पिक धार निर्माण गरेर राजनीतिक विकल्प दिन खडा भएको समेत स्पष्ट पारे ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले द्वन्द्वकालीन मुद्दा नियमित तरिकाले ब्यूँत्याएर देशमा दिगो शान्ति हुन नसक्ने दाबी गरे । उनले भने,’माओवादी नेताका टाउकोमा मुद्दा राखेर शान्ति हुँदैन ।’
उनले संसदवादी हिसावले संविधान ठिकै भएको र केही सकारात्मक पक्ष समेत रहेको भन्दै उत्पीडित समूदायको सवालमा अपेक्षा गरे अनुसारको विषय नसमेटिएको दावी गरे ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कसैलाई प्रधानमन्त्री, राष्ट्रपति बन्न र कसैलाई सरकारमा पुर्याउन हतार हतार फाष्टट्रयाकबाट संविधान जारी गरेको दाबी गरे । यो संविधानले अन्तरिम संविधानले दिएको अधिकार समेत खोसेकोले आफूहरुलाई स्विकार्य नभएको स्पष्ट पारे ।
प्रतिक्रिया 4