Comments Add Comment

तरकारी बालीमा हानिकारक कीरा

अर्गानिक तरकारी खाने चाह कसको नहोला र ? त्यसमाथि आफ्नै करेसाबारीको भए सुनमा सुगन्ध । तर, सहरका बासिन्दा विशेषतः काठमाडौं उपत्यकामा डेरा गरी बस्नेका लागि ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भने जस्तै हो । धेरैको खेतबारी गाउँमै छ र काठमाडौंमा करेसाबारीको सुविधा हुने कुरै भएन ।

कमल मादेन
कमल मादेन

हुन त करेसाबारी हुनेका लागि पनि बेग्लै समस्या छन् । अर्गानिक तरकारीका लागि विकासे मलको साटो कम्पोस्ट मल त प्रयोग गर्न सकिन्छ । तर, हानिकारक कीराबाट तरकारी जोगाउन विषादी प्रयोग गर्नैपर्ने बाध्यता आइलाग्छ । हिउँदे तरकारी रायो, फूलकोपी, बन्दा, मुला, गान्टे मुला, चम्सुर, पालुङ्गो, धनियाँ, लसुन, प्याजलाई भने कीराबाट जोगाउन खासै मिहिनेत गर्नु पर्दैन ।

चैत-वैशाख खासगरी स्क्वास, जुकुनी, काँक्रा, फर्सी, लौका, घिरौला, भुइँ बोडी आदि रोप्ने सिजन हो । तिनीहरु उम्रेको केही हप्तामै समस्या आइलाग्छ । स-साना सेतो भुसुना जस्तो कीरा पातमुनि देखिन्छ । कीराको संख्या चाँडै बढ्छ । त्यसको असरले बिरुवाका पात ओइलाउँदै जान्छ ।

सुरुमा तरकारी लगाउनेका निम्ति त्यो अत्यासलाग्दो समस्या हो । त्यसपछि कसरी नियन्त्रण गर्ने भनेर बीउ तथा विषादी पसल चहार्ने काम सुरु हुन्छ । त्यसै क्रममा कीराको नाम ‘हृवाइट फ्लाई’ भन्ने थाहा पाइन्छ । त्यसलाई कडा विषादी प्रयोग गरे मात्र नियन्त्रण गर्न सकिन्छ । तर, विषादी प्रयोग गरेको नखाने भनेर आफ्नै करेसाबारीमा निर्भर हुन चाहनेका लागि त्यो पीडादायी अवस्था भइदिन्छ ।

कम असर गर्ने विषादी १/२ दिन बिराएर निरन्तर स्प्रे गरिरहे ‘हृवाइटफ्लाई’ को संख्या कम गर्न सकिन्छ । संख्या मात्र कम भए काँक्रा, फर्सीको पात थोरै भए पनि स्वस्थ जस्तो देखिन्छ । तिनीहरु ‘हृवाइटफ्लाई’बाट पीडित हुँदै फुल्छ र चिचिला लाग्छ । तर, चिचिला अडिदैन, कुहिएर झर्छ । त्यो के कारण होला भनेर थाहा पाउन अर्को समस्या आइलाग्छ ।

मौरीजस्तो देखिने कीराका कारण त्यस्तो हुन्छ भन्ने थाहा पाइन्छ । फलफूलमा त्यस्ता कयौं किसिमका कीरा आउँछन् । त्यसमध्ये कम्मर ज्यादै सानो, झट्ट हेर्दा बारुला जस्तो खैरो देखिने कीराले असर गरेको भन्ने पत्तो पाइन्छ । छातीखण्ड र टाउकामा पहेंला टाटा तथा कम्मरमा हल्का कालो घेरा हुने त्यो किरालाई गाउँघरमा कान्छी नानी भनेर चिनिन्छ ।

काठमाडौं उपत्यका लगायत पहाडी र हिमाली जिल्लामा लगाइने तरकारी तथा फलफूल नष्ट गर्ने मुख्य कीरा ‘हृवाइटफ्लाई’ र ‘कान्छी नानी’ हुन् । बजारमा पाइने काँक्रा, फर्सी, लौका, घिरौला, जुकुनी, स्क्वास, करेला, बोडी, टमाटर, खरबुजा आदिमा कडा विषादी प्रयोग गरी उब्जाइन्छ । त्यस्ता विषादी प्रयोग गरेको १०/१५ दिनसम्म खानु उपयुक्त हुँदैन । तर, किसानले विषादी स्प्रे गरेको १/२ दिनमै टिपेर बजार पुर्‍याउँछन् ।

त्यस्ता वस्तुको उपभोगबाट कति असर पर्ला भन्नेमा उपभोक्ता सचेत छन् । तर, बाध्यता त्यही हो । आफैं उत्पादन गर्न सकिन्न । बजारमा त्यस्तै मात्र छन् । बजारमा कतै-कतै अर्गानिक भनेर राखेको भेटिए पनि ती कतिसम्मका अर्गानिक हुन् ? भगवान् भरोसामै छ । यस लेखमा तिनै दुई कीराका बारेमा चर्चा गरिंदै छ ।

कान्छी नानी

यो कीराको सर्वत्र चिनिने नाम ‘मेलन फ्रुट फ्लाई’ र वैज्ञानिक नाम ‘ब्याक्ट्रोसेरा कुकुरबिटा’ हो । अंग्रेजी शब्दावलीमा ‘मेलन’ले वनस्पतीय परिवार कुकुरबिटेसीको फल भन्ने जनाउँछ । संसारभर फूल फुल्ने वनस्पतिलाई चार सय ६ जति परिवारमा समूहकृत गरिएको छ । तीमध्ये सबैभन्दा बढी खान हुने वनस्पति कुकुरबिटेसी परिवारमै छ ।

MELON-FRUIT-FLYत्यसअन्तर्गत काँक्रा, फर्सी, लौका, घिरौला, चिचिन्डो, तीतेकरेला, स्क्वास, खरबुजा आदि पर्छन् । भनिन्छ, मानिसले सबैभन्दा पहिले रोप्न थालेको पनि ‘मेलन’ सम्बन्धित वनस्पति नै हुन् । चटेला, गोलकाँक्री जस्ता कुकुरबिटेसी वनस्पति अझै घरेलु भइसकेका छैनन् ।

‘ब्याक्ट्रोसेरा’ले जुनसुकै फलमा लाग्ने झिंगा समूह भन्ने अर्थ्याउँछ । कीरा अध्ययन गरिने ‘इन्टोमोलोजी’ शाखाका अनुसार, ‘ब्याक्ट्रोसेरा’ समूहमा करिब ५ सय प्रजातिका झिंगा सूचीकृत छन् । त्यस्ता झिंगाहरुमध्ये मूलतः काँक्रा, फर्सी, घिरौला, तीतेकरेला इत्यादिलाई असर पुर्‍याउने कीरा मात्र ‘ब्याक्ट्रोसेरा कुकुरबिटा’ हो । त्यसरी नै ‘ब्याक्ट्रोसेरा डोर्सालिज’, ‘ब्याक्ट्रोसेरा जोनाटा’, ‘ब्याक्ट्रोसेरा करेक्टा’ भनिने प्रजाति पनि तरकारी तथा फलफूलका निम्ति उत्तिकै हानिकारक छन् ।

काठमाडौं उपत्यकामा कान्छी नानी अर्थात् ‘ब्याक्ट्रोसेरा कुकुरबिटा’को प्रभाव बढी छ । उल्लिखित कीराहरुले ‘कुकुरविटेसी’ परिवार बाहेकका अन्य वनस्पति जस्तो मेवा, अम्बा, अनार आदिमा पनि उत्तिकै असर पुर्‍याउँछ । ती कीराले वनस्पतिको विशेषतः भर्खरैको चिचिलालाई अण्डा ओथार्ने गुँडको रुपमा प्रयोग गर्छन् । संसारभर ‘ब्याक्ट्रोसेरा कुकुरबिटा’ले एक सय २५ भन्दा बढी वनस्पतिलाई क्षति पुर्‍याउँछ भन्ने लेखिएको पाइन्छ ।

ओभिपोजिटर

धेरैजसो कीरा समूहमा पेटमुनि टुप्पोतर्फ एक खास किसिमको तिखो चक्कुजस्तो अंग हुन्छ, जुन खास प्रयोजनका बेला मात्र कीराले बाहिर निकाल्छ । त्यसको टुप्पो केही घुमेको र भित्रपट्टि खोक्रो हुन्छ । त्यस्तो अंग केही माछा र कछुवामा पनि हुन्छ । जुलोजिकल शब्दावलीमा त्यसलाई ओभिपोजिटर अर्थात् अण्डा व्यवस्थापन गर्ने अंग भन्ने बुझाउँछ ।

ओभिपोजिटरको सहायताबाट पोथी ‘मेलन फ्रुट फ्लाई’ले अण्डा सुरक्षित राख्न चिचिलामा ३/४ मिलिमिटर गहिरो प्वाल पार्छे । चिचिलाका साथै फूल, काण्ड र जमिन बाहिर देखिएको जरामा पनि चिरेर अण्डा प्रवेश गराउँछ । उक्त कीराको प्रभाव ३२ डिग्री सेन्टिग्रेट भन्दा कम तापक्रममा बढी भएको पाइन्छ ।

अण्डा राख्न प्वाल पारेको चिह्न नाङ्गो आँखाले देख्न देखिँदैन । एक-दुई दिनमा चिरिएको बिन्दु खैरो रङमा परिणत हुन्छ । एउटा पोथी कान्छी नानीले दर्जनौं प्वालमा चार सयदेखि १ हजार वटासम्म फूल पार्छे । अण्डासँगै ब्याक्टेरिया र ढुसी पनि प्रवेश हुन्छ । तीनले पनि फल कुहाउँछ । अण्डाबाट एकदेखि दुई दिनभित्र स-साना औस अर्थात् कीरा निस्कन्छ । कीरा भएको एकदेखि तीन दिनसम्ममा पेट फुलेको आकृतिको लार्भा बन्छ । कुहिएको फलसँगै लार्भा भुइँमा पुग्छ र प्यूपामा परिवर्तन हुन्छ । प्युपा शून्य दशमलब ५ देखि १५ सेन्टिमिटर जमिनमुनि रहन्छ । अण्डा पछि १२ देखि २८ दिनमा त्यो कीरा वयस्क बन्छ । ‘मेलन ˆलाई’ को भालेले फललाई कुनै असर गर्दैन ।

नियन्त्रण

‘मेलन फ्रुट फ्लाई’ले प्रदुषित तरकारीलाई जथाभावी फाल्नु हुँदैन । फलभित्र प्रशस्त त्यसैका कीरा हुन्छन् । त्यसलाई नष्ट गर्न तीन फिट गहिरो खाडलमा गाड्नु वा डढाउनुपर्छ । यस्तै, एयर टाइट हुने गरी प्लास्टिकभित्र बाँधेर केही दिन राख्दा पनि कीरा मर्न सक्छ । गाईभैंसी तथा सुँगुर जस्ता जनावरलाई पकाउने आहारामा मिसाउनु सबैभन्दा उत्तम हुन्छ । तरकारी लगाएको वरपर झासझुस बढ्न दिनु हुँदैन ।

‘मेलन फ्रुट फ्लाई’ को भालेको संख्या न्यूनीनकरण गर्न सक्नु सबैभन्दा उत्तम र प्रभावकारी नियन्त्रण गर्ने विधि हो । भाले ‘मेलन फ्रुट फ्लाई’ संसर्गको निम्ति पोथीको एक प्रकारको विशेष सुगन्धबाट आकर्षित हुन्छ ।

पोथीको सुगन्ध भएको रसायनमा विषादी मिसाएर भाले जति निर्मुल पारे पोथीले तरकारी तथा फलफूलमा असर पुर्‍याउन सक्दैन । केही दशकयता ‘फेरोमोन ट्र्याप’ नाम दिइएको प्लास्टिकको थैलामा राखिएको उल्लिखित वस्तुबाट ‘मेलन फ्रुट फ्लाई’को संख्या घटाई तरकारी तथा फलफूल बाली तुल्याउने गरिएको छ ।

बजारमा ‘फेरोमोन ट्रयाप’ चारपाटे प्लास्टिक खाली बट्टा जस्तो आकारमा पाइन्छ । त्यसभित्र भालेलाई झुक्याउन पोथीको सुगन्ध प्रदान गर्ने केही वस्तुमा विषादी मिसाएर राखिएको हुन्छ । भाले ‘मेलन फ्रुट फ्लाई’ त्यसैको गन्धले त्यसभित्र प्रवेश गर्छ र झुक्याउन राखिएको वस्तु चुसेको एक मिनेटभित्र प्राण त्याग्छ । भाले जति मरेपछि पोथी गर्भाधान हुन सक्दैन । गर्भाधान नभएको पोथीले तरकारी तथा फलफूललाई हानि पुर्‍याउँदैन । त्यसपछि स्वतः उक्त कीराको संख्या कम भएर जान्छ । ‘फेरोमोन ट्राप’ बाट ‘ब्याक्ट्रोसेरा कुकुरबिटा’ का अन्य प्रजाति पनि आकषिर्त हुन्छ ।

हृवाइटफ्लाई: अत्यन्त सानो सेतो पुतली जस्तो देखिने कीरालाई ‘हृवाइट फ्लाई’ भनिन्छ । यद्यपि त्यो हामीले भन्ने गरेको झिंगा समूहमा भने पर्दैन । त्यसको लम्बाई १ मिलिमिटर जति हुन्छ । पखेटा बाहेक शरीर हल्का पहेंलो हुन्छ । जुन मैन जस्तो चिप्लो पदार्थले ढाकेको हुन्छ । पखेटा सेता हुन्छन् । संसारभर ‘हृवाइट फ्लाई’ करिव १५ सय भन्दा बढी प्रजाति छन् ।

White-Fly-Bimisia-Tabaciतीमध्ये सबैभन्दा खतरनाक र सर्वत्र पाइने ‘बेमिसिया टाबासी’ भनिने प्रजाति हो । काठमाडौं उपत्यकामा देखिने मुख्य ‘हृवाइट फ्लाई’ पनि त्यही प्रजाति हो । त्यसले संसारभर एक सय ५५ भन्दा बढी प्रजातिका वनस्पतिलाई प्रभावित गर्दै आएको छ । उक्त कीरा विशेषतः टमाटर, काँक्रा, फर्सी, जुकुनी, स्क्वास, चिप्ले भिन्डी र रामतोरिया, बोडी, बैगुन आदिको पातमुनि बसेर पातको रस चुस्छ । त्यति मात्र नभई त्यसले भाइरस जीवाणु वनस्पतिमा प्रवेश गराउँछ । त्यो वनस्पतिमा भाइरस प्रभाव गर्ने एक मुख्य जीव हो ।

‘जर्नल अफ इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी’ (सन् २०१५) मा प्रकाशित मोहन शर्मा र प्रेमबहादुर बुढाको एक लेख अनुसार, ‘बेमिसिया टाबासी’ले एक सय १४ भन्दा बढी प्रजातिका भाइरस बिरुवामा फैलाउँछ ।

‘हृवाइट फ्लाई’को चुसाइबाट बिरुवाको पात चाउरिने, सुख्खा हुने, फल बढ्न र पाक्न नसक्ने आदि हुन्छ । ‘हृवाइट फ्लाई’को चुसाइ र भाइरसको असरले बिरुवा कामै नलाग्ने हुन्छ । पातमुनि बस्ने भएकाले यसलाई नियन्त्रण गर्न सजिलो छैन । अर्कोतिर उक्त कीराले धेरै किसिमका विषादीलाई पचाउन सक्ने गुण ग्रहण गरिसकेको छ ।

अमेरिकामा सन् १८०० ताका पहिलोपटक जानकारीमा आएको सो कीरा नेपालमा भने सन् १९९८ तिर जानकारीमा आएको हो । अमेरिकीहरूले त्यसबेला सो कीरा तरकारी बालीमा लाग्ने एक सामान्य किसिमको कीराका रुपमा मात्र लिएका थिए । तर, सन् १९८६ ताका त्यो कीरा अत्यन्त हानिकारक कीरा मानियो । इन्टरनेटमा पाइने सामग्री अनुसार फ्लोरिडामा अघिल्लो तीन दशकअघि यो कीराले तरकारी बाली निमिट्यान्न पारेको थियो ।

नियन्त्रण

करेसाबारीमा लगाइएका हरेक बिरुवामा ‘हृवाइट फ्लाई’ ले असर पारेको छ, छैन भनेर दिनदिनै नियाल्नुुपर्छ । थोरै संख्यामा देखिए लामखुट्टे मार्न प्रयोग गरिने इलेक्ट्रिक जाली प्रयोग गर्नु उपयुक्त हुन्छ । आफ्नै करेसाबारीमा टिपेको वा बजारबाट ल्याइएको तरकारीमा ‘हृवाइटफ्लाई’को अण्डा वा लार्भा भए तरकारीको त्यस्तो खण्डलाई पोल्ने वा गहिरो गरी गाड्नु उपयुक्त हुन्छ ।

करेसाबारी नजिक फूलहरु जस्तो सयपत्री आदि मिसाएर लगाउनु हुँदैन । ‘हृवाइटफ्लाई’ पहेंलो रंगले आकर्षित गर्छ । पहेंलो कडा कागजमा मोबिल वा त्यस्तै ‘हृवाइटफ्लाई’ टाँसिने गम जस्तो पदार्थ राखिदिनाले उक्त कीराहरु त्यहाँ आकषिर्त भई टाँसिएर मर्छ । स्याम्पु पानी वा निम्न स्तरको रक्सी नियमित रुपमा स्प्रे गरेर पनि थोरै मात्रामा भएको ‘हृवाइटफ्लाई’ हटाउन सकिन्छ ।

एसेटामिपि्रड भनिने विषादी र निम तेल क्रमशः एक लिटर पानीमा एक दशमलव २५ ग्राम र ३ मिलिलिटर घोलेर स्प्रे गर्दा ‘हृवाइट फ्लाई’ मर्छ । उक्त मिसावट स्प्रे गरेपछि त्यसलाई बारम्बार प्रयोग गरे ‘हृवाइटफ्लाई’ मर्दैन । त्यसपछि ड्रोन र ए-वान नामक विषादी स्प्रे गरे ‘हृवाइटफ्लाई’ मर्ने एग्रोभेटका पसले बताउँछन् । तर, उल्लिखित गरिएका दुवै प्रकारको मिसावट विषादी स्प्रे गरिए १०/१५ दिन खान उपयुक्त हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment