१७ भदौ, काठमाडौं । उपत्यकामा ९० प्रतिशत पानी पिउन अयोग्य रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी शाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा हैजाको संक्रमण फैलिएपछि स्वास्थ्य इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मातहतको इपिडिमियोलोजी शाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पानीको नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो ।
परीक्षणका क्रममा महाशाखाले ६० वटा नमूनामध्ये ५९ वटामा कोलिर्फम जिवाणु फेला पारेको थियो ।
महाशाखाले गत साउनको दोश्रो साता पनि काठमाडौं उपत्यकाको ९६ ठाउँका पानीको नमूना संकलन गरेको थियो । त्यसमध्ये ४६ वटामा इकोली, इस्टेरिया लगायत कोलिर्फमका जिवाणु पाइएको थियो ।
‘पानीमा हैजाका जिवाणु परीक्षणका क्रममा विभिन्न पानीको जाँच गर्दा उपत्यकाका ९० प्रतिशत पानी खान अयोग्य भएको पाएका छौं,’ इपिडिमियोलोजी शाखा प्रमुुख गुणनिधि शर्माले भने, ‘त्यसमा जारका पानीदेखि इनार, ढुंगेधारा, धारा सबैखाले पानी सम्मिलित छन् ।’
यसरी जाँच गरिएका पानीमध्ये अहिलेसम्म बोतलका पानीमात्र खान योग्य देखिएको छ ।
कोलिफर्मयुक्त पानीबाट बच्न सकेसम्म उमालेको पानीमात्र सेवन गर्न तथा क्लोरिन झोल राखेर पानीको सेवन गर्न चिकित्सकहरुले सबैसित अनुरोध गरेका छन् ।
प्रतिक्रिया 4