पहिलो उपन्यास ‘तोदा’ निकालेको साढे तीन वर्षपछि मैले दोस्रो उपन्यास ल्याएँ । त्यतिबेला मेरो पहिलो प्रयासलाई धेरै पाठक र अग्रजले समेत मन पराउनुभयो । त्यो हौसला मेरो लागि चुनौती जस्तो भइदियो ।
मैले आफ्नो अनुभवमा आधारित भएर रहरमै लेखेको थिएँ तोदा । उपन्यास मन पराएपछि भने गम्भीर भएँ । अब अर्को पुस्तक ल्याउँदा चानचुने लेखेर हुँदैन, समाज र राज्य व्यवस्थाको बारेमा पनि लेख्नुपर्छ भन्ने लाग्यो ।
तोदा निस्किएको तीन–चार महिनापछि मैले विषय खोज्न थालेँ । दिमागमा विभिन्न विषय आएका थिए । महिलाहरुको बारेमा धेरै नलेखिएकाले तिनका समस्याबारे लेख्नुपर्छ भन्ने पनि लाग्यो । सोच्दै जाँदा पछि मैले उपन्यासको लागि आफ्नै माइती गाउँ झापाको बाहुनडाँगी क्षेत्रको परिवेश रोजेँ ।
मेरो माइती चाहिँ खासमा बाहुनडाँगीसँगै जोडिएको बुधबारे हो । माइती गाउँ बेलाबेला गइरहन्छु । तीन वर्षअघि बाहुनडाँगी जाँदा स्थानीय एकजना दिदीले कुराको सिलसिलामा भन्नुभयो, ‘यो ठाउँमा अब त छोराछोरीको बिहेबारी समेत नहुने भयो । हात्तीले दुःख दिने ठाउँमा कसले छोरी दिन्छन् र ?’
त्यो कुराले मलाई एकदम छोयो । उपन्यासको विषय खोजिरहेको बेला मलाई यही विषयमा लेख्नुपर्छ भन्ने लाग्यो । आफ्नै जिल्लाको आफ्नै ठाउँमा यस्तो समस्या छ, मैले नलेखे कसले लेख्छ भन्ने सोच आयो ।
त्यो क्षेत्र जंगली हात्तीको आतंकबाट वर्षौंदेखि आक्रान्त भइरहेको थियो । हात्तीले दुःख दिएकाले गाउँ छिन्नभिन्न जस्तै भएको थियो । मेरो दाइको घर बुधबारे र बाहुनडाँगीको बीचमा भएकोले उपन्यासको विषयमा अध्ययन गर्न सजिलो भयो ।
अनुसन्धानमा जाँदा डेढ सय हात्ती गाउँ छिरे
जंगली हात्तीले बाहुनडाँगीसँगै बुधबारेलाई पनि समस्यामा पारेको थियो । आफू हुर्केको ठाउँ भएकोले सानै छँदा पनि हात्तीको आतंक देखेको थिएँ । हात्तीको बथान नै गाउँघरतिर छिरेर बालीनाली तहसनहस पारिदिन्थे । मान्छेहरुलाई किल्चिएर मार्थे । तर, पुस्तक नै लेख्ने भएपछि सामान्य अनुभवले नपुग्ने भएकोले म गहन अनुसन्धानतिर जुटेँ ।

एक वर्षजति स्थलगत रुपमा सोधखोज र अनुसन्धानमा लागेँ । त्यसपछि लेखन सुरु गरेँ । लेख्ने क्रममा पात्रहरुले डोर्याउँदै उतै लैजान्थे । आफ्नो ठाउँ र पहिलेदेखि थाहा पाएको कुरा भए पनि स-सानो कुराले पनि लेख्ने कुरा अड्किन्थ्यो । काठमाडौं बसेर झापाको विषयमा लेखिरहेको थिएँ । केही कुराले अड्केँ भने पनि उतै गएर टिपेर ल्याउँथेँ । पटकपटक जाने-आउने क्रममा असुविधा त भइहाल्छ । त्यसमाथि म महिला भएकोले घरपरिवारलाई त्यसै छाडेर हिँड्ने वातावरण पनि हत्तपत्त हुन्थेन ।
तथ्यगत र प्रहरी-प्रशासनको विषय हचुवाको भरमा त लेख्ने कुरा त थिएन । त्यसलाई तथ्यपरक रुपमा छानबिन गरेर लेख्नुपर्यो । मेरा पात्रहरु झापाका मात्र थिएनन्, भारतको सिलिगुडी, दार्जिलिङसम्मका थिए । त्यहाँ पनि पुग्नुपर्ने भएकाले एक्लै जाँदाका समस्या पनि थिए । मेची खोलाबाट वारिपारि गर्नुपर्दा बाढी बढेको बेला पनि मलाई धेरै समस्या भयो ।
अनुसन्धानका क्रममा जाँदा हात्तीबाट त्राहिमाम खेपिरहेको गाउँमा बास पनि बसियो । खासगरी वर्षाको बेला आउँछन् हात्ती । वर्षायाममै गएको थिएँ । राति गाउँमा डेढ सय वटा हात्ती पसेछन् । त्यसबेला मलाई अति डर लाग्यो । म सानो हुँदा हात्तीले हाम्रो गाईगोठ भत्काएको थाहा थियो । तर, अब म लेख्छु भनेपछि त्यसरी पहिलो चोटि हात्तीको बथान देख्दै थिएँ । बसिरहेको घर लडाइदियो भने के गर्ने भन्ने डरले खाइरह्यो ।
गाउँमा कति घरहरु भत्किएका, बालीनाली तहसनहस भएको देखिन्थ्यो । गाउँलेहरु हात्ती आएर सबै सखाप पारिहाल्छ भनेर कुनै बाली लगाउँदैनन् । केही समयअघि चाहिँ तारबार गरेर हात्तीलाई रोकथाम गर्ने केही उपाय गरिएको छ । तर, एक ठाउँमा तारबार गरिए पनि हात्तीले नजिकैको अर्को ठाउँमा पसेर दुःख दिने गरेको छ । यावत समस्या देखेपछि त झन् यो विषय दह्रो गरी उठाउनुपर्छ भन्ने लाग्यो । हात्ती आतंकको बारेमा समाचारहरुमा आए पनि एक कानले सुनेर उडाउने काम हुँदै आएको छ । सरकारले केही पनि गर्न सकेको देखिँदैन ।
वियोग खेपिरहने गाउँले
स्थलगत अध्ययनमा गाउँ पुग्दा हात्तीले सताएका विभिन्न पात्रहरुको बारेमा सुन्न र बुझ्न पाएँ ।
पहिलो चोटि जाँदा जीवित रहेकी एकजना वृद्धा अर्को चोटि पुग्दा हात्तीको शिकार बनेको सुनेँ । उनका श्रीमान् र एक छोरा थिए । हात्तीले बाली लगाएर गरी खान पनि नदिने र अरु उपाय केही नभएपछि त्यहाँका धेरै युवा खाडी र मलेसियातिर कमाउन जान्छन् ।
उनका छोरा पनि मलेसिया गएका रहेछन् । तर, उनको उतै मृत्यु भएपछि त्यसको पीरले श्रीमान् पनि केही समयमा बितेछन् । त्यसपछि विक्षिप्त जस्तो बनिन् उनी । एक्लो भए पनि बनिबुतो गरेर बाँचिरहेकी थिइन् । एकदिन हात्ती आएर घर भत्काइदिँदा घरले किचिएर उनको मृत्यु भएछ । त्यो कुराले मलाई पीडा भयो ।
विभिन्न समयमा हात्तीले किल्चिएर गाउँलेहरु मरेका अरु घटना पनि सुनेँ । दिनभरि खेत-खलियानमा काममा खटिने र राति भएपछि हात्ती खेदाउन कुद्नुपर्ने त्यस क्षेत्रका मान्छेहरुको दिनचर्या हुन्छ । दुःख गरेर लगाएको बाली पनि हात्तीले तहसनहस बनाइदिन्छ । धेरै वर्षदेखि एकदम पीडामा रहेका त्यहाँका जनताको सास्ती र संघर्षको प्रसंग छ उपन्यासमा ।
हाम्रो राज्य व्यवस्था कमजोर हुँदा पूर्वी नेपालमा वर्षौंदेखि जंगली हात्तीको आतंक कायम छ । यो समस्या समाधान गर्न त्यहाका बासिन्दाले प्रशासनमा पटकपटक निवेदन दिएका छन् । तारबार गरिदिने, पर्खाल लगाइदिने जस्ता समाधानका उपाय हुन सक्छ । तर, ठोस काम हुन सकेको छैन । त्यहाँबाट धेरै नेताहरु राष्ट्रिय राजनीतिमा आइसकेका छन् । चुनावको बेला सबै नेताले यो समस्या तुरुन्त समाधान गरिदिन्छौं भन्ने तर उनीहरु जितेर, हारेर फेरि जितुन्जेल पनि त्यो समस्या यथावत् रहन्छ ।
हात्ती आतंक रोकथाम गर्न भन्दै आईएनजीओहरुले धेरै सहयोग गरेका छन् । तर, त्यो पैसा कहाँ कसरी सकिन्छ भन्ने केही देखिँदैन । केन्द्रले गर्ने उपेक्षा, आर्थिक सहयोगमा हुने लुट जस्ता जड समस्यालाई पनि उपन्यासमा समेटेको छु ।
हात्ती आतंकको सेरोफेरोमा तस्करीदेखि लुटसम्म
केन्द्रविन्दुमा हात्ती आतंक भए पनि गाउँका विविध विषयलाई उठाएको छु । एउटा विषयमा लेखे पनि हामीले वरिपरि देखेका, भोगेका हाम्रै धरातलका विभिन्न उपकथा छन् उपन्यासभित्र । समाजशास्त्रीय ढंगले हेर्ने हो भने यसलाई पाठकहरुले मन पराउँछन् जस्तो लाग्छ ।
बाहुनडाँगीको परिवेशलाई दामाटार नामक काल्पनिक गाउँ उभ्याएर प्रस्तुत गरेको छु । एउटा सुन्दर गाउँ, जसलाई हात्तीले तहसनहस बनाइदिन्छ । हात्तीले बालीनाली नाश गरेर गुजाराको समस्या भएपछि मान्छेहरु बाँच्ने बाटो खोज्दै सुपारी तस्करीतिर लाग्छन् । त्यो ठाउँ तस्करहरुको अखडा हुन्छ । युवाहरु जीविकोपार्जनको खोजीमा विदेशिन्छन् । विदेश जान नसकेर गाउँमै थन्किएका कतिपय युवा कुलतमा लाग्छन् ।
उपन्यास सुरुदेखि अन्त्यसम्म तीन-चार पटकसम्म पुनर्लेखन गरेँ । बीचमा त अनगिन्ती पटक मिलाएँ । सिर्जना पुनर्लेखनले नै राम्रो हुन्छ भन्नेमा विश्वास गर्छु म । एउटा पात्रको बारेमा चित्त बुझेन भने त्यसको बारेमा माथिदेखि पुनर्लेखन गर्ने बानी छ ।
महिला पात्रलाई किन निरीह बनाउने भनेर सबल रुपमा प्रस्तुत गरेको छु । महिलाहरुका समस्या र दुःखहरु मैले समेट्ने क्रममा उनीहरुलाई निरीह पात्र बनाएको छुइनँ
लेखनकै क्रममा मलाई ढाडको निकै ठूलो समस्या भयो । अपरेशन नै गर्नुपर्यो । एक वर्ष त्यत्तिकै बित्यो । त्यस क्रममा मैले आफ्नो उपन्यासको विषयलाई उपयोगी हुने किताबहरु पढेँ । के पुनर्लेखन गर्ने भन्ने पनि सोचेँ ।
कमजोर छैनन् महिला
उपन्यासमा मैले महिला पात्रलाई बलियो रुपमा प्रस्तुत गरेको छु । त्यसरी उभ्याइएका पात्रहरु समाजभन्दा टाढाका र काल्पनिक छैनन् । सामान्यतया पुरुषहरुले महिलाको विषयमा लेख्दा रोनाधोना चरित्र र बाहिरी कुरा मात्र लेख्नुहुन्छ । तर, समाजमा महिला बलियो पनि छन् नि ! म आफू पनि सबल छु । मेरो बाल्यकालसँग जोडिएका कति कुरा सशक्त छन् ।
महिलाहरु समाजमा सक्षम छन् । उनीहरुले घरपरिवार धानेका छन् । कति दुःख-पीडा सहेका पनि छन् । तर, उनीहरुको कामको मूल्यांकन हुँदैन । यी कुरालाई मैले किन नल्याउने, महिला पात्रलाई किन निरीह बनाउने भनेर सबल रुपमा प्रस्तुत गरेको छु । महिलाहरुका समस्या र दुःखहरु मैले समेट्ने क्रममा उनीहरुलाई निरीह पात्र बनाएको छुइनँ ।
उपन्यासको लागि नाम छान्ने क्रममा पनि धेरै नाम छानियो, धेरै पटक फालियो । अन्तिममा ‘इति’ हुन आयो । इति भनेको समाप्ति । एउटा सुन्दर गाउँ हात्तीको आतंकका साथै त्यससँगै जोडिएर आउने विसंगति र विभिन्न समस्याले अन्त्यमा विलुप्त भएर गयो । एउटा गाउँको मात्र अन्त्य नभएर यसमा कसैको प्रेम र आशाको पनि अन्त्य भएको छ । यसले गर्दा शीर्षक सार्थक छ जस्तो लाग्छ ।
(कुराकानीमा आधारित)
प्रतिक्रिया 4