
१४ कात्तिक, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान र सिस्नुपानी नेपालले आयोजना गरेको ‘प्रज्ञा-सिस्नुपानी देउसी’मा कवि-कलाकारहरुको प्रस्तुतिपछि नेताहरुबीच मन्तव्यकै माध्यमबाट मञ्चमा घोचपेच चल्यो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड निम्त्याइएका थिए भने नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल लगायत अन्य थुप्रै नेता र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु प्रज्ञाको प्रेक्षालयमा उपस्थित थिए ।
मन्तव्यको सुरुमा निम्त्याइए कांग्रेस नेता पौडेल । उनले कलाकारहरुले देउसी भट्याइमार्फत हानेको सिस्नुपानीतर्फ संकेत गर्दै त्यसले आफूलाई नपोल्ने बताए ।
‘सिस्नुपानीले धेरैलाई चहर्याएको होला, धेरैलाई भतभती पोलेको होला’, नेता पौडेलले भने, ‘छाला मेरो साह्रै पातलो भए पनि सिस्नुपानीले मलाई पोल्ने गरेको छैन । यो मलाई खुसीको कुरा छ ।’
त्यसपछि मन्तव्य दिन आएका प्रधानमन्त्री ‘प्रचण्ड’ले नेता पौडेललाई इंगित गर्दै अहिले भूमिकाविहीन अवस्थामा सिस्नुपानीको प्रहारबाट जोगिए पनि कुनै दिन सिस्नुपानीको निशानामा पर्न सक्ने भन्दै सजग गराए ।
‘रामचन्द्रजीले मलाई सिस्नुपानीले छुँदैन भन्नुभयो’, प्रचण्डले भने, ‘प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ Û त्यसमाथि दोहोर्याएर भएपछि अझ बढी !’
प्रचण्डले कटाक्ष गर्दै यतिभन्दा प्रेक्षालयमा दर्शकबीच हाँसोको फोहोरा चल्यो ।
छोटो मन्तव्यका क्रममा प्रधानमन्त्री प्रचण्डले हिजो सबै नेपाली मिलेर संविधान बनाएजस्तै अब संविधान कार्यान्वयनको चुनौती पनि सबै नेपाली मिलेर पार लगाउने दाबी गरे ।
यस्तै कार्यक्रममा उपस्थित एमाले अध्यक्ष केपी ओलीले कलाकारले देउसी भाकामा औंल्याएको राजनीतिक बेथिति र दिशाहीनता अर्को वर्षसम्ममा हटोस् भन्ने कामना गरे । उनले भने, ‘अर्को तिहारमा सिस्नुपानीले अहिले उठाएको विषयभन्दा अर्कै विषय पाओस्, हामी अलिकता अगाडि बढेका होऔं, संविधान कार्यान्वयन अलिकता अगाडि बढेको होस् । चुनाव भएको होस् ।’
सिस्नुपानीको देउसीमा अन्य दललाई भन्दा नेकपा एमालेलाई कम प्रहार गरिएको थियो । त्यसमा पनि केपी ओलीलाई निकै प्रशंसा गरिएको थियो । यसो हुनुमा सिस्नुपानीका कलाकारहरुमा एमाले र केपी ओलीको प्रभाव बढी रहेको टिप्पणी केहीले गरेका छन् ।
यसमा साथै एमाले अहिले सरकारमा नभएर प्रतिपक्षमा भएकाले पनि उसमाथि कम प्रहार भएको हुन सक्छ ।
प्रतिक्रिया 4