+
+

लोडसेडिङ मुक्त अभियानमा बाधा पुर्‍याउनेलाई बाँकी राख्दिनँः ऊर्जामन्त्री शर्मा

'कारबाहीमा परेका बोर्ड सदस्यप्रति प्रतिशोध छैन'

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७३ मंसिर २८ गते १७:१२

pravakar

२८ मंसिर, विराटनगर । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा बाधा पुर्‍याउने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उज्यालो अभियानविरुद्ध जाने कसैलाई पनि बाँकी नराख्ने उनले बताए ।

‘हामी अँध्यारोविरुद्ध उज्यालो बनाउने अभियानमा लागेका छौं । यसकाविरुद्ध जाने म आफैलाई पनि छाड्दिन । अरु कसैलाई पनि बाँकी राख्दिन,’ प्रेस सेन्टर नेपाल मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले भने ।

समग्र मुलुकको विकासको पूर्वाधार विद्युत भएकाले देशलाई उज्यालो बनाउने आफ्नो अभियान सफल बनाएरै छाड्ने उनले प्रतिवद्धता समेत जनाए । विद्युत प्राधिकरणभित्रको अनियमितता र भद्रगोल अन्त्य गरी लोडसेडिङ हटाइएको भन्दै मन्त्री शर्माले यसलाई निरन्तरता दिन आफू लागिपरेको जानकारी दिए ।

‘कारबाहीमा परेका बोर्ड सदस्यप्रति प्रतिशोध छैन’

पत्रकार सम्मेलनमा मन्त्री शर्माले विद्युत प्राधिकरण सञ्चालक समितिका तीन जना बोर्ड सदस्यहरुलाई आफूले कुनै प्रतिशोध राखेर कार्वाही नगरेको स्पष्ट पारे । ‘उनीहरुलाई अध्यारोविरुद्ध उज्यालो बनाउने अभियानलाई गति दिन भनेको मात्र थिएँ तर त्यसका विपरित गएर गर्ने काम भएको छ । यसबारेमा लिखित स्पष्टिकरण मागेका छौं अन्य काम भएको छैन,’ मन्त्री शर्माले भने ।

प्राधिकरणले विद्युत उत्पादन कम्पनी मार्फत अपर अरुण निर्माण गर्ने प्रस्ताव अघि सारेपछि प्राधिकरणका सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलेे त्यसको विरोध गरेका थिए । उनीहरुले बोर्ड अध्यक्ष विनाको बैठक राखी ‘नक्कली माइन्युट’ तयार गरी सञ्चार माध्यमहरुलाई वितरण गरेको कारण देखाउँदै उर्जा मन्त्रालयले उनीहरुमाथि स्पष्टीकरण सोधेको छ ।

‘जनतालाई शेयर दिने मोडालिटी छिट्टै’

जलविद्युत आयोजनाहरुमा जनतालाई शेयर दिने मोडालिटी केही दिनमै सार्वजनिक गर्ने उनले जानकारी दिए ।

‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्तरगत सरकारले निर्माण गर्ने जलविद्युत आयोजनाहरुमा जनतालाई ३० प्रतिशत शेयर दिने नीति छ ।

मन्त्री शर्माले भने, ‘जलविद्युत आयोजनाहरुमा जनतालाई के कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा ऊर्जा मन्त्रालयले मोडालिटी तयार गरिरहेको छ, त्यो छिट्टै सार्वजनिक गरिनेछ ।’

पत्रकार सम्मेलनमा मन्त्री शर्माले विद्युत चुहावट गर्नेमा ठूला घरानाको उद्योगीहरुको संलग्नता पाइएको समेत जानकारी दिए । उनले भने, ‘विद्युत चुहावट गर्ने यस्ता उद्योगहरुको विवरण लिने काम भइरहेको छ, हामी चाँडै यस्ता उद्योगहरुको नाम सार्वजनिक गर्ने छौं र सबै जनताले थाहा पाउने छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?