Comments Add Comment

नेप्से परिसूचक १४६९ को टेवा परीक्षणमा, कस्तो देखिएला सम्भावना ?

chart-3

६ पुस, काठमाडौं । नेप्से परिसूचकले बुधवार १४६९ को बिन्दुमा टेवा परिक्षण गरेको स्पष्ट देखिएको छ । यो बिन्दु नेप्सेको लागि पटक पटक टेवा बन्दै आएको छ । दिनभरमा नेप्से २५ अंकले घटेपनि बुधवार समेत नेप्सेले दुई पटक यो विन्दुमा टेवा खोजिरह्यो ।

होटेल र ट्रेडिङ समूहबाहेक यस दिन सबै समूहको परिसूचक घटेपनि नेप्से त्यो तहभन्दा तल आउन नखोज्नुले यो विन्दु अझै दरिलो टेवाको रुपमा देखिएको स्पष्ट हुन्छ । यता बजारमा कारोबार रकममा पनि सुधार आएको छ । मंगलवारसम्म लाभांश आशमा एभरेष्ट बैंकको साविकभन्दा धेरै रकममा कारोबार भइरहेको थियो । यही कारण मंगलवार ६८ करोड रुपैयाँको सेयर किनबेच भएको देखिन्थ्यो । तर, बुधवार एभरेष्टको कारोबार ३ करोडमा सीमित हुँदा पनि बजारमा  ४८ करोड रुपैयाँको कारोबार भएको छ । यसले पनि बजारमा लगानीकर्ता आशावादी नै देखिएका छन् भन्ने संकेत गर्छ ।

तर बुधवारको बजार हेरेर नै लगानी निर्णय लिन भने सकिने अवस्था छैन् । बजार यो तहबाट लगालग १६ सय तहमाथी सम्मपुग्ने र पुनः झर्ने खालको रेञ्ज बाउण्ड प्रवृत्ति देखिदै आएको छ । त्यस्तै बजारमा अन्य आधारभुत पक्ष पनि सकारात्मक भइनसकेकोले बजार बृद्धिको दिशामा नै जाने दाबी गर्न असम्भव देखिन्छ ।

यी कम्पनीमा भने आकर्षण कायमै
यस दिन बजारमा केही कम्पनीको सेयर मूल्यमा सातदेखि नौं प्रतिशतसम्म वृद्धि पनि देखिएको छ । समस्याग्रस्त भएपछि नयाँ व्यस्थापन र लगानीकर्ता सहित सुधारको बाटोमा अगाडी बढिरहेको एनबी इन्स्योरेन्समा लगानीकर्ता आकर्षित देखिएका हुन् । कम्पनीको सेयर करीब १० प्रतिशतले मूल्य बढेर चार सय ४३ पुगेको छ । त्यस्तै, ६० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको नागबेली लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतहाराहारीमा बढेर तीन हजार चार सय ५६ रुपैयाँ पुगेको छ । कम्पनीको पुस १३ गते बुक क्लोज हुने भएको छ भने १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने योजना पनि रहेको छ ।

मेरो लघुवित्तले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभाँश प्राप्त गर्ने अवधि छुटेपनि कम्पनीको सेयरमा आकर्षण कायमै रहेको देखिन्छ । सेयर मूल्य चार सय ८७ रहेको यो कम्पनीको मूल्य तुलनात्मक रुपमा यही क्षेत्रका अन्य कम्पनीहरुको भन्दा सस्तो रहेकोले पनि आकर्षण देखिएको हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment