२७ फागुन, काठमाडौं । आगामी दशैंसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने लक्ष्यसहित सडक खनेर पाइप बिछ्याउने काम धमाधम भइरहेको छ, जसका कारण काठमाडौं धुलाम्मे भएको छ । जति धुलो उडेपनि पानीका लागि सर्वसाधारण मौन छन् ।
तर, मेलम्चीको सुरुङको निर्माणको गति भने सरकारको लक्ष्य र नागरिकको आश अनुसारको पटक्कै छैन ।
ठेकेदार कम्पनीले सुरुङ निर्माण सुस्त बनाएको छ र, झण्डै ५५ करोड अग्रिम भुक्तानी वा ऋणको रुपमा बैंक ग्यारेन्टी माग गर्दै बागर्नेनिङ थालेको छ ।
आफ्ना सुरुङ खन्ने धेरै मेसिन तथा उपकरण बिग्रिएका भन्दै इटालीयन ठेकेदार कम्पनी को-अपेरटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी)ले सरकारसँग ५ मिलियन युरो अर्थात ५५ करोड रकम उपलब्ध गराउन भनेको छ ।
मेलम्ची खानेपानी आयोजनाका प्रमुख घनश्याम भट्टराईले आयोजना समयमै सम्पन्न गर्न दबाव परिरहँदा ठेकेदार कम्पनीले समस्या देखाएर रकम मागेको बताए । साथै अहिलेको सुरुङ निर्माणको गति सरकारको असोजम्म काठमाडौंमा पानी ल्याइसक्ने लक्ष्यसँग मेल खाने अवस्थामा नरहेको स्वीकार गरे ।
‘उपकरणहरु ब्रेक डाउन भयो भनेर ठेकेदारले रकम मागेको छ । हामीले आफ्नो स्टेमेटसहितको डिटेल ल्याऊ भनेका छौं,’ भट्टराईले भने, ‘सुरुङ निर्माणको गति बढाउनुपर्ने भएकाले हामीले उसको प्रस्तावमा बिचार गर्छौं भनेका छौं ।’
अहिले सुरुङ निर्माणको गति निकै सुस्त छ । दैनिक २० मिटर मात्रै सुरु खनिँदैछ । कुनै बेला दैनिक ३० मिटरसम्म सुरुङ खनेको कम्पनीले अहिले अनेकन समस्या देखाएर काममा ढिलाइ गरिरहेको छ ।
आगामी साउनको मध्यसम्म सुरुङ निर्माण सकाउने सरकारको लक्ष्य छ । तर, अहिलेकै कामको गतिले यो सम्भव नदेखिएको भट्टराई स्वीर्काछन् ।
काम २० को गतिमा, २५ मा पुर्याउनुपर्ने
दैनिक २५ मिटर सुरुङ नखने आगामी साउन मध्यसम्म काम नसकिने भट्टराई बताउँछन् । ठेकेदारले उपकरण ल्याउन बैंक ग्यारेन्टी दाबी गरेकाले उसले पेश गर्ने स्टमेटका आधारमा निर्णय गरिने भट्टराईलेे बताए ।
आयोजना कार्यान्वयन निर्देशनालयले आसोजको मध्यसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याइसक्ने लक्ष्य राखेर पाइप राख्ने काम धमाधम गरिरहेको छ ।
तर, अहिलेकै गतिमा काम भए आसेजमा मात्रै सुरुङ छेडिनेछ । त्यसपछि फेरि पानी वितरणको ‘डेटलाइन’ सार्नुपर्ने अवस्था आउन सक्नेछ । ‘हामी कामको गति बढाउन चाहिरहेका छौं ।
लक्ष्यअनुसार काम गर्न ठेकेदारलाई दबाव पनि दिइरहेका छौं,’ आयोजना प्रमुख भट्टराईले भने-‘उसलाई पर्ने अप्ठ्यारोमा सहजीकरण गर्न पनि हामी तयार छौं ।’
४ किलोमिटरको काम बाँकी
मेलम्ची खानेपानी आयोजनाको २३ किलोमिटर सुरुङ निर्माण कार्य सकिएको छ । तर, झण्डै ४ किलोमिटर सुरुङ खन्न बाँकी नै छ ।
सुुन्दरीजलदेखि सिन्धुसम्मको करिब ९.४ किलोमिटर सुरुङ पुसको मध्यमै छेडिएको थियो । त्यतिबेला सिन्धुदेखि ग्यालथुमसम्मको २ दशमलव ८ किलोमिटर र ग्यालथुमदेखि अम्बाथानसम्मको २ दशमलब ७ किलोमिटर सुरुङ खन्न बाँकी थियो । त्यसपछि सुरु निर्माणमा समान्यमात्रै प्रगति भएको छ । पछिल्लो दुई महिनामा १ किलोमिटरमात्रै सुरुङ निर्माण भएको छ ।
‘सुरुङ खन्दा नरम चट्टान भेटिँदा थप चुनौति आउँछ,’ आयोजना प्रमुख भट्टराईले भने, ‘बलियो चट्टान भेटिए सजिलो हुन्छ । यसले पनि लक्ष्यअनुसार काम हुने कि नहुने भन्ने निर्धारण हुन्छ । त्यसैले कामको गति नबढाई त सुखै छैन । नत्र फेरि मेलम्ची आउने समय धकेलिने खतरा हुन्छ ।’
चाइना रेल्वेले सन् २०१३ को सेप्टेम्बरसम्म काम सक्ने गरी २००९ मा ठेक्का लिएपनि काम सुस्त भएपछि २०१२ मा सम्झौता तोडिएको थियो ।
त्यतिबेला चिनियाँ ठेकेदारले ६ किलोमिटर मात्रै सुरुङ निर्माण गरेको थियो । त्यसपछि इटालियन ठेकेदारले काम थाल्यो । तर, भूकम्प र नाकाबन्दीका कारण देखाउँदै यो कम्पनीले पनि समयमै काम गर्न सकेन ।
यो सुरुङ बनेपछि भने सिन्धुपाल्चोकको मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंको सुन्दरीजलमा झर्नेछ ।
तस्वीरः मिनबहादुर श्रेष्ठ
प्रतिक्रिया 4