१ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी ओली पार्टीको मेची महाकालीजस्तो महत्वपूर्ण कार्यक्रम छाडेर सोमबार काठमाडौं फर्किए । कार्यकर्ता र समर्थकहरुको ठूलो भीडले मञ्चमा ओलीलाई खोज्यो, तर पाएन ।
ओली काठमाडौंमा महत्वपूर्ण राजनीतिक काम परेकाले सभामा आउन नसकेको भन्दै नेताहरुले मञ्चबाटै माफी मागे । काठमाडौं आउनुपरेकाले ओलीले कपिलवस्तुको जितपुर र दाङका महत्वपूर्ण कार्यक्रममा सहभागिता जनाउने अवसर गुमाए ।
आखिर केपी ओली पार्टीका त्यति ठूला सभाहरु छुटाएर काठमाडौं नआई नहुने के परेछ ? यो प्रश्नले राजधानीको राजनीतिक बजार तात्नु स्वाभाविकै थियो । हुन पनि ओली भैरहवाबाट राजधानी फर्केर प्रचण्डसँग ‘वन टु वन’ भेट गर्न पुगेका थिए ।
पार्टीको कार्यक्रमै छाडेर ओली प्रधानमन्त्रीसँग भेट गर्न आइपुग्नुले यस्तो प्रश्न पनि उठ्यो, कतै सरकारै ढल्न लागेको त होइन ?
एमाले अध्यक्ष ओलीले यसअघिको भेटमा प्रधानमन्त्रीलाई भनेका थिए-अप्ठ्यारो पर्दा एमालेलाई सम्झनुहोला, मेची महाकाली अभियानबाट म कुनै पनि बेला काठमाडौं आउँछु ।’
एमाले नेताको यही वचनमा भर परेर सोमबार भैरहवामा रहेका केपी ओलीलाई प्रधानमन्त्रीले काठमाडौं बोलाए । ओली पनि प्रचण्डलाई अप्ठ्यारो परेछ भन्दै हतार-हतार पार्टीको कार्यक्रम छाडेर काठमाडौं आए । ओली यसरी हिँडेपछि जनतासँग एइमाले नेताहरुले मञ्चबाटै माफी माग्नुपर्यो ।
प्रचण्ड-ओली सम्वादमा पुरानै रटान
प्रधानमन्त्री प्रचण्डले केपी ओलीलाई दुईवटा प्रश्न सोध्न काठमाडौं बोलाएका रहेछन् । एउटा प्रश्न- एमालेले साँच्चै चुनाव चाहेको छ कि छैन ? बैसाख ३१ मा चुनाव गर्न दिने कि नदिने ?
र, प्रधानमन्त्रीको दोस्रो प्रश्न रहेछ- संविधान संशोधन प्रस्तावमा समर्थन गर्ने कि नगर्ने ?
प्रधानमन्त्रीलाई केपी ओलीले पुरानै जवाफ फर्काए- एमालेले बैसाख ३१ मा चुनाव होस् भन्ने चाहेको छ, यसमा सरकारलाई सहयोग गर्न तयार छ । तर, संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा मानिँदैन ।
प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीलाई यति नै सम्वाद गर्नु थियो त टेलिफोनमै गरेको भए के हुन्थ्यो ? यो त ‘चारआनाको मूर्गालाई बाह्रआनाको मसला’ भन्ने आहानजस्तै भएन र ? यही सम्वादका कारण केपी ओलीले महत्वपूर्ण जनसभाहरुलाई सम्वोधन गर्न पाएनन् ।
कतै ती जनसभामा ओलीलाई अनुपस्थित गराउने ग्राण्ड डिजाइन् पो थियो कि ? बोलाउने र बोलाउँदा आउनेहरुले जानून् ।
यो पनि पढ्नुहोस्
एमालेले झुक्यायो, ओली काठमाडौं हिँडेपछि एमाले नेताले माफी मागे
प्रतिक्रिया 4