हामी जहिले पनि आफ्नो प्रगति चाहन्छौं, उन्नती चाहन्छौं, समृद्धि चाहन्छौं । तर, भनेजस्तै सबैकुरा ठीकठाक हुँदैन । आफ्नो लक्ष्यमा पुग्न हामीलाई निकै गाह्रो हुन्छ । धेरै त लक्ष्यमा नपुगी विचलित हुन पुग्छन् ।
आखिर के कारणले हामी आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैनौ ? किन हामीले चाहे जस्तो उन्नती, प्रगति हुँदैन ? यसको जबाफ हामी आफैभित्र खोज्नुपर्छ । किनभने, हाम्रो आफ्नै यस्ता बानी हुन्छन् जसले हामीलाई प्रगति गर्नबाट रोक्छ ।
समयको ख्याल नगर्नु
समयप्रति खासै सचेत एवं सर्तक नहुने बानी हामीमध्ये धेरैमा हुन्छ । हामी धेरै फुर्सदमा विताउन चाहन्छौ वा हरेक क्षण समय कटाउने वाहाना खोजिरहेका हुन्छौं । समयको महत्वलाई नबुझेर पनि गैर जरुरी काममा हामी घण्टौ बिताइदिन्छौं । यसले हामीलाई सधै पछाडि धकेल्छ ।
स्वास्थ्यका लागि समय नदिने
हामी निरोगी हुन चाहन्छौं, लामो आयु बाँच्न चाहन्छौं । तर, स्वास्थ्यका लागि समय निकाल्न जाँगर चलाउँदैनौं । त्यही कारण हामीलाई अनेक रोगले आक्रमण गरिरहेको हुन्छ । त्यही रोगसँग जुध्दा जुध्दै हामीले धेरै उर्बर समय गुमाउँछौं ।
नयाँ कुरामा अपडेट हुन नचाहने
हामीले समयसँगै आफुलाई पनि बदल्नुपर्छ । चाहे त्यो प्रविधिको कुरा होस् वा शिक्षाको, चाहे त्यो आर्थको कुरा होस् वा राजनीतिको । हामी नयाँ कुराप्रति सधै जिज्ञासु हुनुपर्छ र त्यसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ । अझ अहिलेको प्रविधिको जमानामा हरेक कुरामा अपडेट भइएन भने हामी पछाडि पर्छौं ।
आफुलाई उत्कृष्ट बनाउने कोशिश नगर्नु
हामी आफुलाई उत्कृष्ट बनाउने कोशिश गर्दैनौं । जे छौ, जस्तो छौं त्यसैमा भुलिन्छौं । आफ्नो कमी कमजोरी कसरी सच्याएर अघि बढ्ने वा आफ्नो क्षमतालाई थप कसरी निखार्ने भन्ने कुरामा हामी त्यती गंभिर हुँदैनौं । यसले पनि हामीलाई अगाडि बढ्न दिदैन ।
धेरै सोच्ने, काम नगर्ने
हामी जिन्दगीका लागि धेरै योजना बनाउँछौं । त्यसमध्ये कति योजना उत्कृष्ट पनि हुन्छन् । हरेक दिन जसो हामी आफ्नो कामबारे सोच्ने गर्छौं । तर, त्यही अनुसार काममा लाग्दैनौ । हाम्रा योजनाहरु धेरै बन्छन्, त्यसै थन्किन्छन् । यस क्रममा पनि कति समय बर्बाद हुन्छ ।
आफ्नो कमजोरी महसुष नगर्नु
हामीमा केहि न केहि कमजोरी हुन्छ । कमजोरीलाई सच्याएर अघि बढ्नुपर्छ । तर, हामी आफ्नो कमजोरी के छ भनेर खुट्याउन सकिरहेका हुँदैनौ । अरुले कमजोरी देखाए पनि त्यसलाई महसुष गर्दैनौ । यसरी कमजोरीलाई नबुझ्नु वा बुझेर पनि ढाकछोप गर्ने बानीले अन्ततः हामीलाई नै प्रगति गर्नबाट रोक्छ ।
प्रतिक्रिया 4