१३ साउन, काठमाडौं । नागपञ्चमीको दिन बिहानै मठ–मन्दिरमा भीड लाग्यो । कंक्रिटको शहरमा रुपान्तरण हुँदै गएको काठमाडौंमा गोबर र दुबोसहित नागको चित्रअंकित रंगीन नाग ढोकामा टाँसिए ।
कतिले आफूले पुज्दै आएको पुरोहितमार्फत ढोकामा नाग टाँसे त आफैंले पसलवाट किनेर नाग टाँस्नेहरु पनि भेटिए । घरवालाले मुल ढोकामा नाग टाँसेका थिए भने डेरावालले आ–आफ्नो ढोका अगाडि ।
नागपञ्चमीको वैज्ञानिक महत्त्व कति छ ? बहस हुँदै गर्ला । तर, परम्परा धान्ने नाममा नाँग टास्नेहरु शहरमा बढ्दै गएको पण्डितहरुको भनाइ छ ।
पञ्चांग निर्णायक समितिले जनै लाउने र डोरो बाध्ने दिन पनि आजैलाई तोकेकाले नाँग टाँस्नेबित्तिकै नुवाइ–धुवाइ गरेर हातमा डोरो बाँधे । ब्रम्हणहरुले जनै फेरे ।
एक सय १० वर्षको इतिहासमा चौथोपटक रक्षाबन्धन पर्व यसपाली नागपञ्चमीकै दिन परेको हो । यस वर्ष साउन २३ गते सोमवार श्रावण शुक्ल पुर्णिमा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण साउन १३ गते नागपञ्चमीकै दिन गरिएको हो ।
नागपन्चमी र रक्षाबन्धन एकैदिन गरिएको २७ वर्षपछि यो पटक हो । यसअघि विक्रम सम्बत १९६३,१९८२,२०२८ र २०४७ सालमा यस्तै परेको थियो ।
विभिन्न मठ–मन्दिर एवं चोक चोकमा रंगीन डोरो लिएर बसेकाहरुले जनै र डोरोको आज राम्रै व्यापार भइरहेको छ ।
तराईलगायत शहरी क्षेत्रमा परम्परा बन्दै गएको राखी बाँध्ने परम्परालाई पनि निरन्तरता दिए काठमाडौंबासीले । आजको दिन नाँग टाँस्नाले घर चट्याङवाट जोगिनुको साथै सर्प, बिच्छीलगायतको विषालु जीववाट बचिने जनविश्वास छ ।
प्रतिक्रिया 4