Comments Add Comment

पोखरामा घरभाडा बहसः बढी पैसा तिर्ने आउनासाथ पेलेर हटाइहाल्ने !


३१ भदौ, पोखरा । पोखरेलीहरुले घरभाडा सम्बन्धी कानून बनाउन आवश्यक रहेको बताएका छन् । नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति पोखराको पाचौं वाषिर्क साधारणसभामा बोल्ने वक्ताहरुले घरभाडा सम्बन्धी कानून नहुँदा घरभाडामा बस्नेहरुले दुःख पाएको भन्दै यसको छुट्टै कानून बनाउन आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघ प्रदेश नम्बर ४ का अध्यक्ष सञ्जीवबहादुर कोइरालाले घरभाडामा बस्नेहरुले सुरक्षित महसुश हुनेखालको कानून बनाउन आवश्यक रहेको बताए ।

उनले भने,’प्रहरीले सुरक्षा दिदैमा ब्यबसायीले सुरक्षित महसुश गर्दैन, बरु उसले लगानी गरेको ब्यबसाय सुरक्षित रुपमा निर्बाध र निर्धक्क चल्नसक्ने वातावरण भएको खण्डमा मात्र उसले सुरक्षित महसुश गर्न सक्छ ।’

उनले घरभाडामा लिनेसहित सबै नीजि क्षेत्रलाई जोगाउने काम उद्योग वाणिज्य संघको भएपनि सम्बन्धित पक्षले नगरेपनि घरभाडा सरोकार समितिले गरिरहेको भन्दै धन्यवाद दिए । यद्यपी उनले ब्यबसायी बिचको अस्वस्थ प्रतिस्पर्धाकै कारणले पनि घरभाडामा लिनेहरु समस्यामा पर्नेगरेको बताए ।

उनले भने,’कुनै चोकको व्यवसाय चल्ने ठाउँ देख्यो भने अर्को पैसावाला ब्यबसायीले जतिपनि घरभाडा तिर्न तयार हुन्छ, यसले भाडादर महगिंन्छ ।’ उनले  भने, ‘ उचित भाडा तिरेर बसेकालाई पनि पेलेर हटाइन्छ ।’ घरभाडा महंगो हुँदा सामानको दाम पनि महंगिने गरेको उनले उल्लेख गरे ।

कोइरालाले सामानको अधिकतम मूल्य (एमआरपी) तोकेर त्यो भन्दा मूल्यमा बेच्न नपाएजस्तै सरकारले स्थान तोकेर भाडादर तोक्नुपर्ने र त्यो भन्दा बढी भाडा लिएको खण्डमा कार्वाही गर्नुपर्ने धारणा व्यक्त गरे ।

राष्ट्रिय घरभाडा सरोकार समिति नेपालकी अध्यक्ष देवकी बरालले घरबेटीले घरभाडामा बस्नेलाई दोश्रो दर्जाको नागरिकको रुपमा सोच्ने गरेको भन्दै अब त्यो सोंचमा परिवर्तन ल्याउनुपर्ने बताइन् । त्यसका लागि सरकारले नै कानून बनाएर कार्यान्वयन गनुपर्ने उनको भनाई थियो ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले घरभाडामा लिने र दिने दुवै एकअर्काका परिपूरक रहेको बताए । उनले घर भाडामा लिने र दिनेबीच मौखिक सहमतिका कारण कयौं ठाउँमा लफडा चल्नेगरेको औंल्याउँदै अबदेखी लिखित सम्झौता गर्न आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघकी सदस्य गीता तिवारी गौतमले घर धनीले पनि घर भाडामा लगाउनैपर्ने र व्यवसायीले पनि घर भाडामा लिनैपर्ने बाध्यता भएकाले दुवैले एकले अर्काको समस्या बुझ्नुपर्ने बताईन् । उनले सरकारले नै छुट्टै कानून बनाएर घर भाडामा दिने र लिनेलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।

संघसंस्थाको तर्फबाट बोल्दै मदिरा व्यवसायी संघ कास्कीका अध्यक्ष तारानाथ ढुंगानाले घर भाडामा लिनेलाई घरभाडामा दिनेले मौका पारेर न्याक्ने गरेको आरोप लगाए । उनले यसको समाधान सरकारी स्तरबाटै गर्न आवश्यक रहेको औंल्याउँदै त्यसका लागि कानून बनाउनुपर्नेमा जोड दिए । उनले घरभाडा लिएर पनि घरधनीले घर बहालकर नतिरेर कर छली गरिरहेको पनि आरोप लगाए ।

यसैबीच, राष्ट्रिय घरभाडा सरोकार पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत भएका छन् । घरभाडा सम्बन्धि कलम चलाएर जनतालाई सचेत तुल्याउन महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार सिग्देललाई नगद ५ हजार ५ सयसहित दोषल्ला र सम्मानपत्रले पुरस्कृत गरिएको हो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सिग्देल फेवा पोष्ट दैनिकमा आबद्ध छन् । कार्यक्रममा बोल्दे उनले पुरस्कारले जिम्मेवारी र उर्जा थपेको बताए ।

समितिका अध्यक्ष यमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार विष्णु बास्तोला, सटर भाडा संघ तनहुँका अध्यक्ष विष्णुप्रसाद पराजुली, समितिका उपाध्यक्ष टिकाबहादुर अधिकारी क्षेत्री, महासचिव कमलप्रसाद न्यौपानेले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment