Comments Add Comment

काभ्रे गोलीकाण्ड – यी हुन् पक्राउ परेका विप्लव समूहका कार्यकर्ता

Photo Credit : महानगरीय अपराध अनुसन्धान महाशाखा

६ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न काभ्रे गएको टोलीमाथि आक्रमण भएपछि फायरिङ गर्नु परेको प्रहरीले दाबी गरेको छ ।

विशेष सुराकीका आधारमा अपरेशनका लागि रोशी गाउँपालिका पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ४ राउण्ड फायर गरेको दाबी गरेको हो ।

अपरेशनको नेतृत्वको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह रोठौरले काफल डाँडामा विप्लव समूहका कार्यकर्तासँग जम्काभेट भइ नियन्त्रणमा लिन खोज्दा समूहले प्रहरीमाथि फायर गरी आक्रमण गरेको दाबी गरे ।

‘त्यसक्रममा प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड फायर गर्दा समूहका सदस्यहरु भागेका थिए । त्यसमध्ये शिव धिमाल र विशाल तामाङलाई पक्राउ गर्न सफल भएका छौं’, राठौरले भने ।

राठौरका अनुसार १० माघमा एनसेल मुख्यालय, नख्खुमा भएको विस्फोट, कमलपोखरीमा भेटिएको बम र बसुन्धारामा वैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको विष्फोटमा विप्लव समूहको संलग्नता देखिएपछि प्रहरी उनीहरुको खोजीमा जुटेको थियो ।

यो पनि पढ्नुहोस काभ्रे गोलीकाण्ड अपडेट : विप्लव समूहका ४ कमाण्डर पक्राउ

त्यसक्रममा मंगलबार बिहान नुमबहादुर विक र डिकेन्द्र राई काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ परेका विक  स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ का निकट सहयोगी समेत भएको प्रहरी दाबी छ ।

अन्य व्यक्ति काभ्रेमा लुकेको सूचना पाएपछि त्यसतर्फ महाशाखाको विशेष टोली खटिएको राठौरको भनाइ छ ।

काभ्रेबाट पक्राउ परेका दुई जनाको साथबाट विभिन्न कम्पनीको मोबाइल ६ वटा, चार्जर ४ वटा, पिलास, कालो लेदर ब्याग र ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ लेखिएको दस्तावेज लगायत बरामद भएको छ ।

थप अनुसन्धान जारी रहेको महाशाखाका सूचना अधिकारी समेत रहेका राठौरको भनाइ छ ।

हेर्नुस् महाशाखाले जारी गरेको विज्ञप्ति

यो पनि पढ्नुहोस विप्लव समूह कति बलियो ? के छ जासुसी संयन्त्रको विश्लेषण ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment