News Summary
Generated by OK AI. Editorially reviewed.- बङ्गलादेशको गार्मेन्ट ज्याला बोर्डले पाँच दिनदेखि जारी प्रदर्शनपछि कामदारको न्यूनतम तलब बढाउने सहमति जुटेको बुधबार जनाएको छ।
- कामदारहरूले हालको १२ हजार ५०० टाका तलब बढाएर ३० हजार टाका पुर्याउन माग गर्दै गाजीपुर, मिरपुर, नारायणगञ्ज र सावरमा प्रदर्शन जारी राखेका छन्।
- बङ्गलादेशको गार्मेन्ट उद्योगले कुल निर्यात आम्दानीको करिब ८० प्रतिशत हिस्सा ओगटेको छ र वार्षिक निर्यात ३८ अर्ब अमेरिकी डलर रहेको छ।
१८ कात्तिक, ढाका (रासस/एएफपी)। बङ्गलादेशको गार्मेन्ट उद्योगसम्बन्धी ज्याला बोर्डले पाँच दिनदेखि जारी विरोध प्रदर्शन र छिटपुट झडपपछि कामदारको न्यूनतम तलब बढाउन सहमति जुटेको बुधबार जनाएको छ ।
सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेश चीनपछि विश्वकै दोस्रो ठूलो तयारी पोसाक निर्यातकर्ता मुलुक हो । यहाँ विश्वका चर्चित ब्रान्डका लागि कपडा उत्पादन गरिन्छ । गार्मेन्ट क्षेत्रमा ४० लाखभन्दा बढी मानिस कार्यरत छन् । तर, न्यून तलब, कमजोर कार्य वातावरण र श्रमिक अधिकारसम्बन्धी लामो समयदेखिका विवादले यस क्षेत्रको विकासमा चुनौती थप्दै आएका छन् ।
गत शनिबारदेखि हजारौँ गार्मेन्ट कामदार तलब वृद्धिको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनका क्रममा केहीले इँटा प्रहार गर्नुका साथै सडक अवरुद्ध गरेका छन् भने प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको छ । ज्याला बोर्डमा कामदारका प्रतिनिधि बाबुल अख्तरले कामदारहरूले डिसेम्बरभित्रै तलब वृद्धि गर्ने निर्णय गर्न माग गरेको बताए। यसो भए जनवरीदेखि परिमार्जित तलब पाउन सकिने उनको भनाइ छ ।
“ज्याला बोर्डमा रहेका कारखाना मालिकका प्रतिनिधि पनि यसमा सहमत भएका छन् । हामी यस विषयमा सहमतिमा पुगेका छौँ र मिलेर काम गरिरहेका छौँ,” उनले भने । बङ्गलादेशमा मुद्रास्फीति आठ प्रतिशतको हाराहारीमा रहेकाले खाद्यान्न, आवास, यातायात र स्वास्थ्य सेवाको मूल्यवृद्धिले कामदारको क्रयशक्ति घटाएको छ ।
कामदारहरूले हालको मासिक न्यूनतम तलब १२ हजार ५०० टाकाबाट बढाएर ३० हजार टाका (करिब २४० अमेरिकी डलर) पु-याउन माग गरेका छन् । यो हालको न्यूनतम तलबभन्दा १४० प्रतिशत बढी हो । सरकारले तलब वृद्धिसम्बन्धी विषयमा वार्ता गर्न रोजगारदाता र कामदारका प्रतिनिधि सम्मिलित ज्याला बोर्ड आइतबार गठन गरेको थियो । यद्यपि, तलब कति बढाउने भन्नेबारे सहमति भइसकेको छैन ।
बोर्डमा बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए) का प्रतिनिधि एबीएम शम्सुद्दिनले डिसेम्बरभित्रै बोर्डले आफ्नो काम पूरा गर्ने बताए। “कामदारहरूले जनवरीसम्ममा बढेको तलब पाउन सकून् भन्ने उद्देश्यले हामी डिसेम्बरभित्रै प्रक्रिया पूरा गर्नेछौँ,” उनले भने। बङ्गलादेशको गार्मेन्ट उद्योगले मुलुकको कुल निर्यात आम्दानीको करिब ८० प्रतिशत हिस्सा ओगटेको छ । यस क्षेत्रको वार्षिक निर्यात मूल्य ३८ अर्ब अमेरिकी डलर रहेको छ ।
यस उद्योगको सबैभन्दा ठूलो एकल बजार संयुक्त राज्य अमेरिका हो भने युरोपेली सङ्घ सबैभन्दा ठूलो व्यापारिक समूह हो । बङ्गलादेशका कामदारले फ्रुट अफ द लुम, लेवी स्ट्रस र भीएफ कर्पलगायत कम्पनीका लागि कपडा उत्पादन गर्छन् । ती कम्पनीका प्रमुख ब्रान्डमा भ्यान्स, टिम्बरल्यान्ड र द नर्थ फेस रहेका छन् । बुधबार ज्याला बोर्डमा वार्ता भइरहँदा गाजीपुर, मिरपुर, नारायणगञ्ज र सावरलगायत प्रमुख औद्योगिक क्षेत्रमा प्रदर्शन जारी थियो ।
नारायणगञ्जका औद्योगिक प्रहरी अधीक्षक अब्दुल्लाह अल महमूदका अनुसार प्रदर्शनकारीहरूले केही कारखानामा तोडफोड गर्नुका साथै अन्य कामदारलाई पनि हडतालमा सहभागी हुन आग्रह गरेका थिए । “हामी उनीहरूलाई कुनै पनि स्थानमा नाकाबन्दी गर्न दिने छैनौँ,” उनले पत्रकारहरूसँग भने। गाजीपुरका औद्योगिक प्रहरी अधीक्षक अमजद हुसेनले त्यहाँको अवस्था तनावपूर्ण रहेको बताए।
प्रतिक्रिया 4