+
+
Shares

रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो, भारत निर्यात पनि कटौती

नेपालले चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा भोटेकोशीको भीषण बाढीले चिलिमे र त्रिशूली आयोजनामा क्षति पुर्‍याएपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको ४० मेगावाट विद्युत् रोकिएको छ ।
  • बाढीले रसुवा र नुवाकोटका १२ जलविद्युत् आयोजनामा क्षति पुर्‍याउँदा भारततर्फको विद्युत् निर्यात पनि कटौती गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
  • प्रभावित आयोजनामा कार्यरत ९ सय ७४ जना अझै सम्पर्कविहीन छन्, र सेनासहितको संयुक्त टोलीले सुरुङ, कार्यालय र आवास क्षेत्रमा खोज तथा उद्धार जारी राखेको छ ।

१८ भदौ, काठमाडौं । रसुवा भोटेकोशीमा आएको भीषण बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि नेपालबाट बंगलादेश निर्यात हुँदै आएको विद्युत् रोकिएको छ । बाढीका कारण भारततर्फ निर्यात हुँदै आएको विद्युत् पनि कटौती भएको छ ।

बंगलादेशमा विद्युत् निर्यातका लागि सम्झौता गरिएका चिलिमे र त्रिशूली जलविद्युत् आयोजनामा भोटेकोशी बाढीले क्षति पुर्‍याएपछि ती आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश पठाउन नसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपालले यी दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको थियो । बाढीले प्रसारण तथा उत्पादन संरचनामा क्षति पुर्‍याएपछि अहिले उक्त विद्युत् निर्यात रोकिएको हो ।

नेपालले भारत र बंगलादेश दुवैतर्फ गरी करिब १ हजार २ सय मेगावाटसम्म विद्युत् निर्यात अनुमति पाएको थियो । तर, भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि निर्यातयोग्य विद्युत् उपलब्धता घटेको छ ।

बाढीका कारण प्राधिकरण र निजी क्षेत्रका गरी १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । निर्माणाधीन आयोजनाका संरचनासँगै सञ्चालनमा रहेका आयोजनामा समेत बाढीले क्षति पुर्‍याएको छ ।

क्षतिको प्रत्यक्ष असर विद्युत् उत्पादनमा परेपछि भारततर्फ पठाउँदै आएको विद्युत् समेत कटौती गर्नुपरेको प्राधिकरणको भनाइ छ । बाढी प्रभावित आयोजनाहरूबाट उत्पादन पुन: सुरु हुन नसकेसम्म विद्युत् निर्यातमा थप दबाब पर्ने देखिएको छ ।

बाढीले उत्पादनसँगै उद्धारमा पनि चुनौती

बाढीले आयोजनाका संरचनामा मात्रै क्षति पुर्‍याएको छैन, निर्माणाधीन आयोजनामा कार्यरत श्रमिक तथा कर्मचारीको उद्धार समेत जटिल बनेको छ ।

लाङटाङ जलविद्युत् आयोजनामा विदेशी प्राविधिक सहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरेर खोजी गरिरहेको छ । टोलीले सुरुङभित्र करिब १ सय ५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना होल बनाएर त्यहाँ फसेका मानिसको अवस्थाबारे खोजी गरिरहेको छ ।

चिलिमे हाइड्रोपावरमा पनि विदेशी प्राविधिक सहित संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार भइरहेको छ ।

त्यस्तै माथिल्लो त्रिशूली-३ ‘ए’ आयोजनामा ९३ जनाको संयुक्त उद्धार टोलीले खोजी तथा उद्धारको काम गरिरहेको छ । टोलीले पाँच वटा एक्स्काभेटर प्रयोग गरी सुरुङको आउटलेटमा भरिएको लेदो, माटो तथा अन्य अवरोध हटाइरहेको छ ।

राति करिब २ बजेसम्म काम जारी राख्ने क्रममा सुरुङको आउटलेटमा रहेको होल साँघुरो भएपछि क्राउन क्षेत्रमा ब्लास्टिङ गरी होल ठूलो बनाउने र सफा गर्ने कामसमेत गरिएको छ । सुरुङभित्र पुगेर सम्भावित फसेका व्यक्तिको खोजी गर्न आउटलेट खुलाउने कामलाई प्राथमिकता दिइएको छ ।

माथिल्लो त्रिशूली-३ ‘बी’ आयोजनामा पनि नेपाली सेना, गैरसैनिक जनशक्ति र आयोजनाका अधिकारी सहित संयुक्त टोली परिचालन भएको छ ।

सेनाका ८९, गैरसैनिक ३ तथा आयोजना प्रबन्ध निर्देशक सहित टोलीले आयोजना कार्यालय तथा आवास क्षेत्र पहिचान गरी त्यहाँसम्म पुग्ने बाटो खोल्ने काम गरिरहेको छ ।

भारी पहिरो र लेदोका कारण अवरुद्ध क्षेत्रमा एक्स्काभेटर र बुर्कट प्रयोग गरी बाटो बनाउने तथा माटो पन्छाउने काम भइरहेको छ ।

भोटेकोशी बाढीबाट प्रभावित आयोजनामा कार्यरत ठूलो संख्याका श्रमिक तथा कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन् । प्रभावित १२ आयोजनामा नेपाली तथा विदेशी कामदार समेत गरी सयौँ व्यक्ति बाढीपछि सम्पर्कविहीन छन् ।

प्रभावित आयोजनामा ९ सय ७४ जना सम्पर्कविहीन छन् । बाढी आएको एक साताभन्दा बढी समय बितिसक्दा पनि सुरुङ, भूमिगत विद्युत्गृह, कार्यालय तथा आवास क्षेत्रमा फसेका वा सम्पर्कविहीन व्यक्तिको अवस्था यकिन हुन सकेको छैन ।

सरकारले नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धार टोली परिचालन गरे पनि भौगोलिक कठिनाइ, पहिरो, लेदो र सुरुङमा जमेको माटोका कारण उद्धार कार्य अत्यन्त जोखिमपूर्ण र जटिल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?