+

कराते टोलीलाई मन्त्री पोखरेलले भने : नतिजाको तनाव नलिई शतप्रतिशत दिनुस्

२०८३ भदौ  १९ गते १३:३५ २०८३ भदौ १९ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानको २०औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई त्रिभुवन विमानस्थलमा बिदाइ गरे।
  • मन्त्री पोखरेलले खेलाडीलाई पदकको दबाब नलिई शतप्रतिशत प्रदर्शन गर्न र नयाँ अनुभव लिएर फर्कन आग्रह गरे।
  • सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा जाने राष्ट्रिय टोलीलाई विमानस्थलको ‘भीआईपी कक्ष’ प्रयोग गर्न पाउने व्यवस्था सुरु गरेको उनले जानकारी दिए।

१९ भदौ, काठमाडौं । जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको नेपाली कराते टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शुक्रबार बिदाइ गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर मन्त्री पोखरेलसहितका खेल पदाधिकारीहरूले खेलाडीलाई सफलताको शुभकामनासहित बिदाइ गरेका हुन् ।

बिदाइका क्रममा मन्त्री पोखरेलले खेलाडीहरूलाई पदक वा नतिजाको अनावश्यक दबाब नलिई आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सुझाव दिए ।

‘देशको झण्डा बोकेर खेल्न जाँदै हुनुहुन्छ, त्यसका लागि सबैलाई धन्यवाद छ,’ खेलाडीहरूको हौसला बढाउँदै उनले भने, ‘अहिले नतिजा के होला भनेर नसोच्नुहोस्, आफ्नो तर्फबाट शतप्रतिशत दिनुहोस् र त्यहाँबाट नयाँ अनुभव लिएर फर्कनुहोस् ।’

मन्त्री पोखरेलले हार वा जित जे भए पनि राज्यले खेलाडीलाई गर्ने सम्मान र दृष्टिकोणमा कुनै परिवर्तन नआउने स्पष्ट पारे । विगतमा पदक जित्दा मात्रै स्वागत गर्ने र पराजित हुँदा बेवास्ता गर्ने गलत प्रवृत्ति रहेको भन्दै उनले अब त्यस्तो नहुने दाबी गरे ।

विभिन्न खेलाडीहरूसँगको अन्तरक्रियाबाट आफूले उनीहरूले राज्यसँग ठूलो आर्थिक अपेक्षाभन्दा पनि मेहनतको कदर र आत्मसम्मान मात्रै खोजेको महसुस गरेको मन्त्री पोखरेलले बताए ।

खेलाडीको सम्मानस्वरूप सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाने राष्ट्रिय टोलीलाई विमानस्थलमा ‘भीआईपी कक्ष’ प्रयोग गर्न पाउने व्यवस्था सुरु गरेको उनले जानकारी दिए ।

‘विशिष्ट व्यक्तिले जस्तै राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीले पनि सम्मान पाउनुपर्छ । अहिलेसम्म खेलाडीहरू सामान्य यात्रुजस्तै लाइनमा बसेर आफ्नै सामान बोकेर जानुपर्ने अवस्था थियो, त्यसलाई परिवर्तन गर्दै हामीले यो व्यवस्था गरेका हौँ,’ उनले भने ।

आगामी दिनमा पनि खेलाडीलाई बिदाइ गर्न आफू विमानस्थलमै उपस्थित हुने प्रयास गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘जानुस्, आफ्नो सर्वोत्कृष्ट प्रदर्शन गर्नुस्, सबैलाई शुभकामना छ।’

२०औं एसियन गेम्स खेलकुदमन्त्री सस्मित पोखरेल नेपाली कराँते टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय