+

नेपाल भलिबल लिग आजदेखि : सर्वाधिक पुरस्कार राशी देखि विदेशी खेलाडी मुख्य आकर्षण

२०८३ भदौ  १९ गते ७:४४ २०८३ भदौ १९ गते ७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल लिगको पहिलो संस्करण आजदेखि काठमाडौंमा ६ टोलीबीच सुरु हुँदैछ ।
  • उद्घाटन खेलमा सगरमाथा स्म्यासर्स र मधेश वारियर्स अपराह्न ४ बजे दशरथ रंगशाला कभर्डहलमा खेल्दैछन् ।
  • एनभीएल विजेताले २० लाख रुपैयाँ पाउनेछ, र प्रतियोगितामा १० देशका १८ विदेशी खेलाडी सहभागी हुँदैछन् ।

१९ भदौ, काठमाडौं । पुरुष भलिबलको बहुप्रतीक्षित फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाली भलिबललाई व्यावसायिक र फ्रेन्चाइज मोडलमा अघि बढाउने लक्ष्यसहित आयोजना हुन लागेको एनभीएलको पहिलो संस्करणमा ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

केडिया ग्रुपको आयोजनामा हुने लिगको उद्घाटन खेलमा आज सगरमाथा स्म्यासर्स र मधेश वारियर्स आमनेसामने हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने खेल अपराह्न ४ बजे सुरु हुनेछ ।

पहिलो दिनको दोस्रो खेलमा अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ७ बजे सुरु हुनेछ ।

लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने आयोजकले यसअघि नै घोषणा गरिसकेको छ ।

एनभीएलमा सहभागी ६ टोलीले सिंगल राउन्ड रोबिन प्रणालीमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । लिग चरणको समाप्तिपछि शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् ।

एनभीएलको पहिलो संस्करणमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली यशविस र खप्तड फाल्कन्स सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् ।

सर्वाधिक पुरस्कार राशी

एनभीएलको विजेताले पाउने पुरस्कार रकम नेपाली भलिबल इतिहासमै सर्वाधिक पुरस्कार राशी रहेको छ । जसले गर्दा एनभीएलको पहिलो संस्करण अझ विशेष बन्ने निश्चित छ । एनभीएलको च्याम्पियन बन्ने टोलीले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । आयोजकका अनुसार लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ ।

बाँकी १२ लाख उपविजेता देखि विधागत अवार्ड र प्लेअर अफ म्याचको पुरस्कारमा छुट्याइएको पनि आयोजकले जनाएको छ ।

एनभीएलको विजेता टोली नेपाली भलिबल इतिहासमै सर्वाधिक नगद पुरस्कार प्राप्त गर्ने टिम बन्नेछ । जसका लागि अहिले ६ टोली होडमा छन् ।

१० देशका १८ विदेशी खेलाडी

नेपाल भलिबल लिगको पहिलो संस्करणमा  विदेशको पनि चर्चित खेलाडीहरुको उपस्थिती हुनेछ । यसले एनभीएलललाई अन्तर्राष्ट्रिय रुपमा पनि फैलन सहयोग पुर्‍याउने विश्वास छ । प्रतियोगितामा १० देशका १८ विदेशी खेलाडी विभिन्न ६ फ्रेन्चाइज टोलीबाट खेल्दैछन् ।

यसअघि नेपालमा आयोजना हुने अधिकांश पुरुष भलिबल प्रतियोगितामा विदेशी खेलाडीका रूपमा भारत र पाकिस्तानका खेलाडीको उपस्थिति बढी हुने गरेको थियो । तर एनभीएमा छिमेकी देश मात्र नभएर एसियाकै मंगोलिया देखि इरानसम्म अनी युरोप देखि ब्राजिलसम्मको खेलाडी देखिनेछन् । विभिन्न देश र फरक खालको भलिबल संस्कृतिबाट १८ विदेशी खेलाडीहरुले नेपालको घरेलु कोर्टमा खेल्दैछन् ।

एनभीएलमा पाकिस्तानबाट सर्वाधिक पाँच खेलाडी सहभागी छन् भने भारत र मंगोलियाबाट तीन–तीन खेलाडी खेल्दैछन् ।

त्यसैगरी इरान, रुस, पोल्यान्ड, बेलारुस, सर्विया, ब्राजिल र बेनिनबाट एक–एक खेलाडीले एनभीएल खेल्न आएका छन् ।

नेपालमा आयोजना हुने पुरुष भलिबल प्रतियोगिताको इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा विदेशी खेलाडी एउटै प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेका हुन् । यस्तै पुरुष भलिबलमा १० देशको खेलाडी जम्मा भएको पनि यो पहिलो पटक नै हो ।

यसले एनभीएललाई नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग घरेलु कोर्टमै एक साथ प्रतिस्पर्धा गर्ने अवसर मिलेको छ ।

एनभीएलको नारा उचाईको नयाँ उडान भने जस्तै यस लिगले नेपालको पुरुष भलिबललाई व्यावसायिकतातर्फ नयाँ उचाइमा लैजाने र नेपाली भलिबलको स्तर विकासमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

घरेलु कोर्टमा नयाँ उत्साह

फ्रेन्चाइज टोली, खेलाडी अक्सनको माहोल, विदेशी खेलाडीको आगमन, आकर्षक पुरस्कारका कारण एनभीएलको पहिलो संस्करणलाई नेपाली भलिबल समर्थकले उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् । त्यो प्रतिक्षाको समय अब सकिन लागेको छ ।

आजदेखि घरेलु कोर्टमा सुरु हुने एनभीएलको प्रतिस्पर्धाले नेपाली पुरुष भलिबलमा नयाँ अध्यायको सुरुवात समेत हुनेछ ।

नेपालको राष्ट्रिय टिमका खेलाडी देखि विदेशी खेलाडीहरुको जमघट रहेको यस लिगमा ट्यालेन्ट हन्टबाट आएका नयाँ प्रतिभावना खेलाडीहरु पनि छन् । उनीहरु पनि नाम चलेका खेलाडीसँग ड्रेसिङ रुम सयर गर्ने देखि कोर्टमा एक साथ उत्रनका लागि उत्साहित छन् ।

६ वटै फ्रेन्चाइज टोद्यीले ट्यालेन्ट हन्ट मार्फत १-१ खेलाडी (१९ वर्षमुनीका) आफ्नो टिममा समावेश गरेका छन् । उनीहरुका लागि नेपाली र विदेशी खेलाडीसँग सिक्ने यो ठूलो अवसर बन्नेछ ।

 

नेपाल भलिबल लिग
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय