News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल भलिबल लिग भदौ १९ देखि २७ गतेसम्म काठमाडौंको दशरथ रंगशालाको कभर्डहलमा ६ फ्रेन्चाइज टोलीसहित सुरु हुँदै छ ।
- पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिगमा ९ राष्ट्रका १८ विदेशी खेलाडी आउनेक्रममा एक जना मात्र आउन बाँकी छ ।
- सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली शिवराज र खप्तड फाल्कन्सले विदेशी खेलाडी अनुबन्ध गरेका छन् ।
१७ भदौ, काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) सुरु हुन अब दुई दिन मात्र बाँकी छ ।
केडिया ग्रुपको आयोजनामा भदौ १९ देखि २७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने लिगमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि नै महिला भलिबलको फ्रेन्चाइज लिग आयोजना भइसकेपनि पुरुषको भने यो पहिलो फ्रेन्चाइज लिग हो र आयोजकदेखि खेलाडीहरू यसका लागि उत्साहित छन् ।
यस लिगको सबैभन्दा मुख्य विशेषता भनेको विदेशी खेलाडीको आगमन पनि हो । नेपाल भलिबल लिगमा ६ टिमले ३-३ विदेशी खेलाडी राख्ने प्रावधान छ । जसमा विभिन्न देशका खेलाडीहरू नेपाल भलिबल लिग खल्न नेपाल आइसकेका छन् ।
यसअघि नेपाल भलिबल संघले आयोजना गर्ने प्रतियोगितामा अधिकांश भारत र पाकिस्तानका खेलाडीहरू मात्र आउने गरे पनि यस लिगमा भने एसिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिकी खेलाडीहरू पनि आउँदैछन् ।
यस पटक नेपाल भलिबल लिगमा विभिन्न ९ राष्ट्रका खेलाडीहरू आएका छन् । त्यसमध्ये पाकिस्तान र भारतका खेलाडीहरू धेरै छन् ।
तर यस पटक एसिया भन्दा बाहिरका खेलाडीहरू पनि नेपाल आउँदा नेपाल भलिबल लिगको प्रचार प्रसारमा ठूलो सहयोग पुग्ने र नेपाली भलिबल खेलाडीहरूले पनि विदेशी खेलाडीहरूबाट धेरै कुरा सिक्न सक्नेछन् ।
अहिलेसम्म पक्का भइसकेका विदेशी खेलाडीमा पाकिस्तानबाट सबैभन्दा धेरै ५ खेलाडी आएका छन् । यस्तै भारत र मंगोलियाबाट ३-३ खेलाडी नेपाल आइसकेका छन् । यसबाहेक पोल्यान्ड, बेलारुस, इरान, रसिया, बेनिनबाट पनि १-१ खेलाडी नेपाल आइसकेका छन् ।
लिग खेल्ने १८ मध्ये अब एक विदेशी खेलाडी मात्र नेपाल आउन बाँकी छन् ।
कुन टिमको कुन खेलाडी ?
सगरमाथा स्म्यासर्स

कोशीको शानको रुपमा रहेको सगरमाथा स्म्यासर्सले तीनै विदेशी खेलाडी पाकिस्तानबाट भित्र्याएको छ ।
नेपाली राष्ट्रिय टिमका कप्तान हरिहजुर थापा मार्की र उत्सव खड्का मुख्य प्रशिक्षक रहेको सगरमाथाले पाकिस्तानको राष्ट्रिय टिमका पूर्व खेलाडी अइमल खानदेखि नेपालमा खेलेको अनुभव भएका फखर वाट्टो र वाकर खानलाई भित्र्याएको छ ।
तीनै खेलाडीले यसअघि नेपालमा भएको विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।
मधेश वारियर्स

मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोलीको रुपमा रहेको मधेश वारियर्सले तीनै विदेशी खेलाडी छिमेकी भारतबाट अनुबन्ध गरेको छ ।
यस टिमको मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमको प्रशिक्षण सम्हालिसकेका भरत यादव छन् भने राष्ट्रिय टिमका मिडल ब्लकर रविन नगरकोटी मार्कीमा छन् ।
मधेश वारियर्सले भारतमा मोहन उग्रपान्डियन, विनित कुमार र मन कुमारलाई भित्र्याएको छ ।
मोहन सेटर हुन् भने विनित र रमन स्पाइकर हुन् । विनित र रमनले नेपालमा आएर डोमेस्टिक भलिबल खेलिसकेका छन् भने मोहनले काभा क्लब भलिबल च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदका बेला नेपाल आएर खेलेका छन् ।
काठमाडौं रेड्स

राजधानी काठमाडौंको टिमको रुपमा रहेको काठमाडौंले पनि पाकिस्तानी खेलाडीलाई नै प्राथमकिता दिएको छ ।
नृप बहादुर विक मुख्य प्रशिक्षक र सुनिल बोहरा मार्की प्लेअर रहेको काठमाडौं रेड्सले पाकिस्तानका अहमेद राजा र एडनान खान तथा सर्बियाका स्टेफान ओकोसानोभिचलाई अनुबन्ध गरेको छ ।
राजा स्पाइर र अडनान सेटर हुन् भने स्टेफान पनि स्पाइकर हुन्। पाकिस्तानका दुबै खेलाडीसँग नेपालमा आएर डोमेस्टिक भलिबल खेलेको अनुभव छ ।
काठमाडौंले अर्को विदेशी खेलाडीले भने पहिलो पटक नेपालमा खेल्न लागेको हो ।
अन्नपूर्ण स्पाइकर किंग्स

अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लिगमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टोली हो । यो टोलीमा गण्डकी प्रदेशकै मुख्य प्रशिक्षक र मार्की प्लेअर देखि अन्य चर्चित खेलाडीहरू पनि छन् ।
गण्डकी प्रदेशका रमेश केसी मुख्य प्रशिक्षक रहेको यस अन्नपूर्ण स्पाइकर किंग्समा पछिल्लो समय नेपालकै चर्चित खेलाडी हिमाल सुनारी मगर मार्की प्लेअरको रुपमा छन् । यस्तै कुनै समय गण्डकी प्रदेशका लागि उत्कृष्ट प्रदर्शन गर्दै चर्चा कमाएका रबि केसी पनि यसै टिमबाट खेल्न जापानदेखि नेपाल आएका छन् ।
विभिन्न विभागीय टोलीबाट आएका यस टिमका अन्य खेलाडीहरू पनि गण्डकी प्रदेश भित्रकै छन् ।
गण्डकी प्रदेशले विदेशी खेलाडीहरू पनि एउटै दशेबाट भित्र्याएको छ । मंगोलियाको वर्तमान राष्ट्रिय टोलीका तीन उत्कृष्ट खेलाडीहरू उरानबायर मंखबायर, इंख एर्डेन र तुर्मान्डाखलाई अन्नपूर्णले अनुबन्ध गरेको छ । उरानबायर र इंख इर्डेन स्पाइकर हुन् भने तुर्मान्डा सेटर हुन् ।
पछिल्लो समय तीनै खेलाडीले राष्ट्रिय टिममा एकसाथ खेल्दै एसियन इस्टर्न जोन भलिबल च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए ।
कर्णाली शिवराज

कर्णालीको नाम पछिल्लो समय नेपाली खेलकुदको क्षेत्रमा ब्रान्ड बन्दै आएको छ । महिला भलिबलमा दुई पटक च्याम्पियन बनिसकेको कर्णाली पुरुष भलिबल लिगमा कर्णाली शिवराजको रुपमा प्रवेश गरेको छ ।
चन्द्र कुँवर मुख्य प्रशिक्षक र पहल गहतराज मार्की प्लेअर रहेको यस टिमले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै लिग खेल्नेछ ।
कर्णालीले लिगका लागि तीन फरक देशबाट विदेशी खेलाडी भित्र्याएको छ । जसमा युरोपियन राष्ट्र पोल्यान्ड र बेलारुस देखि इरानसम्मका खेलाडी छन् ।
कर्णालीले भित्र्याएको विदेशी खेलाडीमा पोल्यान्डका इमिलियन स्केतेक, बेलारुसका आर्टसिओम कुड्रासोउ र इरानका अलिरेजा अबालोच छन् । इमिलियन सेटर हुन् ।
खप्तड फाल्कन्स सुदूरपश्चिम

सुदूरपश्चिम क्षेत्रको टिमको रुपमा रहेको खप्तड फाल्कन्सको मुख्य प्रशिक्षकम रुपेश कुमार विष्ट र मार्की प्लेअरमा धिरोजकाजी बस्नेत छन् ।
यस टिमले पनि लिगका लागि तीन फरक राष्ट्रबाट विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
खप्तड फाल्कन्सको विदेशी खेलाडीमा ब्राजिल देखि रसियासम्मका खेलाडी छन् । यस्तै अफ्रिकी राष्ट्र बेनिलका खेलाडि पनि यस टिममा छन् । खप्तडले तीन फरक देश मात्र नभएर तीन फरक महादेशबाट खेलाडी ल्याएको छ ।
बेनिनका स्पाइकर बोस्को डेटे र रसियाको स्पाइकर अर्टेम किसेलेभ नेपाल आइसकेका छन् । अर्का खेलाडी ब्राजिलयन सेटर छन् ।
प्रतिक्रिया 4