Comments Add Comment

भिजिट भिसामा, कुरा अर्कै पर्‍यो हजुर !

'भिजिट भिसामा गीत समग्र फिल्मको दृष्टिकोण होइन'

अनलाइनखबरमा सोमबार एउटा ब्लग आएको रहेछ, धीरकुमार श्रेष्ठजीले लेख्नुभएको । उहाँको ब्लगको शीर्षक छ, ‘वर्किङ भिसामा हजुर, वर्किङ भिसामा !

यो शीर्षक हेरेपछि प्रष्ट बुझिन्छ, यस आलेखसँग हाम्रो गीत ‘भिजिट भिसामा’को केही न केही नाता/साइनो छ । पढ्दै गएँ, नभन्दै त्यो हाम्रो गीतकै सेरोफेरोमा लेखिएको ब्लग रहेछ ।

हाम्रो फिल्म ‘दाल भात तरकारी’मा समावेश गीतप्रति, अझ फिल्मप्रति उहाँले जुन किसिमको हार्दिक सरोकार राख्नुभएको छ, त्यसमा मेरो पनि हार्दिक कृतज्ञता छ ।

उहाँले अत्यन्तै शालीन, शिष्ट र भद्र शैलीमा गीतको भाव र आशयमाथि टिप्पणी उठाउनुभएको छ । धीरकुमारजी लेख्नुहुन्छ, ‘भिजिट भिसामा गीतले स्वदेशीभन्दा वैदेशिक रोजगारीको आकर्षणलाई देखाएको छ । यसबाट वैदेशिक रोजगारीलाई प्रत्यक्षरुपमा प्रोत्साहन गरिएको बुझ्न गाह्रो पर्दैन ।’

गीतमा व्यक्त ‘वैदेशिक रोजगारीमा जाने कुरा’ स्पष्टतः गैरकानुनी छ भन्ने कुरामा पनि उहाँको तर्क छ ।

गीतको भाव र कथाको अन्तर्य

धीरकुमारजीको यो टिप्पणीप्रति मेरो अलि फरक धारणा छ । यो गीत नजानेर वा त्रुटीबस लेखिएको होइन । न त वैदेशिक रोजगारीप्रति आकर्षक जगाउने निहीत स्वार्थ नै यसमा घुलिएको छ । यो विशुद्ध फिल्मको कथालाई जोड्नका लागि उपयुक्त ढंगको शब्द चयन र संगीत समायोजन गरिएको गीत हो ।

यो गीतको बहाव र भावले कथाको अन्तर्यलाई जोड्छ । फिल्म हेरिसकेपछि ‘भिजिट भिसामा’ गीतको सान्दर्भिकतालाई बुझिन्छ ।

युरोप-अमेरिका जान लालायित युवाकै मनोभाव गीतमा पोखिएको हो । ती मुलुकमा अक्सर हाम्रा मानिसहरु भिजिट भिसा च्यापेर नै पस्ने गरेका छन्, वर्किङ भिसामा होइन

किनभने, फिल्ममा गीत राख्नुको अर्थ संगीत बेच्नु मात्रै होइन । कथालाई गतिशील बनाउने साँघु हो गीत । अर्थात, फिल्ममा गीत र कथाको साख्खै नाता हुन्छ । यसको मतलब, कथाले नै गीत माग्ने हो । कथाले कस्तो गीत माग्छ, त्यहीअनुसार त्यसको शब्द, भाका तय हुने हो ।

गीत फिल्मको दृष्टिकोण होइन, पात्रको भाव

‘भिजिट भिसा’मा गीत समग्र फिल्मको दृष्टिकोण होइन । यो एउटा फिल्मभित्रका पात्रको मनोभाव हो । एउटा पात्र जो, विदेश जाने अभिलाषा पालेर बसेको छ, उसैको केन्द्रीय भाव गीतले पोख्छ ।

हामीले यो गीत ‘वैदेशिक रोजगारीलाई प्रोत्साहित’ गर्ने दुषित मनासयले राखेका होइनौं । गीतको अंश यस्तो छ, ‘भिजिट भिसामा, भुँई छाडेर उड्ने हजुर पश्चिम दिशामा’

भिजिट भिसाको ठाउँमा हामीले किन ‘वर्किङ भिसामा’ राखेनौं ? पश्चिम दिशामा नभनेर अरु नै ठाउँ किन तोकेनौं ?

किनभने, यसको पनि खास अर्थ छ ।

पश्चिम दिशामा भन्नुको अर्थ युरोप, अमेरिका भन्ने हो । हामी उभिएको गोलार्द्धबाट पश्चिम दिशामा । युरोप-अमेरिका जान लालायित युवाकै मनोभाव गीतमा पोखिएको हो । ती मुलुकमा अक्सर हाम्रा मानिसहरु भिजिट भिसा च्यापेर नै पस्ने गरेका छन्, वर्किङ भिसामा होइन ।

फिल्म र सामाज-चित्रण

फिल्मले कोरा आदर्श भन्ने होइन । यसले समाजकै वास्तविकता वा यर्थाथलाई दुरुस्त देखाउने हो । हाम्रो वास्तविकता के हो भने, धेरै युवाहरु युरोप एवं अमेरिका जाने आकांक्षा सजाएर बस्छन् । उनीहरुको सपना-विपना नै कसरी अमेरिका जाने, कसरी युरोपको भूगोल टेक्ने भन्ने हुन्छ ।

यसरी युरोप-अमेरिका जान चाहने युवाहरुमध्ये धेरैजसो ‘भिजिट भिसा’ च्यापेर उड्ने गर्छन् । गोष्ठी, सेमिनार यस्तै-यस्तै बाहानामा उडेका उनीहरु युरोप-अमेरिका पुगेपछि त्यहीँ लुकीछिपी काम गर्छन् । यदि उनीहरु योग्य, दक्ष छन् भने स्थायी वा अस्थायी बसोबासको प्रक्रिया मिलाउँछन् । कति कलाकार, कति खेलाडी यसैगरी पश्चिमा मुलुक पुगेर उतै हराएका छन् । यो हाम्रो समाजको यथार्थ हो ।

यही यर्थाथलाई नै हामीले गीतबाट प्रस्तुत गरेका हौं। समाजमा जे छ, त्यही देखाउनकै लागि ‘भिजिट भिसामा’ भनिएको हो । ‘पश्चिम दिशामा’ भनिएको हो ।

गीत राख्ने प्रवृत्ति

अहिले प्रवृत्ति के छ भने फिल्म बनाउने भएपछि कुनै राम्रो रेडिमेड गीत खोजिन्छ । एउटा न एउटा बबाल गीत राख्नुपर्छ भन्ने मानसिकता राखिन्छ । त्यसैले फिल्म तयार हुँदै गर्दा कहीँ-कतैबाट गीत ल्याउने र त्यसलाई फिल्ममा राख्ने गरिन्छ । यस्तो अवस्थामा गीत हिट हुन सक्छ । तर, त्यसले कथाको मर्मलाई उजागर गर्छ वा कथाको वहावलाई जोड्छ भनेर ग्यारेन्टी गर्न सकिँदैन ।

तर, विगतमा के थियो भने फिल्म बनाउनुअघि नै कथा अनुसार कहाँ कस्तो गीत आवश्यक छ भनेर खोजिन्थ्यो । कथाकै भावअनुसार गीतकारलाई गीत लेख्न दिइन्थ्यो, संगीतकारलाई संगीत गर्न दिइन्थ्यो । यसरी गीत तयार हुन्थ्यो ।

हामी पनि त्यही अभ्यासबाट हुर्किएका पुस्ता हौं । त्यही भएकाले हामीले आफ्नो फिल्मको गीत तयार गर्दा कथा एवं पटकथाकै आधारमा तयार गर्ने गर्छौं । ‘भिजिट भिसामा’ गीत त्यस्तै एउटा सिलसिला हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment