+
+
Shares

लेखकको स्पष्टीकरण : रविको किटानी जाहेरी थियो, मलाई प्रतिशोध साधियो

‘निज सहसचिवले यसअघि मन्त्रालयका महत्त्वपूर्ण विभाग र प्रमुख जिल्ला अधिकारीको रूपमा काम गरिसक्नुभएको छ, जो मभन्दा अगाडिका माननीय मन्त्रीज्यूहरूबाट खटनपटन भएको थियो ।’

लिलु डुम्रे लिलु डुम्रे
२०८२ जेठ ३० गते २१:५३

३० जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे गृहमन्त्री रमेश लेखकले गत १३ जेठदेखि नै जवाफ दिन खोजेका थिए । तर १५ जेठ (बजेट प्रस्तुत भयो) बाहेक अन्य दिनमा बोलाइएको संसद् बैठकलाई विपक्षीले चल्न दिएनन् ।

तर, आज सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रबीच सहमति भएपछि सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको नाराबाजीबीच संसद् चलाए । संसद् चल्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले उभिएर विरोध जनाएका थिए ।

नाराबाजीकै बीच गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे बोले । आफूमाथि बढी प्रश्न उठाइरहेको रास्वपाप्रति गृहमन्त्री लेखक आक्रोशित देखिएका थिए । उनले रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग जोडेर आफूलाई तुलना नगर्न आग्रह गरे ।

‘तत्कालीन गृहमन्त्रीज्यूको हकमा किटानी जाहेरी परेको अवस्था थियो । त्यसमा स्वयं प्रहरीले अनुसन्धान गरिराखेको थियो,’ आफ्नो बचाउमा उनले भने, ‘उहाँले पनि राजीनामा गर्नुभएको होइन, छानबिन अगाडि बढेको अवस्था हो । मेरा राजीनामा माग्दै हुनुहुन्छ, यो राजनीतिक नैतिक वैधानिक कुनै आधारमा पनि युक्तिसंगत छैन ।’

अड्कल, आशंका र विना प्रमाण, जाहेरी वा उजुरीले नभएको पद त्याग्न नसकिने उनले जिकिर गरे । आफ्नो राजीनामा मागेको मुद्दालाई संविधान र संघीयताप्रति आफ्नो प्रतिबद्धतासँग समेत जोडेर व्याख्या गरे ।

‘मैले यो व्यवस्था जोगाउनुपर्छ, संघीयता, लोकतन्त्र र गणतन्त्रलाई फाल्न पाइँदैन, यो संविधान च्यात्न पाइँदैन भनेर दृढतापूर्वक उभिरहँदा मेराविरुद्ध आक्रमण हुने?,’ उनले भने । अपुष्ट र नियोजित सामग्रीकै भरमा राजीनामा माग्ने विधि बनाउँदा मुलुक कतातिर जान्छ भन्दै विरोधीलाई प्रश्न गरे ।

‘नक्कली पीडित खडा गरिएकोे छ’

गृहमन्त्री लेखकले आफ्नाविरुद्ध नक्कली पीडित खडा गर्ने कार्यमा रास्वपा लागेको भन्दै त्यस्तो काम नगर्न चेतावनी दिए । कीर्ते, जालसाज र अमर्यादित काम गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न उनले चेतावनी दिए ।

‘यस्ता कीर्ते जालसाज गरेर तथाकथित किर्ते, जालसाजीपूर्ण ढंगले नक्कली पीडित खडा गर्ने मानिसहरूको पत्ता लगाएर कारबाही गरिनेछ । तपाईंका पार्टी कार्यालय कीर्ते, जालसाजीपूर्ण पीडितहरू तयार गर्ने पार्टी कार्यालय बन्दैछन्,’ गृहमन्त्री लेखकले भने ।

चोखिने प्रयास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका सहसचिव तीर्थ भट्टराईलाई अध्यागमन विभाग पठाउन र त्यहाँबाट फिर्ता गराउन गृहमन्त्री लेखकको भूमिका रहेको आरोप छ ।

तर गृहमन्त्री लेखकले त्यस्तो आरोपको खण्डन गरेका छन् । भट्टराईलाई भिजिट भिसा सम्बन्धी विषयमा सोधपुछका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बोलाइएको खबर आफूले सञ्चारमाध्यमबाट थाहा पाएको उनले दाबी गरे ।

भट्टराईलाई गृह मन्त्रालयमा आफूले सरुवा नगरेको पनि बताए । पूर्व गृहमन्त्री लामिछानेले भट्टराईलाई खटाएको दावी सहित उनले भने, ‘निज सहसचिवले यसअघि मन्त्रालयका महत्त्वपूर्ण विभाग र प्रमुख जिल्ला अधिकारीको रूपमा काम गरिसक्नुभएको छ, जो मभन्दा अगाडिका माननीय मन्त्रीज्यूहरूबाट खटनपटन भएको थियो ।’

अख्तियारले छानविन गरिरहेको व्यक्तिलाई मन्त्रीसँग जोड्न नमिल्ने लेखकको जिकिर छ । विगतकै मन्त्रीहरूप्रति लेखकले थपे, ‘मन्त्रीजीहरू पदासिन हुँदा मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूमा भएका भ्रष्टाचार जन्य कारबाहीका बारेमा कति मन्त्रीजीहरूले जवाफ दिनुभएको थियो, त्यसको जवाफ दिने नैतिक ताकत साथीहरूलाई छ ?’

भिजिट भिसाको प्रणाली प्रारम्भ अहिलको गृहमन्त्रीको कालमा सुरु भएजस्तो गरी षड्यन्त्रमुलक प्रचार भएको भन्दै उनको आक्रोश थियो । भिटिज भिसा प्रकरणमा पनि पूर्व गृहमन्त्रीहरू तर्फ नै फर्किए । लेखकले यस अघिका गृहमन्त्रीहरू भएको बेला भिजिट भिसामा बाहिरिने संख्या बढी रहेको दाबी गरे ।

पूर्वगृहमन्त्रीको समय स्मरण गराउँदै गृहमन्त्रीले भने, ‘अन्य मन्त्रीज्यूको पालामा यस्तै र योभन्दा बढी नै रहेको तथ्यांकले देखाएको छ । जुन अफवाह फैलाएर मेरो कार्यकालमा अत्यधिक भिजिट भिसामा गएको भन्ने भाष्य सिर्जना गरिएको छ । भिजिट भिसा कुनै मन्त्रीले घटाउने वा बढाउने होइन ।’

गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धानमा कार्यरत डीआईजी सरुवा गरेको भनी आलोचना गरिएको प्रति आपत्ति जनाए । अख्तियारमै दुईजना डीआईजी हुँदा एक जना सरुवा गर्नुपर्ने अवस्था रहेको दाबी गरे ।

राजीनामा नदिने

गृहमन्त्री लेखकले अनुसन्धानमा रहेका कर्मचारीका कारणले आफुले राजीनामा दिनु नपर्ने बताए । मन्त्रालयको कुनै कर्मचारी माथि छानबिन हुँदा मन्त्रीले राजीनामा दिनु नपर्ने तर्क राखे ।

उक्त तर्क अघि सार्दा गृहमन्त्री लेखकले कर्मचारीविरुद्ध अख्तियारले दायर गरेका मुद्दाको आकडा समेत सुनाए । गृह मन्त्रालयसँग मात्रै सम्बन्धित मुद्दामा ७७ वटा उजुरी परेका छन् ।

‘गृहमन्त्रालयसँग सम्बन्धित तीनवटा मुद्दा दायर भएका छन् ७८/७९ मा । कतिजना मन्त्रीले राजीनामा दिनुभयो ?,’ कर्मचारी माथि अख्तियार छानबिन गर्दा विगतका मन्त्रीले राजीनाम दिनु नपर्ने आफूले किन पर्ने भन्दै आफूविरुद्ध षडयन्त्र गरिएको गुनासो गरे ।

लेखकले भने, ‘यसपूर्व गृहमन्त्रालय मातहतका कर्मचारीमाथि विशेष अदालतमा मुद्दा दायर भएको स्थिति छ । तर कुनै मन्त्रीजीले राजीनामा गर्नुभएन । यो मेरो राजीनामाको माग यो अर्थहीन, राजनीतिक प्रतिशोध र नियोजित षड्यन्त्रको उपज हो ।’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?