News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले गृहमन्त्री सुधन गुरुङको अनुगमन कार्यमा सांसदलाई खबर नगरिएको भन्दै शैलीप्रति प्रश्न उठाएका छन्।
- सांसद मधु चौलागाईंले प्रधानमन्त्री बालेन्द्र शाहसँग र संसदीय दलको बैठकमा गृहमन्त्री गुरुङको शैलीको आलोचना गरेका हुन्।
- गृहमन्त्री गुरुङले अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका छन् र निर्माण कम्पनीलाई सडक निर्माण छिटो सक्न भनेका छन्।
१ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले गृहमन्त्री सुधन गुरुङको शैलीप्रति प्रश्न उठाउन सुरु गरेका छन् ।
गृहमन्त्री सुधन अनुगमनको कार्यमा जिल्ला जाँदा सम्बन्धित क्षेत्रका सांसदलाई खबर नगरिएको भन्दै पार्टीभित्र प्रश्न उठ्न थालेको हो ।
काभ्रे–१ का सांसद मधु चौलागाईंले प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलमा र संसदीय दलको बैठक गृहमन्त्री गुरुङको शैलीको आलोचना गरेका हुन् । बागमतीबाट संघीय संसदमा निर्वाचित सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार छलफल गरेका थिए ।
काभ्रे–१ का सांसद चौलागाई र धादिङ–१ बाट निर्वाचित आशिका तामाङले गृहमन्त्री गुरुङको शैलीको प्रधानमन्त्री शाहसँग आलोचना गरेका हुन् ।
गृहमन्त्री गुरुङ काभ्रे–१ मा जाँदा त्यही क्षेत्रको सांसद आफूलाई जानकारी नगराएको प्रति संसदीय दल र प्रधानमन्त्रीसँग कुरा राखेको सांसद चौलागाईंले अनलाइनखबरसँग बताए ।
‘हाम्रो संसदीय दलको बैठकमा पनि यो विषय उठाएको थिएँ । हाम्रो क्षेत्रमा जाँदा त्यहाँ के समस्या छन् । हामीलाई थाहा हुन्छ नि,’ सांसद चौलागाईंले भने,‘१० जना मान्छे जम्मा गरेर आउनुभन्दा कम्तिमा हामीलाई लिएर गएको भए जनताको समस्या यस्तो यस्तो छ भन्थ्यौं नि ।’
गृहमन्त्री गुरुङ गत मंगलबार काभ्रेस्थित रोशी खोलाको स्थलगत निरीक्षणमा गएका थिए । रोशीखोलामा आउने वर्षाले प्रभावित हुने स्थानीयको अवस्था बुझ्न उनी निरीक्षणमा गएका थिए ।
निरीक्षण गर्न पुगेका गृहमन्त्री गुरुङले सञ्चालनमा रहेका क्रसर उद्योगहरुमा पनि पुगेका थिए । अवैध क्रसर उद्योग बन्द गर्न उनले निर्देशन दिएका थिए ।
क्रसर उद्योगले गिट्टी बालुवा उत्खनन् गर्दा पहिरो गएको हुँदा अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका थिए ।
विगतमा राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको आरोप लगाउँदै अब नदिने गृहमन्त्री गुरुङले बताएका थिए ।
काभ्रेमा विपद व्यवस्थापनका लागि गर्नुपर्ने कदमका बारेमा गृहमन्त्रीलाई आफूले जानकारी गराउन नपाएको प्रति सांसद चौलागाईंले असन्तुष्टि व्यक्त गरे । ‘विपद व्यवस्थापन गृहले हेर्ने हो । गृहमन्त्री जाँदा खेरि त्यहाँको विपद व्यवस्थापनसँग सम्बन्धित विषय त मैले भन्थे होला नि । म त निर्वाचनको बेलामा सबै क्षेत्र घुम्या छु । निर्वाचन क्षेत्रको प्रतिनिधिको हैसियतले क्षेत्र भित्रका मान्छेले समस्या परेपछि फोन गरेर त मलाई भन्ने हुन् ।’
गृहमन्त्री निरीक्षणका लागि जुन क्षेत्रमा गएपनि सम्बन्धित स्थानको जनप्रतिनिधिलाई खबर गर्न सुरक्षाको कारण पनि अपरिहार्य रहेको चौलागाईं बताउँछन् ।
कदाचित्, त्यस क्षेत्रमा गृहमन्त्री गुरुङ माथि केही भएको भए त्यसको जवाफ आफूले दिनुपर्ने बताउँदै सांसद चौलागाईंले भारतको उदाहरण दिए ।
भारतमा राजीव गान्धीलाई सुरक्षा हुँदाहुँदै पनि हत्या भएको प्रसंग उठाउँदै चौलागाईले भने,‘ सुरक्षा निकायले सुरक्षा दिँदा दिँदै पनि राजीव गान्धी हत्याकाण्ड भयो । जवाफ चाहिँ मुख्यमन्त्रीले दिनुपर्यो । त्यहाँ केही भएको भए भोलि जवाफ त मैले दिनु पर्ने हुन्छ नि ।’
प्रधानमन्त्रीसँग धादिङ–१ की सांसद आशिका तामाङले गृहमन्त्री त्यस क्षेत्रमा जाँदा आफूसँग समन्वय नगरेको गुनासो गरेकी थिइन् ।
गृहमन्त्रीको व्यवहारमा उठाइएको प्रश्नमा प्रधानमन्त्री शाहले खासै प्रतिक्रिया नदिएको सांसद चौलागाईंले बताए ।
प्रधानमन्त्रीको बोलीप्रति चौलागाईंले भने,‘मैले सबैको कुरा सुनें । तपाईंको कुरा सुन्नु पर्ने थियो मलाई भन्नुभयो उठेर जानुभयो ।’ संसदीय दलको बैठकमा राखेको उक्त विषयलाई गृहमन्त्री गुरुङलाई अर्को बैठकमा उनलाई जानकारी गराउने कुरा भएको चौलागाईंले बताए ।
गृहमन्त्री गुरुङ निर्माणधीन विकास पूर्वाधारको स्थलगत निरीक्षणमा निस्केर निर्माणकर्ता कम्पनीलाई छिटो काम सक्न निर्देशन दिँदै हिँडेका छन् ।
चितवनका विभिन्न क्षेत्रको अवलोकन पछि सोमबार स्तरोन्नति भइरहेको नारायणढ– बुटबल सडक खण्डको निरीक्षणमा पुगेका थिए । चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिलाई सडक निर्माणको कार्य छिटो सक्न निर्देशन दिएका थिए ।
समयमा सडक निर्माण नहुँदा यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम रहेको उनले बताए । ठेकेदार कम्पनीलाई निर्धारित समयमा निर्माण नगरे सैह्य नहुने चेतावनी मन्त्री गुरुङले दिएका थिए ।
गृहमन्त्री गुरुङले पार्टीको ‘चेन अफ कमाण्ड’ अनुसार कार्य नगरेको सांसद चौलागाईंको बुझाई छ । ‘उहाँलाई गृहमन्त्री बनाएको त पार्टीले हो । पार्टीले संसदीय दलको नेता र प्रधानमन्त्री बनाएपछि बालेन मातहत हुने मन्त्री हो उहाँ,’ रास्वपा सांसद चौलागाई भन्छन्,‘जहाँ जाने हो । त्यहाँको कमिटीलाई त कम्तिमा जानकारी गराउनु पर्छ नि । डुल्न जानुभयो भन्ने विषयमा हाम्रो आपत्ति होइन । साँच्चै समस्या बुझ्न गएको हो भने जनप्रतिनिधि सँगै लगेको भए बढी समस्या बुझिन्थ्यो भन्ने हो ।’
प्रतिक्रिया 4