
News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलले अत्यधिक कर र स्पेक्ट्रम फीका कारण फाइभजी प्रविधि ल्याउन कठिनाइ भएको बताए।
- सरकारले नीतिगत सहयोग र कर घटाउने भएमा फाइभजी नेपालमा सम्भव हुने उनले बताए।
२९ जेठ, काठमाडौं। निजी स्वामित्वको टेलिकम कम्पनी एनसेलले आम्दानी निरन्तर घटिरहेको बेला अत्यधिक ट्याक्स र स्पेक्टर्म फीका कारण फाइभजी ल्याउन सकस भइरहेको बताएको छ ।
बिहीबार एनसेलले आयोजना गरेको ‘बिल्डिङ सस्टेनाबलिटी : डिजिटल टुमरो’ कार्यक्रममा एनसेलका एनसेलका प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले टेलिकमको आम्दानी निक्कै संकुचन भइरहेकाले फाइभजी ल्याउन सकस भइरहेको गुनासो गरे ।
उनले भने, ‘अहिले टेलिकम अपरेटर्सहरूको नाफा निरन्तर ओरालोमा छ । तर हामी सरकारलाई अत्यधिक ट्याक्स र स्पेक्टर्म फी तिर्नुपर्ने बाध्यताछ । अझ कस्टम ड्युटी फि पनि अनिवार्य रुपमा तिर्नैपर्ने भएकाले हामी थप समस्यामा छौं। यस्तोमा हामी तत्काल फाइभजी प्रविधि भित्र्याउनेमा छैनौं।’
उनले बिजनेसको नयाँ मोडेलहरूमा योजना नल्याएसम्म फाइभजी ल्याउन सम्भव नरहेको सुनाए । उनले भने, ‘हामी अहिले तत्काल त फाइभजी ल्याउने तयारीमा छैनौं। किनकी फाइभजी ल्याउन आर्थिक आम्दानी र भौतिक पुर्वाधारहरू पनि बनाउनु पर्ने हुन्छ। यसकारण यी सबै पूर्वाधारहरू बनाउन समय लाग्छ । बिजनेस मोडेलहरू पनि ल्याउन सकिन्छ । त्यसका लागि केही बिजनेस मोडेलहरू ल्याउँछौं। अनि फाइभजी ल्याउने तयारी गर्छौं।’
उनका अनुसार सरकारले बजेटमा काठमाडौंसहित देशका प्रमुख शहरहरूमा फाइभजी प्रविधि ल्याउने वाचा गरे पनि यसलाई भित्र्याउन निक्कै चुनौती रहेको छ ।
उनले भने, ‘सरकारले बजेटमा फाइभजी ल्याउने कुरा त गर्यो। यो प्रविधि सपोर्ट गर्न लगानी पनि उतिक्कै चाहिन्छ। तर अहिले टेलिकमहरूको आम्दानी घट्दै गइरहेको छ। हामी पनि त्यही डुंगामा छौं।’
उनले सरकारले टेलिकमका उपकरणहरुमा लाग्ने कर, स्पेक्टर्म फी र कस्टम ड्युटी चार्ज घटाउनुपर्नेमा जोड दिए । ‘ हाम्रो टेलिकम उपकरणमै सरकारले धेरै कर लिइदिन्छ। अनि स्पेकटर्म फी पनि धेरै छ। तर हाम्रो नाफा निरन्तर घट्दो छ। यसरी त हामीलाई फाइभजी ल्याउन सक्दैनौ। सरकारले टेलिकम क्षेत्रमा लाग्ने करहरु घटाउनु पर्छ । उदाहरणका लागि उपकरण आयातमा लाग्ने भन्सार शुल्क, फ्रिक्वेन्सी शुल्क घटाउनुपर्छ।’
उनका अनुसार काठमाडौं उपत्यका (काठमाडौं र ललितपुर महानगरपालिकाभित्र)मा मात्रै फाइभजी ल्याउन उपकरण र पुर्वाधारमात्रै ८ अर्अब रुपैयाँ लाग्नेछ । त्यसपछि स्पेकटर्म र मर्मतसम्भार गर्न (पाँच वर्षका लागि मात्रै ७.८ अर्ब रुपैयाँ) लाग्नेछ भने एउटा अपरेटरको हातमा कम्तिमा १५. ५ अर्ब रुपैयाँ हुनु पर्ने एनसेलका प्रबन्ध निर्देशक कायुमोभको भनाइ छ ।
उनले प्रश्न गरे, ‘हामीलाई काठमाडौं र ललितपुरमा मात्रै यति धेरै पैसा लाग्छ भने हामी त अहिले घाटामा काम गरिरहेका छौं। कसरी तत्कालै सम्भव हुन्छ फाइभजी नेपाल भित्र्याउन?’
उनका अनुसार यदि देशैभर फाइभजी बिछ्याउने हो भने उपकरण र भौतिक पुर्वाधार बनाउनै ४६ अर्ब र स्पेकटर्म र मर्मतसम्भार गर्न (पाँच वर्षका लागि) १८.५ अर्ब गरी ६४.५ अर्ब रुपैयाँ प्रति टेलिकम अपरेटहरूले खर्च गर्न तयार हुनुपर्दछ । ‘ अब यति धेरै लगानी सुरूमै लगानी गर्न पर्छ भने अब तुरून्तै कसरी फाइभजी ल्याउन सम्भव हुन्छ ?’ उनले भने, ‘ तर सम्भव हुन्छ । यदि सरकारले नीतिगत निर्णय र पूर्वाधारहरूमा सहयोग गर्न चाह्यो भने।’
उनका अनुसार सन् २०२४मा फाइभजीका मोबाइल ह्यान्डसेटहरू १६ प्रतिशत थियो भने अहिले सन् २०२५मा २० प्रतिशत पुगेको छ। यही क्रमले बढेमा सन् २०२६मा २६ प्रतिशत, सन् २०२७ मा ३२ प्रतिशत, सन् २०२८मा ३९ प्रतिशत, सन् २०२९ मा ४९ प्रतिशत र सन् २०३०मा ५९ प्रतिशत फाइभजीका ह्यान्डसेट मोबाइलहरू उपलब्ध हुनेछन् । साथै डेटाको प्रयोग पनि सन् २०३०मा बढेर २१ प्रतिशत पुग्ने उनको दाबी छ ।
उनले नेपालमा फाइभजी ल्याउन एनसेलले नयाँ रोडम्याप बनाउको सुनाए । उनले भने,’ यो क्षेत्र कठिन अवस्थाबाट गुज्रिरहेको छ । अब नयाँ तरिकाबाट अगाडि नबढी हुन्न र हामी पनि त्यही योजना अनुसार अगाडि बढ्दै छौं ।’ उनले यसका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले जस्तै एनसेलले पनि सब्सक्रिप्सन मोडलमा जानुको विकल्प नरहेको बताए ।’अब हामी पनि आइएसपीहरूले जस्तै सब्सक्रिप्सन मोडलमा जानुपर्ने आवश्यकता देखिसकेको छु।’
‘अबको केही दिनमा नै हामी एक नयाँ ग्राहक योजनाका साथ आउँदै छौं ।’ उनले भने । साथै एनसेलले थ्रीजी नेटवर्क २०२५ भित्र र टूजी नेटवर्क आउँदो २ वर्षभित्र बन्द गर्ने योजना रहेकोसमेत उनले सुनाए । ‘हामीले १२ प्रतिशत त थ्री जी नेटवर्क बन्द गरिसकेका छौं। अब विस्तारै यो वर्षभित्र थ्रीजी नेटवर्क पुर्ण रुपमा बन्द गर्नेछौं भने आगामी २ वर्षभित्र टूजी नेटवर्क पनि बन्द गर्नेछौं।’
हाल दक्षिण एसियामा नेपाल र पाकिस्तानबाहेक सबै देशहरू फाइभजी प्रविधि भित्र्याइसकेका छन् भने विश्वभरका ३४३ टेलिकम अपरेटरहरूले १२६ देशहरूमा फाइभजी प्रविधि व्यावसायिक रुपमा ल्याइसकेका छन् ।
प्रतिक्रिया 4