+
+
Shares

कालोसूचीमा राखेको भोलिपल्टै विमानस्थल अध्यागमनबाट उम्किए सुन तस्कर

भारतमा साढे ९५ किलो सुन तस्करी प्रकरणमा मुछिएका आरोपी कालोसूचीमा राखेको भोलिपल्टै काठमाडौंबाट दुबई उडेको भेटिएको छ । दुई कर्मचारीलाई जिम्मेवारीबाट हटाएर तीन महिना अघिको यो घटनालाई गृह प्रशासनले गोप्य राखेको थियो ।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ जेठ २९ गते २१:४५
हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका सहसचिव तीर्थ भट्टराई विमानस्थल अध्यागमनको प्रमुख रहेका बेला यो घटना भएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ९५ किलो सुन तस्करी प्रकरणमा ‘मोस्ट वान्टेड’ रहेका जागेश्वर शाह कालो‍सूचीमा राखेको २४ घन्टा नवित्दै दुबई उडेको पुष्टि भएको छ।
  • स्रोतका अनुसार जागेश्वर र उनका छोरा आशिफ शाहलाई कालोसूचीमा राखिदिन भारतीय दूतावासले पत्राचार गरेको थियो।
  • अनुसन्धानले प्राविधिक त्रुटि भन्दै घटनालाई औपचारिक रूपमा पुष्टि गरे पनि विस्तृत छानबिन आवश्यक देखिएको छ।

२९ जेठ, काठमाडौं । अध्यागमन विभागले कालोसूचीमा राखेको २४ घन्टा नवित्दै एक जना अभियुक्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर दुबई पुगेको खुलेको छ ।

भारतमा साढे ९५ किलो सुन तस्करी प्रकरणमा ‘मोस्ट वान्टेड’ रहेका आरोपी जागेश्वर शाह कालोसूचीका बाबुजद विमानस्थलबाट उम्किएको भेटिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार, जागेश्वर र उनका छोरा आशिफ शाहलाई अध्यागमनको कालोसूचीमा राखिदिन भन्दै काठमाडौंस्थित भारतीय दूतावासले पत्राचार गरेको थियो ।

पत्रको आधारमा १९ मार्च २०२५ मा अध्यागमन व्यवस्थापन सम्बन्धी सफ्टवेयर ‘नेपाली पोर्ट’मा देखिने गरी उनीहरुलाई कालोसूचीमा राखिएको थियो । विमानस्थल अध्यागमनलाई लिखित पत्र समेत पठाइएको थियो ।

तर, कालोसूचीमा राखेको भोलिपल्टै जागेश्वर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई गएको पुष्टि भएको अनुसन्धानमा संलग्न एक अधिकारीले अनलाइनखबरलाई बताए ।

अधिकारीहरुका अनुसार, उनका छोरा आशिफ शाह भने दूतावासले पत्र पठाउनु अगावै काठमाडौंबाट उडिसकेका थिए ।

‘बुबालाई समात्न सकिने पर्याप्त आधारहरु हुँदा हुँदै उनी सहजै दुबई भाग्न सफल भए’, अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘यसमा विमानस्थलमा अध्यागमनका अधिकारीहरुको नियत थियो वा थिएन भन्ने विस्तृत अनुसन्धान हुनेछ ।’

भारतमा अपराध गरेर भागेका कतिपय आरोपीहरुले स्थलमार्गबाट नेपाल छिरेर सेल्टर लिने गरेका छन् । विचौलियाको सहयोगमा उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक समेत पुगेका उदाहरणहरु छन् । यस्तोमा भारतीय सुरक्षा अधिकारीहरुले त्यहाँ गम्भीर प्रकृतिका अपराध हुने वित्तिकै सीमा क्षेत्रमा निगरानी बढाउने गर्छ ।

‘नेपालमा भएका गम्भीर प्रकृतिका अपराधमा संलग्न कतिपय आरोपी समेत भागेर भारतसम्म पुग्ने गरेका हुन्छन्, त्यस्तोमा उनीहरुले तिनलाई नियन्त्रणमा लिन सहयोग गर्छन्’, अन्तरदेशीय अपराध अनुसन्धानमा खटिने एक प्रहरी निरीक्षक भन्छन्, ‘बदलामा उनीहरुले आफ्नो देशमा भएका गम्भीर अपराधमा संलग्न भारतीयलाई नियन्त्रणमा लिन सहयोग अपेक्षा गर्छन् ।’

तर, यो प्रकरणमा अनुसन्धानमा सहयोगको साटो उल्टै अपराधी भगाउन उच्च तहकै कर्मचारीको मिलेमतो हुनसक्ने देखिएपछि भारतीय अधिकारीहरु असन्तुष्ट बनेको स्रोत बताउँछ ।

जागेश्वर विदेश उड्ने बेला उनी कालोसूचीमा रहेको सूचना नै स्क्रीनमा पपअप नभएको भन्ने बयानलाई आधार मान्दै छानबिन समितिले सुन तस्कर भागेको घटनालाई ‘प्राविधिक त्रुटि’ भनेको छ । तर, अख्तियारका अनुसन्धान अधिकारीहरु भने यसमा विस्तृत जाँच हुने बताउँछन्

सहसचिव तीर्थ भट्टराई विमानस्थल अध्यागमन कार्यालय प्रमुख रहेका बेला कर्मचारी संयन्त्रकै मिलेमतोमा सुन तस्करलाई भगाइएको भन्दै भारतीय दूतावासका अधिकारीहरु असन्तोष व्यक्ति गरेको एक उच्च सुरक्षा अधिकारी बताउँछन् ।

यस्तोमा भारतमा अपराधमा संलग्न बाबुछोरा कसरी भागे भन्नेमा दूतावासका अधिकारीहरुले समेत चासो राख्दै ताकेता गरेपछि गृह प्रशासनले छानबिन गर्न समिति बनाएको थियो । स्रोतका अनुसार, अध्यागमन विभागका सूचना प्रविधि शाखा प्रमुख अनुप न्यौपानेको नेतृत्वमा छानबिन समिति बनेको थियो ।

तर, समितिले सुन तस्कर भागेको घटनालाई ‘प्राविधिक त्रुटि’ भन्दै प्रतिवेदन बुझाएको छ । जागेश्वर विदेश उड्ने बेला उनी कालोसूचीमा रहेको सूचना नै स्क्रीनमा पपअप नभएको भन्ने बयानलाई आधार मानेर यसमा नियत नभएको निष्कर्ष निकालिएको स्रोत बताउँछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकारीहरुले भने त्यसबारे विस्तृतमा अनुसन्धान गर्नुपर्ने थुप्रै विषयहरु अझै बाँकी रहेको बताउँछन् । ‘कम्प्युटरमा देखिने गरी त्यहाँ सीसी टीभी छैनन्, मुछिएको कर्मचारीबाहेक अरुले त्यो पपअप भए नभएको पुष्टि गर्न सक्ने स्थिति छैन’, एक अधिकारी प्रश्न गर्छन्, ‘त्यस्तोमा त्यसलाई प्राविधिक त्रुटि मात्र मान्न कसरी सकिएला ?’

सहसचिव भट्टराईको शंकास्पद भूमिका

गुजरात राज्यको अहमदाबादमा मार्च २०२५ मा एन्टी टेरोरिज्म स्क्वाड (एटीएस) र डाइरेक्टोरेट अफ रेभिन्यू इन्टलिजेन्स (डीआरआई) ले ९५.५ किलो सुन बरामद गरेको थियो ।

आविष्कार अपार्टमेन्टमा मेघ शाहको नाममा भाडामा लिइएको फ्ल्याटबाट सुनसँगै ७० लाख भारतीय रुपैयाँसमेत बरामद भएको थियो । यो सुन र बरामद नगदको सम्बन्ध गम्भीर अपराधसँग जोडिने भारतीय सुरक्षा अधिकारीहरुको दाबी छ ।

बरामद सुनको विस्कुट दुबईबाट तस्करी भएर आएको समेत अनुसन्धान अधिकारीहरुले आशंका गरेका थिए । त्यही मामलामा जाँच चलिरहेका बेला अनुसन्धान अधिकारीहरुले दुई जना आरोपी भागेर नेपाल पुगेको सूचना पाएका थिए ।

सुन प्रकरणमा जोडिएका जागेश्वर शाह र उनका छोरा आशिफ शाह काठमाडौंसम्म पुगेको देखिएपछि काठमाडौंस्थित भारतीय दूतावासलाई यसबारे समन्वय गर्न भन्दै अनुसन्धान अधिकारीहरुले भनेको स्रोतको भनाइ छ ।

विगतमा यस किमिसका अपराध अनुसन्धानमा भारतीय सुरक्षा अधिकारी आफैं काठमाडौंसम्म आउने गरेका थिए । तर, केही महिनाअघि लरेन्स विश्नोई समूहका सदस्यलाई खोज्दै आएका टोली आफैं पक्राउ परेपछि भारतमा अन्तरदेशीय अपरेशनमा कडाइ गरिएको छ ।

गुजरातमा एटीएस र डीआरआईको संयुक्त अपरेशनमा बरामद साढे ९५ किलो सुन ।

‘दूतावासमा सूचना आउने वित्तिकै अध्यागमन विभागमा खबर पुगेको रहेछ, भारतीय अधिकारीहरुले विभागलाई गम्भीरतापूर्वक लिइदिन समेत भनेका रहेछन्’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘तर, दूतावासका अधिकारीहरुले सूचना दिनु अगावै आशिफ भागिसकेको खुलेको थियो ।’

छोरा भागिसकेका कारण बुबा जागेश्वर समेत भाग्नसक्ने प्रबल सम्भावना थियो । त्यसैले उनलाई थप गम्भीरताका साथ खोज्नुपर्ने थियो ।

जानकारहरुका अनुसार, भारतीय अधिकारीहरुले पत्र पठाएको दिन संयोगवश सहसचिव भट्टराई अध्यागमन विभागमै थिए । ‘त्यो बेला विभागका डिजीले उनलाई भारतीय अधिकारीहरुको पत्रबारे जानकारी समेत गराएका रहेछन्’, आयोग स्रोत भन्छ, ‘तर, भोलिपल्ट जागेश्वर अनौठो किमिसले उम्किए ।’

कालोसूचीमा राख्न भनिएको भोलिपल्ट भारतीय प्रहरीको खोजी सूचीमा रहेका जागेश्वर निधक्क साथ बोर्डिङ पास र राहदानी बोकेर अध्यागमन डेस्कतिर सुइँसुइँ हिँडिरहेको सीसी टीभीमा देखिन्छ

स्रोतका अनुसार, कालोसूचीमा राख्न भनिएको भोलिपल्ट भारतीय प्रहरीको खोजी सूचीमा रहेका जागेश्वर निधक्क साथ बोर्डिङ पास र राहदानी बोकेर अध्यागमन डेस्कतिर सुइँसुइँ हिँडिरहेको सीसी टीभीमा देखिन्छ ।

‘सीसी टीभीको दृश्य हेर्दा उनी तलबाटै मोबाइलमा कोहीसँग बोल्दै डेस्कतिर आएको जस्तो देखिन्छ’, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यसपछि उनले राहदानी र कागजपत्र देखाएको देखिन्छ । त्यसक्रममा केही संवाद भएजस्तो पनि देखिन्छ ।’

अधिकारीहरुका अनुसार, कालोसूचीमा राखिएको व्यक्ति दुबई उडेको थाहा पाएलगत्तै अध्यागमन विभागबाट भट्टराईलाई त्यसबारे सोधिएको थियो । सुरुमा उनले शंकास्पद व्यक्ति उडेकोबारे अनविज्ञता जनाएको स्रोतको दाबी छ ।

‘हिजो भर्खर त ब्ल्याक लिस्टमा राखेको छ, उडेको छैन भन्दै उहाँले सुरुमा जानकारी गराउनु भएको रहेछ’, स्रोतले भन्यो, ‘तर, फेरि बुझेर खबर गर्नुस् भनेपछि भट्टराईले नै जागेश्वर भागिसकेको पुष्टि गरेका रहेछन् ।’

त्यसपछि विभागबाट आईटी विभाग प्रमुख अनुप न्यौपानेलाई जाँच गर्न विमानस्थल पठाइएको थियो ।

दुई कर्मचारी तानेर गुपचुप राखियो घटना

विमानस्थल अध्यागमनमा तीन सिफ्टमा कर्मचारीहरु खटिने गर्छन्, हरेक सिफ्टको मुख्य नेतृत्व डिपार्चर अफिसर (डीओ) ले गर्छन् । कालोसूचीमा राखिएका व्यक्ति भागेपछि सुरुमा त्यो सिफ्टका डीओ कमल उपाध्यायलाई विभागमा तानेर छानबिन गरिएको थियो ।

त्यसक्रममा निरौलाले समेत जागेश्वर कालोसूचीमा रहेको भन्ने पहिले थाहा नभएको स्पष्टीकरण दिएका थिए । उपाध्यायसँग सोधपुछ गरेपछि नेपाली पोर्टमा जागेश्वरलाई प्रस्थान अनुमतिका लागि स्वीकृति दिने अधिकारी को रहेछन् भनेर हेरिएको थियो ।

नेपाली पोर्ट विमानस्थल अध्यागमनमा २०७६ सालदेखि आवतजावत गर्ने यात्रुहरुको पूर्ण विवरण राख्नका लागि प्रयोग हुँदै आएको सफ्टेवयर हो । त्यसमा नेपाल प्रवेश गर्ने र बाहिरिने सबै विदेशीको बायो–मेट्रिक विवरण, फिंगरप्रिन्टसँगै फोटो समेत राख्ने गरिन्छ । त्यसमा सम्बन्धित व्यक्तिलाई विदेश जान प्रस्थान अनुमति दिने अधिकारीको विवरण समेत रेकर्ड रहन्छ ।

‘त्यसक्रममा जागेश्वरलाई मुरारी निरौला नामक कर्मचारीले डेस्कबाट प्रस्थानका लागि अनुमति दिएको भेटिएको थियो’, एक अधिकारी भन्छन्, ‘उनी डेस्कमा रहेका बेला जागेश्वर त्यहाँ रहेको सीसी टीभी फुटेज समेत भेटिएपछि उनलाई जिम्मेवारीबाट तानिएको थियो ।’

स्रोतका अनुसार, मुरारीलाई गृह मन्त्रालयले जिम्मेवारीबाट तानेको थियो भने उपाध्यायलाई विभागले तानेको थियो । तर, छानबिन समितिले उनीहरुको यसलाई प्राविधिक त्रुटि देखाएपछि उनीहरुलाई कुनै कारबाही भएन । समितिले ‘कहिलेकाहीँ सरकारी सर्भरमा समस्या आउँदा त्यस्तो हुनसक्ने विवरण’ दिएको स्रोतको दाबी छ ।

सहसचिव भट्टराईको पालामा चार महिनामा २१३ जना शिख समुदायका भारतीय नागरिकलाई समेत विदेश पठाइएको खुलिसकेको छ । उनीहरुलाई दूतावासको नो अब्जेक्सन लेटर (एनओसी) विनै विदेश पठाएको अख्तियारको छानबिनमा भेटिएको हो ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, उनको कार्यकालमा फर्जी एनओसीका आधारमा समेत भारतीय नागरिकलाई विदेश पठाएको भेटिएको छ ।

‘शिख समुदायका व्यक्तिलाई विदेश पठाएको एउटा पाटो मात्र हो, अरु प्रकृतिका थुप्रै मानिसहरुलाई समेत तेस्रो मुलुक पठाइएको छ’, ती अधिकृतले भने, ‘ट्राभल एजेन्सी र केही मेनपावर कम्पनीसँग सहसचिव भट्टराईको सिधा सम्पर्क रहेको समेत देखिएको छ ।’

विमानस्थल अध्यागमनमा भिजिट भिसाका नाममा लामो समयदेखि संगठित असुली भइरहेको भन्दै सूचना आएपछि अख्तियारले झण्डै डेढ महिलादेखि गोप्य अनुसन्धान गरिरहेको थियो । केही ठोस प्रमाणहरु हात परेपछि अख्तियारका अधिकारीहरुले ५ जेठदेखि ‘कोभर्ट अपरेशन’ थालेका थिए ।

तर, तेस्रो दिनमा अख्तियारको अपरेशनबारे गृह प्रशासनलाई सूचना चुहियो, सहसचिव भट्टराई एकाएक मन्त्रालय सरुवा भए । त्यसपछि आयोगका अधिकारीहरुले भोलिपल्टै कार्यालयमा छापा हानेर भट्टराईलाई नियन्त्रणमा लिएका थिए ।

भट्टराईको तीन वटा मोबाइल नियन्त्रणमा लिएर साँझ छाडिएको थियो । अहिले उनको मोबाइलको डिजिटल फरेन्सिक जाँचको रिपोर्ट आइसकेको छ भने भट्टराईले असुली गरेको रकम राखेको सम्भावित स्थानबारे समेत आयोगका अधिकारीहरुले पत्ता लगाइसकेका छन् ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?