
२९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनतासँग माओवादी अभियानका सिलसिलामा जेठ ६ गते पश्चिम रुकुम पुगे । उपमहासचिव जनार्दन शर्माले आफ्नो क्षेत्रमा पार्टी सुप्रिमोको स्वागतका लागि कुनै कसर बाँकी राखेनन् । चौरजहारीको सभा कर्णालीका अरु जिल्लाको तुलनामा भव्य भयो ।
तर, सभामा अध्यक्ष प्रचण्डले जे बोले, शर्माको मन कुँडियो ।
सम्बोधनमा प्रचण्डले जनयुद्धको सुरुवाती दिनहरू, माओवादीले रुकुम, रोल्पा, सल्यान र जाजरकोट जस्ता जिल्लाहरूलाई बनाएको आधार इलाका, त्यहाँका जनताको सहयोग र कार्यकर्ताको सहादतका बारेमा बोले ।
त्यतिसम्म त ठिकै थियो, जसै प्रचण्डले तर… भन्दै अर्को प्रसंगको भाषण सुरु गरे माहोल गडबड भइहाल्यो ।
प्रचण्डले भने, ‘म अर्को के पनि भन्न चाहन्छु भने, जनयुद्धका क्रममा समर्पणभाव व्यक्त गर्ने नेतृत्वमा रहेका कयौं साथीहरू विचलित भए । उनीहरू पटकपटक भन्ने गर्थे- पार्टीको लाइन, विचार र नेतृत्वप्रति हामी सम्पूर्ण रूपमा समर्पित छौं । र, कहिल्यै धोका दिने छैनौं । तर ती साथीहरू अहिले हाम्रो पार्टीमा छैनन् ।’
प्रचण्ड रोकिएनन्, ‘आदरणीय जनसमुदाय, मैले यो कुरा अलि गम्भीर अर्थसहित तपाईंहरूका अगाडि राख्न चाहेको छु- ती साथीहरू हाम्रो पार्टीमा हुनुहुन्न तर रुकुममा पार्टी जीवित छ । रुकुममा जनताको आस्था निष्ठा र विश्वास जीवित छ । केही व्यक्ति विचलित हुँदैमा, केही व्यक्तिले बाटो बिराउँदैमा जनताले बाटो बिराउँछन्, पार्टीले बाटो बिराउँछ भन्ने कुरा सत्य होइन । यसको ज्युँदो प्रमाण रुकुम हो ।’
प्रचण्ड बोल्दै जान्छन् । बाबुराम भट्टराई, रामबहादुर थापा बादल, मोहन वैद्यको नामै लिएर र मञ्चका बसेका रुकुमकै नेता जनार्दन शर्मालाई लक्षित गर्दै भन्छन्, ‘एकाध नेताले पार्टी छोड्दैमा र एकाध नेता विचलित भएर अर्कातिर लाग्दैमा जनताले पार्टी छोड्दैनन् । क्रान्तिकारी जनता सतिसालझैं उभिन्छन् । रुकुम उदाहरण बनेको छ ।’
प्रचण्डको यो अभिव्यक्ति सामान्य अवस्थामा आएको थिएन । त्यसअघि पार्टी पदाधिकारीको दुईवटा बैठकमा प्रचण्डले जनार्दन शर्मालाई चित्त बुझ्दैन भने पार्टी छोड्दा हुन्छ भनिसकेका थिए ।
बैठकमै चेतावनीको भाषा बोलिसकेका प्रचण्डले सभामा पनि त्यसरी नै कुरा गर्दा शर्मा झस्किनु अस्वभाविक थिएन । नेताहरूले मनोमानी गरे पनि जनताले साथ छोडेका छैनन् भन्ने प्रचण्डको अभिव्यक्तिले शर्मा थप दु:खी बने । किनकि, माओवादीलाई तुलनात्मक रूपमा रुकुममा बलियो बनाउने शर्माको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन ।
शर्मा उनै हुन् जसले २०६४ को चुनावपछि पार्टीमा दुई लाइन संघर्ष भएर विद्रोह र चुनाव सँगसँगै भन्ने बहस हुँदा रुकुम पुगेर स्थानीय नेता/कार्यकर्तासँग स्पष्ट भनेका थिए, ‘अबको एकमात्र लाइन शान्ति प्रक्रिया र चुनाव हो, त्यसमै केन्द्रित हुनुपर्छ ।’ यही कारण पनि रुकुममा माओवादीलाई अन्तजस्तो क्षति भएन ।
तर, माओवादीलाई एकीकृत र ठूलो बनाउने अभियानसहित रुकुम पुगेका पार्टी अध्यक्षले नै दायाँबायाँ गर्ने नेताहरू नभएर केही हुन्न, जनताले न्याय गर्छन् भनेपछि उपहासचिव शर्मालाई गहिरो चोट लाग्यो ।
अध्यक्ष प्रचण्डलाई रुकुमबाट बिदाइ गर्ने क्रममा शर्माले उनीतिर चोर औंला देखाउँदै भनेका थिए, ‘तपाईंको नीतिले भएको हो भने २०६४ मा माओवादीले प्राप्त गरेको १२० सिट देखाउनुस् । अरूतिर पार्टी किन बलियो भएन, यहाँमात्रै किन जोगियो, त्यसको कारण खोतल्नुस् । तपाईंले गलत बोल्नुभएको छ, यसको समीक्षा हुनुपर्छ ।’
हुन पनि २०६४ को चुनावपछि माओवादी सिंगो पार्टी त रहेन नै, मत पनि विस्तारै घट्दै गयो । सो चुनावमा माओवादीले २४० प्रत्यक्ष सिटमध्ये १२० सिट जितेको थियो । २०७० मा उसको जम्मा २४ सिट आयो । माओवादीले २०७४ मा एमालेसँग गठबन्धन गर्दा ३२ र २०७९ मा कांग्रेससँगको गठबन्धनमा जम्मा १८ सिट जितेको थियो ।
यो अधोगतिमा अरू निर्वाचन क्षेत्रको जस्तो अवस्था रुकुमको भने भएन । त्यसैले शर्माले प्रचण्डको ब्रान्डिङले मात्रै हुने भए २०६४ सालको १२० सिट त्यसपछि कहाँ गयो भनेर सोधेका हुन् । पार्टी अध्यक्षको अभिव्यक्तिमाथि समीक्षाको माग गरेका हुन् ।
प्रचण्डले ‘समीक्षा हुने’ जवाफ दिए । त्यसपछि गत जेठ १२ मा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा शर्माले यही कुरा उप्काए । अध्यक्ष प्रचण्डले अर्को बैठकमा समीक्षा गरौंला भनेर टारे । शर्माको मन थप कुँडियो ।
‘अध्यक्ष कमरेडले मलाई पहिले पनि पदाधिकारी बैठकमा २ पटक पार्टी छोड भन्नुभएको थियो, रुकुम गएर पनि भन्नुभयो, समीक्षा गरौं भनेको छु,’ उनले भने, ‘पार्टी बनाउन स्थानीय नेतृत्वले खेलेको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन ।’
त्यसपछि शर्मा पार्टीका सार्वजनिक कार्यक्रमहरूमा उति देखिएका छैनन् । अध्यक्षको अभिव्यक्तिबारे समीक्षा नभएसम्म काम गरिहालौं भने जोस उनमा छैन ।
पार्टी सञ्चालनको तौरतरिकामा शर्मा पहिलेदेखि नै असन्तुष्ट छन् । पार्टीका धेरै औपचारिक बैठकहरूमा उनले फरक मत राखेका छन्, पुरक प्रस्ताव ल्याएका छन् । पार्टी भित्रको लोकतान्त्रीकरणको बहस छेडेका छन्, चुनावबाटै नेतृत्व छानिनुपर्छ भनेर तर्क गरेका छन् । शर्माले यसो गर्दा पार्टीका केही जनवर्गीय संगठनमा लोकतन्त्रको अभ्यास भएको छ । चुनावबाट नेतृत्व छानिएका पनि छन् । कतै उनकै समूहले जितेको छ, कतै पराजित भएका छन् । तर शर्माले भनेझैँ पार्टी पार्टीकै रूपमा रूपान्तरण हुन भने सकेको छैन ।
‘मैले १३ वर्ष अगाडि अध्यक्ष प्रचण्ड र बाबुरामलाई सँगै राखेर हाम्रो पार्टी तपाईंहरू बाँच्दासम्म अलिअलि बाँच्ने नत्र त सिद्धिने देखेँ, यत्रो क्रान्ति गरेको पार्टीको आयु कम्तीमा सय-डेढ सय वर्ष त हुनुपर्छ, संगठन बनाउँ, विधि र पद्धतिमा जाउँ भनेको थिएँ । सुनुवाइ नै भएन,’ शर्माले भने, ‘झन्-झन् बिग्रिँदै पो गयो ।’
त्यसपछि पनि उनले पार्टीमा पद्धतिको कुरा भने निरन्तर उठाउँदै आए । निर्वाचनबाटै नेतृत्व छानिनुपर्छ भनेर मंसिर २०७८ मा भएको आठौं महाधिवेशनमा शर्मा चुनावमा प्रतिस्पर्धा गर्न चाहन्थे । त्यसबेला उनी अध्यक्ष प्रचण्डकै विकल्प बन्न तयार त भइसकेका थिएनन्, महासचिवमा भने दह्रो दाबेदारी थियो ।
कमिटी चुनिएरै आउनुपर्छ भन्ने शर्माको अडान उतिबेला कामयाब भएन । प्रचण्डले आफूलाई अध्यक्ष घोषणा गर्नुबाहेक महाधिवेशनमा अरू पदाधिकारी छानिएनन् । महाधिवेशनको निकै पछि प्रचण्डले पदाधिकारी बनाए । तर उनले दाबी गरेका जनार्दन शर्मामात्रै हो,इन वर्षमान पुनलाई पनि महासचिव दिएनन् । यी दुवैलाई उपमहासचिव बनाएर महासचिवमा देव गुरूङलाई ल्याए । माओवादीको राजनीतिमा गुरूङले गरेको त्याग र बलिदानलाई नजरअन्दाज गर्न मिल्दैन, तर संगठन नै चलाउन भने उनी कति काबिल हुन् भन्ने प्रश्न अझै छ ।
यता, शर्मा प्रश्न उठाएकै कारण र पार्टीलाई लोकतान्त्रिक बनाउनुपर्छ भनेकै कारण विस्तारै छेउ लाग्दै गए । यद्यपि, रुकुमको त्यही सभामा प्रचण्डले शर्माप्रति लक्षित गर्दै भनेका छन्, ‘पार्टीले पाएका अवसरहरूमा मैले भेदभाव गरेको छैन ।’
तर, सारमा त्यस्तो देखिँदैन । यिनै शर्मालाई पार्टीको सांगठनिक काम गर्ने भनेर माओवादीले संगठन विभागको प्रमुख बनाएको छ । तर विभागमा उनीबाहेक अरू कोही छैनन् । सदस्य थप्न भनेर शर्माले गरेको प्रस्तावमा छलफल भएकै छैन ।
‘संगठन विभागमा म प्रमुख एक्लै छु, त्यहाँ सदस्य छैनन्,’ शर्माले भने, ‘सदस्य बनाउने भनेर २/३ पटक प्रस्ताव गरिसकेँ तर भएन ।’
शर्माले पार्टीलाई पार्टीजस्तो बनाउन संगठन बलियो बनाउन पर्छ भनेर पार्टीका केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकहरूमा बारम्बार फरक मत र पुरक प्रस्तावहरू राखेका छन् ।
२०८० फागुनमा भएको विधान सम्मेलनमा प्रत्यक्ष निर्वाचनबाट पार्टी कमिटी छान्ने प्रस्ताव शर्माले नै ल्याएका थिए । त्यसमाथि काफी छलफल भएर सहमति पनि भयो । तर आउँदो मंसिरमा हुने भनिएको महाधिवेशनमा विधान सम्मेलनको त्यो व्यवस्था कायमै रहन्छ या रहन्न भन्नेमा उनी ढुक्क छैनन् । किनभने माओवादीको विधान सम्मेलनमा प्रस्तुत शर्माको पुरक प्रस्तावमा पार्टी अध्यक्षसहित सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुनुपर्ने उल्लेख थियो । जबकि, विधान मस्यौदा समितिको प्रस्तावमा त्यो उल्लेख थिएन ।
२०८० फागुनमा भएको विधान सम्मेलनमा अधिकांश सहभागी प्रत्यक्ष निर्वाचितको पक्षमा थिए । तर २२ जना पदाधिकारीमध्ये शर्मा एक्लै सबै पदमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने पक्षमा थिए । त्यसैले अध्यक्ष प्रचण्डले आफूले सहभागीहरूको कुरामा समर्थन जनाए पनि सिनियरहरूको पनि कुरा सुन्न परेकाले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न नसकिएको स्पष्टीकरण दिएका थिए ।
यद्यपि, केन्द्रीय कमिटी प्रत्यक्ष चुनावले नै छान्ने प्रस्ताव भने पारित भएको थियो । प्रतिनिधिहरूको समर्थन भए पनि नेताहरूले साथ नदिँदा शर्मा एक्लिए । त्यसअघि साउन २०८० मा बसेको स्थायी कमिटी बैठकमा पनि शर्मा भावुक भएर प्रस्तुत भएका थिए ।
अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति व्यापक प्रश्न उठाएका शर्माले त्यसबेला पनि भनेका थिए- होला, कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ । तर त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ।
त्यसबेला प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूलाई बरु विप्लवहरूले सहयोग गरेको तर आफ्नै पार्टीका नेताहरूले सहयोग नगरेको बताएपछि जवाफमा शर्माको यस्तो अभिव्यक्ति आएको हो ।
सवालजवाफ चलिरह्यो तर यी दुईको मन एकअर्काप्रति कहिल्यै उज्यालो भएन । विधान सम्मेलन सकिए लगत्तैको स्थायी कमिति बैठकमा उनले फेरि फरक मत दर्ता गरे ।
‘विधान अधिवेशन लगत्तै बसेको स्थायी समिति बैठकमा विधानबारे अजेन्डा नै नराख्नु विधान अधिवेशनले पारित गरेका निर्णयहरूको भाषिक रूपले सम्पादन गरी कार्यान्वयन गर्ने कार्यभारप्रति बेवास्ता गर्नु र पारित विषयलाई बेवास्ता गरी विधिविहीनतालाई निरन्तरता दिने उद्देश्य देखिनु दुःखद् हो । विधान अधिवेशनबाट पारित भएका निर्णयहरू सम्पादन गरी तुरुन्त कार्यान्वयन गर्न माग गर्दछु,’ शर्माले १५ फागुन २०८० को स्थायी समिति बैठकमा पेस गरेको फरक मतमा उल्लेख छ ।
स्तुति गान गाउनेहरूले मात्रै पार्टीमा स्थान पाउन थालेको निष्कर्षसहित आफूले बारम्बार फरक मत दर्ता गर्नुपरेको शर्माको प्रष्टीकरण छ । कार्यकर्ताहरूको आवाज लगभग सबैजसो कमिटीहरूमा बर्जितजस्तै छ ।
संगठनमा पार्टी सदस्यहरूलाई नै सार्वभौम बनाउनुपर्छ भन्ने शर्माको मत छ, जुन माओवादीमात्रै होइन, अरू कम्युनिष्ट पार्टीमा पनि अभ्यास भएको देखिँदैन ।
कार्यकर्ताले नै निर्वाचित गरेर आफ्ना नेता चुन्न पाउने र काम नगरेपछि फिर्ता गर्न पाउने खालको पार्टी बनाउनुपर्ने उनको तर्कमा माओवादीकै अधिकांश नेताहरू सहमत हुन्छन् तर निर्णय भने हुँदैन । त्यसैले बेलाबेला शर्मालाई लाग्छ- अहिलेकै तरिकाले त पार्टी बन्दैन ।
‘हाम्रो सिस्टम के भयो भने, नेताले टीको लगाइदिएपछि कोही तल फर्किएन । नेताको चाकडीमा लाग्यो । पार्टीमा स्तुति गान गाउनुपर्ने भयो,’ उनी भन्छन्, ‘कसैले औंला उठायो भने त्यसले स्थान नपाउने खालको प्रवृत्ति हाम्रो पार्टीमा छ । यसलाई सच्याएर संस्थागत रूपले अघि बढौं भन्ने मेरो प्रस्ताव छ ।’
कम्युनिष्ट पार्टीको चरित्र नै संगठन बनाएर चल्ने हुन्छ । नेताहरूको भाषण सुन्न भिडमा देखिएका मान्छेहरू सबै कम्युनिष्टका मतदाता हुन्छन् भन्ने पनि छैन । त्यसैले संगठनमा नै केन्द्रित हुनुपर्छ भन्ने उनको मत छ ।
‘गर्नुपर्छ । संगठन गरिएन भने सभा गरेर मात्रै माओवादीको भोट आउँदैन,’ उनले भने, ‘त्यसैले संगठन अनिवार्य कुरा हो हाम्रा लागि । संगठन गर्ने, प्रशिक्षित गर्ने र जनताको अजेन्डाको सम्बोधन गर्ने गर्नुपर्छ ।’ तर पार्टी नेतृत्वले संगठनभन्दा बढी सभा-सम्मेलनमा जोड गरेकोमा उनलाई उति चित्त बुझेको छैन । ‘आन्दोलनको लिगेसीका कारण माओवादी अलिअलि बचेको हो, तर सधैँ त्यो रहन्न,’ शर्माले भने ।
तर, उनले खोजेको सांगठनिक र अनुशासित चरित्र उनको पार्टीमा छैन । २०८१ असोजमा सुरु भएको अनेरास्ववियु क्रान्तिकारीको सम्मेलन शर्मा पक्ष बलियो भएकै कारण पछि सारिएको थियो । उनले उठाएको चुनावको अजेन्डामा सुरुमा पार्टी नेतृत्व तयार नै भएन ।
असोजमा स्थगित भएको सम्मेलन गत माघमा भयो । सहमतिका अनेक प्रयासका बाबजुद शर्मा पक्षहरू नै चुनावमा जाने भनेपछि निर्वाचन भएको थियो । त्यसमा अध्यक्ष बाहेक अधिकांश पदाधिकारी शर्मा पक्षबाटै निर्वाचित भएका थिए ।
हालसालै सकिएको वाईसीएल सम्मेलनमा पनि शर्मा चुनाव होस् भन्ने चाहन्थे । तर ३५ सदस्यीय पदाधिकारीको संख्या दोब्बर बनाएर पदाधिकारीको घोषणा गरियो । यस्तो घोषणाप्रति उनको तीव्र असन्तुष्टि छ । ‘वाईसीएलमा पनि प्रक्रियामा जानै नदिएर कब्जा गरियो,’ शर्माले भने, ‘निर्वाचन भनेपछि आतंकित हुने प्रवृत्ति छ, यसरी कसरी पार्टी बन्छ ?’
के चाहन्छन् त शर्मा ?
उनले दुईवटा विषय हामीसँग सविस्तारमा बताए ।
पहिलो, वामपन्थी एकता : २०७५ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणमा जनार्दन शर्मा प्रमुख भूमिकामा थिए । त्यसबेला एकीकरणको खास जिम्मेवारी नै एमालेबाट विष्णु पौडेल र माओवादीबाट शर्माले पाएका थिए । नेकपाको एकता त्यति लामो टिकेन । त्यसैले फेरि बलियो धरातलमा टेकेर वामपन्थी एकताको पहल गर्नुपर्छ भन्ने शर्मालाई लागेको छ ।
‘नेपालमा अहिले पनि वामपन्थी जनमत छ, वामपन्थी जनमत नै पार्टी निर्माणको मुल आधार हो । त्यो विकेन्द्रित वामपन्थी जनमतलाई एकीकृत गर्ने विश्वासयोग्य जनमत हुनुपर्यो,’ शर्माले भने, ‘हिजो माओवादी र एमालेबीच एकता गरियो, त्यसले विश्वास ध्वस्त बनाइदियो । त्यसमा केपी ओलीमात्रै पनि जिम्मेवार हैन, प्रचण्डमात्रै पनि जिम्मेवार हैन । सबै आआफ्नो ठाउँमा जिम्मेवार छन् ।’ उनले नेकपाका बेला चुलिएको अविश्वासको वातावरण फेरि चिरेर विश्वासिलो वातावरण बनाउनुपर्ने बताए ।
दोस्रो, उत्पादनसँग जोडिएको पार्टी कमिटी : माओवादीको हेटौंडा महाधिवेशनले एउटा क्रान्ति सफल भएको भन्दै उत्पादनसँग पार्टीलाई जोड्नुपर्ने दस्तावेज पारित गरेको थियो । अझै क्रान्ति आवश्यकता छ भन्दै फेरि युद्ध गर्ने भनेर लागेका विप्लवहरू बरु उत्पादनमा जोडिएर व्यापार-बिजनेस थालिसके । तर माओवादीका अधिकांश कार्यकर्ता बेरोजगार छन् । त्यसैले उत्पादनसँग पार्टीलाई जोड्नुपर्छ भन्ने शर्माको चाहना छ ।
‘मेरो उद्देश्य नयाँ ढंगले संगठन गरौं भन्ने हो । नारा समाजवादी, कार्यक्रम नवउदारवादी तालमेल मिलेन । हाम्रो पार्टीभित्र रोजगारी नगर्ने संस्कार छ,’ उनले भने, ‘अब माओवादी पार्टीका प्रत्येक सदस्यलाई आत्मनिर्भर बनाउनुपर्छ ।’
तर, जनताको अजेन्डामा पार्टी गम्भीर नभएको निष्कर्ष उनको छ । पार्टीको आन्तरिक जीवनमा काम गर्छु भन्नेलाई अघि बढ्नै नदिने र राष्ट्रिय राजनीतिमा पनि सरकार बाहेक अर्को नसोच्ने प्रवृत्ति पार्टीमा मौलाएको शर्माको ठम्याइ छ ।
‘मिहिनेतले उठाएको स्थानीय राजनीति पनि नेताले क्षतविक्षत बनाएपछि पार्टी कसरी बनाउने भन्ने चुनौती खडा भएको छ,’ शर्माले भने, ‘यही कुरा भन्यो भने पार्टी छोड भन्ने, पार्टी फुटाउँछ भन्ने र सही अजेन्डालाई विषयान्तर गरेर आतंकित बनाउने चलन छ । पार्टीमा पूरै आतंक छ अहिले ।’
प्रतिक्रिया 4