+
+
Shares

सिद्धिचरणका जेल संस्मरण सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘सिद्धिचरणका जेल संस्मरण’ पुस्तकले युगकवि सिद्धिचरण श्रेष्ठको जेल जीवनका ३६ संस्मरणहरू प्रस्तुत गर्दछ।
  • पुस्तकमा उनले राणाविरोधी आन्दोलन र समाज परिवर्तनका क्रान्तिका अनुभवहरू व्यक्त गरेका छन्।
  • सम्पादन साहित्यकार सरुभक्तले गरेका हुन् र यसलाई ५०० रुपैयाँ मूल्यमा बजारमा ल्याइएको हो।

युगकवि सिद्धिचरण श्रेष्ठका जेल जीवनका संस्मरणहरूको सङ्ग्रह ‘सिद्धिचरणका जेल संस्मरण’ सार्वजनिक भएको छ । वि.सं. १९९७ साल कार्तिक २ गते बिहानै काठमाडौ ‘झोछे’, पुरानो दफ्तरस्थित घरबाट पक्राउ परेका सिद्धिचरण श्रेष्ठले जेलमा बिताएका ३६ वटा संस्मरणहरूको पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो ।

राणाविरोधी आन्दोलनमा साहित्य सृजना र युवा चेतना फैलाउने क्रममा पक्राउ परेका उनले जेलमा बिताएका पाँच वर्षको अवधिका भोगाइहरूलाई यस पुस्तकमा प्रस्तुत गरेका छन् ।

वि.सं. १९९७ सालको काण्ड, चार शहीदको बहादुरी, शहादत र व्यक्तित्वको चर्चा गर्दै जेलमा रहँदा आफ्ना बुबाको देहवसानमा काजकिरिया गर्न पनि नदिइएको मार्मिक ऐतिहासिक प्रसङ्गले पुस्तकलाई अझै पठनीय बनाएको छ ।

साथै, पुस्तकमा गणेशमान सिंह, खड्गमान सिंह बस्नेत, चित्तधर ‘हृदय’, कप्तान बालकृष्ण शमशेर जबरा, चिनियालाल सिंह, गोपी च्यामे, धर्मरत्न यमीदेखि जेलमा सरसफाइ गर्ने राममाया च्यामिनीसम्मका संस्मरणहरू समावेश गरिएका छन् । साथै, शुक्रराज शास्त्री र पं. मुरलीधरले गरेका उपद्रवका बारेमा श्री ३ महाराजबाट बक्सेको स्पीचसमेत पुस्तकमा समावेश भएको छ ।

तत्कालीन समाजको अशिक्षा, शासकहरूको क्रूरता र समाज परिवर्तनका लागि भइरहेका क्रान्तिका बाछिटाहरूलाई प्रस्तुत गर्ने युगकवि सिद्धिचरणको यस संस्मरणको सम्पादन साहित्यकार सरुभक्तले गरेका हुन् । सम्पादक सरुभक्त भन्छन्, ‘ऐतिहासिक विशिष्टता बोकेका व्यक्तिको जीवनको फरक पाटोको संस्मरणात्मक पुस्तक तथ्यात्मक हिसाबले पाठकसामु प्रस्तुत गर्न पाउँदा मलाई आत्मसन्तोष भएको छ । पाठकलाई सर्वथा नौलो र रुचिकर लाग्नेछ ।’

वि.सं. २०५२ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित भएको र ३ दशकपछि पुनःप्रकाशन भएको यस पुस्तकमा सरुभक्त र सिद्धिचरण पुत्र रविचरण श्रेष्ठको भूमिका रहेको छ ।

बुकहिल पब्लिकेशन प्रा. लि.ले प्रकाशन गरेको यस पुस्तकको मूल्य ५०० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?