
News Summary
Generated by OK AI. Editorially reviewed.- सरोज थापा, धादिङका गाउँले, अन्तर्राष्ट्रिय सेफ भएर नेपालमा पेस्ट्री हब बनाउने योजना राख्छन्।
- उनी साउदी अरब, दुबई, ओमान, कतार र दोहामा काम गरी विश्वस्तरको सम्मान र पुरस्कार प्राप्त गरेका छन्।
- उनले नेपालमा उच्चस्तरको पेस्ट्री र बेकरी उद्योग स्थापना गर्न र युवाहरूलाई निःशुल्क तालिम दिने लक्ष्य राखेका छन्।
काठमाडौं । विदेश किन ?
खाडी मुलुक जाने युवाहरूलाई सोध्नुभयो भने धेरैको जवाफ हुन्छ, ‘पैसा कमाएर काठमाडौंमा सानो घर बनाउन।’
यस्तै सपना बोकेर धादिङका सरोज थापाले अन्तर्राष्ट्रिय उडान भरेका थिए । तर, उनको कथा त्यही घर बनाउनेमा मात्र सीमित छैन ।
उनले धन कमाए, सीप सिके, सम्मान पाए ।
यो कथा हो, एउटा साधारण गाउँले केटाको, जसले मेहनत, लगन र आफ्नो कलाप्रतिको अटुट प्रेमले उत्कृष्ट पेस्ट्री सेफहरूको सूचीमा आफूलाई उभ्याए ।
पेस्ट्री सेफ सरोज थापा, साउदी अरबको प्रतिष्ठित क्याम्पिन्स्की होटलमा तीन वर्षदेखि एक्जुकेटिभ पेस्ट्री सेफको रूपमा नेतृत्व गरिरहेका छन् ।
साउदीमा मात्र होइन । सरोजले आफ्नो कलात्मक पेस्ट्री र केकले विश्वभर प्रशंसा कमाएका छन् । कुनै दिन हेल्परको रुपमा किचेनमा १८ घण्टा काम गर्ने सरोजलाई अहिले सेफ प्रतियोगितामा निर्णायक पाहुनाका लागि बोलाइन्छ ।
अब उनी नेपालमा पेस्ट्री हब बनाएर यहाँको उद्योगमा क्रान्ति ल्याउने ठूलो पूरा गर्न लागिपरेका छन् ।
सानैदेखि कलामा निपुण
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, मुलपानीमा मध्यम परिवारमा जन्मिएका हुन सरोज । उनलाई सानैदेखि रचनात्मक काम गर्न खुब मनपर्थ्यो । उनी निकै मेहनती थिए । चार दिदीका एकमात्र भाइ भएकाले घरमा सबैको औधी माया पाउँथे ।
स्कूलमा सधैं प्रथम वा दोस्रो हुने उनी हस्तकला र चित्रकलामा पनि अब्बल थिए । वीरेन्द्र शिल्ड जित्ने रचनात्मकताले पछि उनको पेस्ट्री करियरको जग बनायो ।
सरोज सम्झन्छन्, ‘मैले सानोमा गरेको चित्रकलालाई पछि मैले पेस्ट्रीको माध्यमबाट देखाउन पाएँ । मलाई लाग्छ, पहिला देखिकै खुबीले होला, पछि पेस्ट्री बनाउनमा सिर्जना भर्न सकेको ।
वि.सं. २०५४ मा एसएलसी सकेर उनी काठमाडौं भित्रिए । सुरुमा भिनाजुको घरमा बसेर सरस्वती बहुमुखी क्याम्पसमा रातको सिफ्टमा पढ्न थाले । राति पढ्नुको कारण थियो, उनी कलेज पढ्न आफैँ खर्च जोहो गर्ने सोचमा थिए । सामान्य परिवार भएकोले घरमा आर्थिक नपरोस् भन्ने उनको चाहना थियो ।
साँझमा कलेज पढ्ने सरोज राति बिहान पत्रिका बाड्ने ‘हकर’ को काम भ्याएर दिउँसो कालीमाटीको आइसक्रिम सपमा काम गर्थे ।
आइसक्रिम सपमा काम गर्दागर्दै उनले नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) मा कुलिनरी आट्र्समा भर्ना खुलेको थाहा पाए । उनले परीक्षा दिए। नाम निस्कियो । त्यसपछि उनले त्यहाँ डिप्लोमा गरे । उनले डिप्लोमा सकेपछि लाजिम्पाटको सांग्रिला होटलमा इन्टर्नशिप गर्ने अवसर पाए ।
करियरको पहिलो मोड
होटलमा इन्टर्नशिप गर्दैगर्दा एक फ्रान्सेली पाहुनाले सरोजको कामको तारिफ गरे । यो प्रशंसाले उनको जीवनमा नयाँ मोड ल्यायो । उनको मेहेनत र लगनशीलता देखेर होटलले उनलाई किचेन हेल्पर र वेटरको रुपमा स्थायी कर्मचारी बनायो, जुन उनको करियरको पहिलो ठूलो कदम थियो ।
यसरी नै समय बित्दै थियो । उनी त्यतिमा खुसी थिएनन् । उनलाई लाग्यो-रोजीरोटी चल्ने भएर मात्र हुँदैन । सबपरिवार अटाउने घर बनाउन त यहाँ बसेर हुँदैन । विदेश नै लाग्नुपर्छ ।
उनका साइलो बुबाका छोरा अबुधाबीको स्यान्ड होटल होलिडेमा सुपरभाइजर थिए । उनीसँग सल्लाह गरेर उनी अबुधाबीको होटलमा काम गर्नपुगे ।
कठिन बाटो र अवसर
सपना बोकेर सरोज अबुधाबीको स्यान्ड होटलसम्म त पुगे । तर काम भनेजस्तो सहज थिएन । ९ घण्टा वेटरमा र ६ घण्टा किचेनमा गर्नुपर्थ्यो । भाषामा समस्या, लामो डयुटीले उनी थकित हुन्थे ।
उनको जोश भने कम थिएन । त्यहाँ काम गर्दा नै पेस्ट्री बेकरीमा लगाव बढिसकेको थियो ।त्यसका लागि जसरी पनि किचेनमा काम गर्ने बन्छु, सेफ बनेरै छाड्छु भन्ने दृढता उनमा थियो । उनको अठोटले अन्तत किचनमा स्थानान्तरण गरायो ।
तीन वर्ष तालिम र छ महिना जति त्यहाँ काम गरे पछि उनले युएईको इमिरेट्स प्यालेस ल्याण्ड मार्क होटलमा काम गर्ने मौका पाए । त्यहाँ उनले सबैभन्दा जुनियर सेफको काम पाएका थिए ।
तीनवर्ष त्यहाँ काम गर्दा फ्रान्सेली सेफहरूसँग सिकेको अनुभवले उनको पेस्ट्री कला निखारियो । ‘मेरो पाककलाको बेस त्यहीबाट बस्यो । यो मेरो करियरको पहिलो सफल खुड्किलो जस्तो लाग्छ’ उनी ती दिन सम्झिन्छन् ।
सबै दिन सरोज १८ घण्टा काम गर्थे । एक पटक तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस होटलमा आए, त्यो बेला उनले तीन दिन लगातार काम गर्नुपर्यो ।
‘किचेनमा काम गर्दा बेक गर्ने निकाल्ने क्रममा दैनिकजसो नै हात पोल्थ्यो’ सरोज भन्छन्, ‘पोल्दा पोल्दा पछि त पोलेको पनि थाहा हुन छाड्यो’
सात वर्ष बित्यो कामको चाप उस्तै, लामो समयको खटाइ, थोरै कमाइ उनी धेरै पटक निराश हुन्थे । बेलाबेला रून्थे पनि ।
‘भान्सामै जीवन बित्ने भयो भन्दै रुममा पुगेर साथीले थाहा नपाउने गरी ब्ल्याङ्केटले मुख छोपेर म रुन्थें । यो जिन्दगीमा यति धेरै दु:ख मलाई मात्रै होकि जस्तो लाग्थ्यो’ भावुक मुद्रा रहेका सरोज थोरै मुस्कुराउँदै भन्छन्, ‘त्यही दु:खकै कारण म सफल भएको जस्तो लाग्छ ।’
तीन वर्ष काम गरेपछि उनी सुपरभाइजरको रुपमा दुबईको म्यारियट पार्क एन्ड रिसोर्टमा ट्रान्सफर भए ।
त्यसपछि दुबईको म्यारियट पार्क एन्ड रिसोर्ट, ओमानको क्राउन प्लाजाको पाँच तारे होटल, कतारको रिच कार्लटन, कुवेतको रेडिसन र दोहाको डब्लु होटलमा सुपरभाइजर, जुनियर सु-सेफ हुँदै २८ वर्षको उमेरमा सिनियर सेफसम्मको यात्रा तय गरे ।
गाली गर्ने सेफलाई गुरुभेटी
२०१४ मा २८ वर्षको उमेरमा म्यारियट पार्क एन्ड रिसोर्टमा उनले पुनः अर्को असवर पाए । त्यहाँ हेड सेफ भएर पुगेका थिए । त्यो पहिलो तलबले उनले दुबईमा १८ घण्टा काम गराउने फ्रान्सका सेफलाई गुरुभेटी भनेर उपहार दिए ।
उनी त्यो पल सम्झिँदै भन्छन्, ‘पहिला काम गराउँदा उनले गाली गरेको सम्झिँदा घिन लाग्थ्यो । पछि लाग्यो, त्यो गाली र दबाब नभएको भए आज यो ठाउँमा नहुनक्थेँ ।’ ती सेफले अहिले पनि आफूलाई सम्झिने गरेको सरोज बताउँछन् ।
त्यहाँ ४ वर्ष काम गरेर नेपाल फर्किँदा कोराना सुरु भइसकेकोले ५ महिना यतै अड्किए उनी । ‘मैले म विदेश गएपछि लामो आराम गरेको भनेको त्यही ५ महिना हो’ सरोज सुनाउँछन्, ‘अहिलेसम्म पनि भागदौडमै चलिरहेको छु । यो सफलता भाग्य, मेहेनत, परिवार र श्रीमतीको साथ र समर्थनले सम्भव भयो ।’
हाल साउदी अरबको क्याम्पिन्स्की होटलमा एक्जुकेटिभ पेस्ट्री सेफको रूपमा कार्यरत सरोजले विश्वका धेरै देशमा आफ्नो कला देखाएका छन् । उनले एकैछिनमा बनाउने रंगीचंगी, कलात्मक पेस्ट्री र केकले सबैको मन जित्छ। मिडिल इस्टका धनाढ्य व्यापारीहरूले उनको चकलेट र पेस्ट्रीको तारिफ गर्छन् ।
उनले बनाएको इटालियन कुकी र चकलेटले ब्रान्डको रूपमा मान्यता पाए । ‘मलाई रेसिपीको आइडिया तुरुन्त आउँछ र मेरो प्रोडक्टले विश्वस्तरमा प्रशंसा पाएको छ, ’उनी गर्वका साथ भन्छन् ।
विश्वस्तरका उपलब्धि
सन् २०११ मा कुवेतमा १४० वेडिङ केक प्रतियोगितामा उनले सिल्भर पदक जिते । साउदी अरबमा चकलेट डेमा उनले नेपालको हिमालय र नदीनाला झल्काउने डिजाइन बनाए, जसले युरोपियन पाहुनाहरूलाई चकित पार्यो।
सहभागी पाहुनाहरूले भने-यो डिजाइनले गोल्ड मेडल पाउनुपर्छ । विश्व सेफ एसोसिएसनको आजीवन सदस्य बनेका सरोज हरेक वर्ष युरोपका बेक फेस्टहरूमा जज र सहभागी बन्छन् ।
सन् २०१८ मा जर्मनीको इमिरेट्स गिल्डमा पेस्ट्री बेकरीको जज बनेर उनले युरोपियन सेफहरूको प्रोडक्ट मूल्यांकन गरे। ‘म नेपालको हुँ तर म दुबई आएकोभन्दा सबैले आश्चर्य माने, ’उनले गर्वका साथ सम्झन्छन् ।
त्यही जज बनेकै समारोहले गर्दा ठूलो अवसर उनले पाए । त्यो हो, जर्मनीको सीएसएम कम्पनीमा ३०–३५ देशका सेफहरूसँग उनले बेकरी प्रोडक्ट टेस्टिङ र कन्सल्टेन्ट सेफको भूमिका निर्वाह गरे । जहा अहिले पनि तीन तीन वर्षमा एकपटक उनी जान्छन् ।
उनले जर्मनी र फ्रान्सको इकोलो ब्युलेट स्कूलमा बेकरी र पेस्ट्रीको एडभान्स डिप्लोमा हासिल गरे ।
मिडिल इस्टका शीर्ष १०० धनाढ्य व्यापारीहरूका लागि बनाएको उनको चकलेट विश्वप्रसिद्ध गुडी चकलेटसँग तुलना हुँदा समेत उत्कृष्ट ठहरियो । यी उपलब्धिहरूले उनलाई विश्व मञ्चमा नेपालको गर्व बनाए।
फ्रान्स र जर्मनीबाट पेस्ट्री, बेकरी, आइसक्रिम तथा चकलेट बनाउने विषयमा डिप्लोमा गरेका थापाले यूएई, कतार, कुवेत, बहराइन, साउदी अरेबियाजस्ता देशमा लामो समय काम गरिसकेका छन् ।
उनी विश्व चर्चित फुटबल खेलाडी सार्डियो माने र क्रिस्टियानो रोनाल्डो जस्ता स्टारहरूको स्वस्थ आहार योजनामा समेत सहभागी भएका छन् ।
घरबाटै जूजू धौ केक ब्रान्ड
सानो सपना बोकेर विदेशिएका सरोजले नसोचेको सम्मान कमाए । तर, उनको मन नेपालमै थियो । ‘अर्काको देशमा स्वाद दिएरै नाम कमाए । देशमै केही गर्न पाए भन्ने कुराले मन घोतलिरहन्थ्यो । धेरै यहाँ अवसरको खोजी गरिरहे । अब गर्ने बेला आयो जस्तो लाग्छ, ‘उनी भन्छन् ।
काठमाडौंको कलंकी नजिक माता तीर्थमा ३ करोड लगानीमा चकलेट र बेकरी फ्याक्ट्री खोल्ने योजना उनको छ । ‘म नेपालमा युरोप र अमेरिकाको स्तरको क्वालिटी दिन चाहन्छु, ’उनी भन्छन् ।
उनको सपना नेपालमा पेस्ट्री हब बनाउने छ । कलंकीमा आफ्नै घरबाट जूजूधौ केक ब्रान्ड शुरू गरेका छन्, जसमा यार्सागुम्बा, पाँचौली, शिलाजित र टिमुरजस्ता नेपाली जडीबुटी प्रयोग हुन्छ । एउटै जूजू धौबाट १६ थरिका स्वाद दिइरहेको दावी उनको छ ।
उनको सपना व्यवसायमा मात्र सीमित छैन । आउँदो डिसेम्बरपछि साउदीको कामबाट विदा भएर नेपालमा गाउँका युवाहरूलाई निःशुल्क तालिम दिई नेपालमै रोजगार दिने र विदेश पठाउने योजना छ ।
‘मेरो लक्ष्य ३ देखि ४ हजारलाई रोजगारी दिनु हो, ’उनी उत्साहका साथ भन्छन् । नेपालका प्रमुख शहरहरूमा आफ्नो ब्रान्डका शाखाहरू विस्तार गर्न चाहन्छन् । तर यसमा सरकारको मद्दत नगरेको उनको गुनासो छ ।
सरकारको नीतिगत अवरोध र कच्चा पदार्थको अभावले चुनौती थपिएको छ ।
पेरिसमा पेस्ट्री सेफको सबैभन्दा ठूलो सिक्ने ठाउँमा ज्ञान बढाउन उनी बेलाबखतमा पुगिरहेका हुन्छन् । त्यहाँको जस्तो सामान नेपालमा नपाउँदा उनी दु:खी छन् । ‘विश्वस्तरीय बटर र डेरी प्रोडक्ट नेपालमा पाउन गाह्रो छ । यदि यो ल्याउन सरकारले सहयोग गर्ने हो भने म स्वास्थ्यवर्द्धक बेकरी आइटम दिन सक्छु, ’उनी भन्छन् ।
फ्रान्समा सिकेको दर्शनले उनलाई अघि बढ्न प्रेरित गर्छ । ग्राहकलाई कहिल्यै ठग्नुनहुने उनको सिद्धान्त छ ।
एक दशकभन्दा बढी पेस्ट्रीलाई दिएका उनको जीवनबाट मेहनत र सपनाले कुनै पनि लक्ष्य हासिल गर्न सकिन्छ भन्ने प्रेरणा लिन सकिन्छ । नेपालमा पेस्ट्री उद्योगको भविष्य उज्यालो बनाउन उनको प्रयास जारी छ ।
प्रतिक्रिया 4