१२ कात्तिक, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले मनोमानी ढंगले नयाँ ट्यांकर सञ्चालनको अनुमति दिएको बताउँदै व्यवसायीले पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आइतबार आपूर्ति मन्त्रालय र निगमलाई मागपत्र पेश गर्दै निर्णय खारेज नभए १५ मंसिरदेखि ढुवानी ठप्प पार्ने बताएका हुन् ।
निगमले ८ पुस ०७३ मा नयाँ पेट्रोलियम ढुवानी नियमावली जारी गरेको थियो । जेठ ०७४ सम्ममा करिब दुई सय वटा नयाँ ट्यांकरले अनुमति दिएको सूचना आफूहरुलाई प्राप्त भएको महासंघका कार्यवाहक अध्यक्ष गुणराज निरौलाले बताए । निगमबाट स्वीकृति पाएर कतिपय ट्यांकर सञ्चालनमा समेत रहेको महासंघको दाबी छ ।
खारेज गरिएका ट्यांकरसमेत सञ्चालनमा आएकाले तिनको तथा नयाँ स्वीकृति पनि खारेज गरिनुपर्ने महासंघको माग छ ।
यस्तै, ढुवानी नियमावलीको पूर्ण कार्यान्वयनमा महासंघले जोड दिएको छ ।
निगमले बिनासूचना मनमौजी ढंगले नयाँ ट्यांकर सञ्चालनको अनुमति दिएको निरौलाले बताए ।
हाल नेपालमा १८ सय ट्यांकरमार्फत् इन्धन ढुवानी हुँदै आएको छ ।
यसअघि सोही विषयलाई लिएर अख्तियारमा पनि उजुरी परेको थियो । आयोगले नियमावली बनाएर कानुनसम्मत अनुमति दिन निगमलाई निर्देशन दिएको थियो ।
नयाँ ट्यांकरको सञ्चालन अनुमति दिँदा सार्वजनिक सूचना जारी गरेर आवश्यकताका आधारमा मात्र स्वीकृति दिन अख्तियारले निगमलाई निर्देशन दिएको थियो ।
निगम आफैंले बनाएको नियमावली कुल्चेर अनुमति दिएको आरोप महासंघको छ ।
निगमका कार्यकारी निर्देशक खड्काले भने नयाँ ट्यांकरको अनुमति नदिइएको दाबी गरे । ‘नयाँ ट्यांकरलाई अनुमति दिइएको छैन,’ उनले भने ।
आपूर्ति मन्त्रालयले भने पछिल्लो पाँच वर्षमा दिइएको ट्यांकर ढुवानीको कागजात उपलब्ध गराउन निगमलाई निर्देशन दिएको छ ।
‘१ साउन ०६९ देखि कानुनबमोजिम र कानुनविपरीत तोक आदेशका भरमा कुन कम्पनीलाई, कुन मितिमा र कसको स्वीकृतिमा अनुमति दिइएको छ, त्यसको प्रतिवेदन १५ दिनभित्र मन्त्रालयमा पेश गर्न निगमलाई निर्देशन दिएका छौं,’ मन्त्रालय स्रोतले भन्यो ।
प्रतिक्रिया 4