३ पुस, पोखरा । आधा सस्तो मूल्यमा सामान पाउने लोभमा पोखराका बासिन्दा ठगिएका छन् । बजार मूल्यभन्दा झण्डै आधा दाममा सामान उपलब्ध गराउने बताउँदै करोडौं रुपैयाँ लिएर एक भारतीय नागरिक सम्पर्कविहीन भएका छन् ।
सिर्जनाचोकमा डेढ महिनाअघि एक भारतीय नागरिकले अक्सिजन ट्रेडर्स नाम दिएर त्यस्तो धन्दा शुरु गरे । अग्रिम पैसा बुझाएको साता दिनमा आधा छुटमा सामान उपलब्ध गराउने व्यापारीको जालमा सजिलै परे, स्थानीय बासिन्दा ।
अक्सिजन ट्रेडर्सको नामबाट राजेन्द्र थेङवे नाम बताउने भारतीय नागरिकले स्थानीयवासीको विश्वास जिते । विद्युतीय सामग्री, विभिन्न भाँडावर्तन, फर्निचरलगायत सामान बजार मूल्यभन्दा झन्डै आधामा उपलब्ध पनि गराए ।
तर, शुक्रबारदेखि थेङवेको विश्वासमा परेका स्थानीय बासिन्दाहरुको सातो उडेको छ । अहिले अक्सिजन ट्रेडर्स अघिल्तिर स्थानीय बासिन्दाको भीड लागेको छ । सस्तो मूल्यमा भाँडावर्तन पाउने लोभमा उनलाई पैसा बुझाएकाहरु ठगिएका छन् ।
उक्त पसल शनिबारदेखि बन्द छ । सोमबार पनि पसल अघिल्तिर ठगिएकाहरु जम्मा भएका छन् ।
पैसा कुम्ल्याएपछि भारतीय गायब !
एक हजारदेखि पाँच लाख रुपैयाँसम्म उनीहरुले ती भारतीयलाई बुझाएको खुलेको छ । मालेपाटनका टेक विक त्यसरी नै रकम बुझाउनेमध्येका हुन् । उनले घरायसी सामानका लागि पाँच हजार रुपैयाँ बुझाएका थिए ।
राष्ट्र बैंक चोकका रिजन नेपालले ३२ इन्चको एलजी टीभी खरिदका लागि २२ हजार रुपैयाँ अग्रिम बुझाए ।
‘पहिले सामान किनेकै हो । सस्तोमा पाइएपछि लोभ लागेर फेरि एक लाख रुपैयाँको सामान ल्याउन बुझाएकी हुँ । अहिले भाग्यो भनेपछि झस्किएँ,’ गृहिणी सगुन बरालले भनिन् ।
सस्तोमा सामान मिलाइदिने बहानामा ठगी धन्दा चलाएको बताउँदै उजुरी परेपछि प्रहरीले केही साताअघि थेङवेलाई पक्राउसमेत गरेको थियो । तर, आफूले नियमसंगत नै चलाएको उनको दाबी थियो । र, स्थानीयवासीले पनि उनीप्रति विश्वास छ भनेपछि प्रहरीले छाडेको थियो ।
थेङवेलाई प्रहरीले खोजी गरिरहेको छ तर उनी सम्पर्कबाहिर छन् । सामान उपलब्ध गराउन अग्रिम पैसा लिएको बिलमा सम्पर्क नम्बर छ तर फोन लाग्दैन । अधिकांशको सामान सोमबार आइपुग्ने भनिएको थियो ।
अग्रिम रकम बुझाउनेलाई प्यान र मोबाइल नम्बरसहित बिल पनि दिएका छन् । तर, उक्त प्यान बिलमा अर्कैको नाम देखिन्छ ।
प्रतिक्रिया 4