आधुनिकताको कुरा गर्नेले संस्कारलाई ‘आडम्बर’ भन्न सक्छन् । उनीहरुलाई ‘वाहियात’ लाग्न सक्छ । संस्कार भनेको त्यो कुरा हो, जसले जीवनलाई संयमित र अनुशासित बनाउन सहयोग गर्छ ।
संस्कारले संयमित जीवनशैली बाँच्न सिकाउँछ । जस्तोसुकै कठिन परिस्थितीमा पनि अविचलित रहन बल दिन्छ । संस्कारले जीवनलाई पथभ्रष्ट हुनबाट बचाउँछ । त्यसैले संस्कारलाई बुझेर आत्मसात गर्नुपर्छ ।
अहिले घरमा बुवाआमा वा हजुरबुवा-हजुरआमाले संस्कारको कुरा गर्दा बच्चाहरु त्यसलाई बेवास्ता गर्छन् । जब कुनैपनि घर-परिवारमा संस्कार हुँदैन, त्यहाँ अनुशासनहिनता बढ्छ ।
हरेक घर-परिवारको आफ्नै संस्कार हुन्छ । चालचलन हुन्छ । पुस्तौदेखि अंगाल्दै आएको यी संस्कारले परिवारलाई सही मार्गदर्शन दिइरहेको हुन्छ । अतः यस्तो संस्कार हामीले आफ्नो बच्चाबाटै सिकाउन सुरु गर्नुपर्छ ।
किन पथभ्रष्ट हुन्छन् बच्चाहरु ?
अहिले कतिपय अभिभावकको चिन्ता के हुन्छ भने, बच्चा हुर्कदै गएपछि कतै उनीहरुले बाटो बिराउने त होइन ? कुलतमा फस्ने त होइन ? हिंसात्मक गतिविधिमा लाग्ने त होइन ? कुबाटो समात्ने त होइन ?
यस्तो भय हुनु भनेको संस्कारहिनताको उपज हो । जब बच्चाले उचित संस्कार पाउँदैन, उनीहरु पथभ्रष्ट हुने भय रहन्छ । त्यसैले घर परिवारले बच्चालाई सही संस्कार दिनुपर्छ ।
बच्चालाई संस्कार सिकाउने पहिलो पाठशाला भनेको आमाबाबु नै हुन् । यदि आमाबाबुमा असल संस्कार छ भने बच्चाहरुले पनि त्यही सिक्छन् । त्यसैले आफ्ना बच्चाहरु संस्कारी भएनन् भनेर गुनासो गर्नुअगाडि आमाबाबुले आफ्नो आचरणमा ध्यान दिनु जरुरी हुन्छ ।
अनुशासित जीवनशैलीमा अभ्यस्त गराउने
बच्चालाई हामीले यस्तो कुरामा अभ्यस्त गर्नुपर्छ कि, जसले उनीहरुलाई अनुशासित जीवनयापन गराउन मद्दत गर्छ । यसमा उनीहरुको उठ्ने, सुत्ने, खाने, बस्ने, पढ्ने, खेल्ने सबै तालिका निश्चित हुनुपर्छ । सही समयमा सुत्ने, सही समयमा खाने, सही समयमा खेल्ने, सही समयमा पढ्ने कुरामा अभ्यस्त गराउनुपर्छ ।
त्यससँगै कसरी खाने, कसरी खेल्ने, कसरी पढ्ने भन्ने कुरा पनि सिकाउनुपर्छ ।
हुन त बच्चाले अहिले ‘टेबल म्यानर’बारे विद्यालयमा पनि सिकाइन्छ । टेबल म्यानर अर्थात खानपान शिष्टचार । शिष्टचारपूर्वक खान, कुरा गर्न, बस्न, व्यवहार गर्न सिकाउनुपर्छ । यसले उनीहरुलाई शिष्ट र सभ्य बनाउँछ ।
उपदेश होइन, उदाहरण बन्ने
यसरी संस्कार सिकाउनका लागि बच्चालाई उपदेश दिने होइन, उदाहरण बन्नुपर्छ । घरपरिवार नै संयमित र अनुशासित छ भने त्यसबो प्रभाव बच्चामा पर्छ । आमाबुवालाई देखेर उनीहरुले पनि सोहि संस्कारलाई पच्छ्याउँछन् । त्यसैले यसका लागि रोल मोडलको रुपमा बुवाआमाले नै भूमिका खेल्नुपर्छ ।
संस्कार सिकाउने वा अनुशासित बनाउने भन्दैमा उनीहरुमाथि कडाई गर्ने होइन । यसले गलत नतिजा दिन सक्छ । हामीलाई स्कुलमा अनुशासित बनाउने नाममा जुन कडाई गरिन्छ, त्यसले स्कुलप्रति नै वितृष्णा जगाउँछ । ठिक यसैगरी अभिभावकले पनि अनुशासनको नाममा अनावश्यक कडाई गर्दा त्यो पत्युत्पादक बन्न सक्छ ।
संस्कार सिकाउने, अनुशासन सिकाउने भन्ने कुरा पढाएर, घोकाए, कराएर, तर्साएर, उपदेश दिएर हुने कुरा होइन । उनीहरुलाई विस्तारै त्यस्तो कुरामा अभ्यस्त गराउनुपर्छ ।
नियम होइन, प्रेमको भाषा
केही आमाबाबु आफ्ना बच्चालाई कडा अनुशासनमा राख्नका लागि नियमले बाँध्न चाहन्छन् । तर, यसबाट बच्चा झन् उद्दण्ड हुन्छन् । बच्चाहरुसँग साथीजस्तो व्यवहार गर्नुपर्छ । विनम्रता दर्शाउनुपर्छ । बच्चाले बदमाशी गरेको खण्डमा गाली गर्ने, पिट्ने होइन, प्रेमपूर्वक सम्झाउनुपर्छ । यसबाट बच्चाहरुमा सकारात्मक भावनाको सञ्चार हुन्छ ।
उदाहरण प्रस्तुत गर्ने
बच्चाहरुको तपाईंहरुको हरेक क्रियाकलाप अबलोकन गरिरहेका हुन्छन् । र, त्यसैलाई पछ्याउने कोशिष गरिरहेका हुन्छन् । उनीहरुसामु तपाईंले असल आचरण प्रस्तुत गर्नु आवश्यक छ । झूटो नबोल्ने, अरुको सहयोग गर्ने, अरुलाई दुख नदिने, कसैको नकारात्मक कुरा नकाट्ने आदि व्यहोरा देखाइयो भने बच्चाले पनि त्यही सिक्नेछन् ।
आफ्नो गरिमामा बस्ने
बच्चा भनेका बच्चा नै हुन् । हरेक कुरामा नखरा गर्ने, बिना कारण रिसाउने, रोइदिने, उनीहरुको स्वभाव हुन्छ । उनीहरुको भावनालाई बुझिदिनुपर्छ । आवश्यकताअनुसार उनीहरुका अगाडि आफूलाई नरम र गरम बनाउनुपर्छ । यदि उनीहरु आफ्नो नियन्त्रणबाहिर जान लागेको महसुस भयो भने एकान्तमा राखेर राम्ररी सम्झाउनुपर्छ । सबैजनाको अगाडि गाली नगरौं । उनीहरु बिस्तारै सुध्रिनेछन् ।
प्रतिक्रिया 4