+
+

यस्ता छन् काँक्रोका अद्भूत फाइदा

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २६ गते १३:४२

‘रत्नमा हीरा, तरकारीमा खिरा’ भन्ने त उखानै छ । खिरा अर्थात् काँक्रो । काँक्रो यस्तो फल हो, जुन बजारमा वर्षैभरि पाइन्छ । यो नेपाली जनजीवनमा भिजेको खान्की पनि हो ।

काँक्रो चिरा पारेर नुन, खुर्सानी दलेर खानुको मज्जा नै बेग्लै । काँक्रोको प्रयोग अचार र सलादमा बढी हुन्छ । काँक्रोको पातलो गोलाकर पत्रलाई दुवै आँखामा राखेर एकखालको फेसियल थेरापी पनि गर्ने गरिन्छ ।

खानामा स्वादिलो र स्वास्थ्यका लागि फाइदाजनक काँक्रोमा करिब ९० प्रतिशत पानी हुन्छ । सोही कारण गर्मी याममा मानिस शरीरमा पानीको कमी हुन नदिन काँक्रो खाइरहेका हुन्छन् ।

नियमित रुपमा काँक्रो खाने हो भने मुहार चाउरी पर्दैन । यसले अनुहारलाई मोइस्चराइज गराउनुका साथै छालालाई डढ्नबाट बचाउँछ । भिटामिन, मिनरल्सलगायत पोषणतत्वयुक्त काँक्रोका यस्ता अनेकौं फाइदा छन्, जसबारे हामी अझै अनभिज्ञ छौं । जानौं, काँक्रोका फाइदाः

तौल कम गर्छ

फाइबरयुक्त काँक्रोमा पानीको मात्रा बढी र क्यालोरी कम हुन्छ । भोजनमा काँक्रोको मात्रा बढाउने मानिसको शरीरमा अतिरिक्त तौल बढ्दैन ।

मध्यान्हमा काँक्रो खानूस्, भोक लाग्दैन । तपाईंको भोकलाई काँक्रोले नै खाइदिन्छ, जसले गर्दा शरीरमा क्यालोरी बढ्न पाउँदैन र तौल कम हुन थाल्छ ।

यसैगरी काँक्रोमा पाइने भिटामिन ए, बी र सीले शरीरमा शक्ति प्रदान गर्नुका साथै पाचन प्रक्रियालाई मजबुत बनाउँछ । काँक्रोमा पाइने सिलिकनले जोर्नी तथा शरीरका कोषिका मजबुुत बनाउन मद्दत गर्छ ।

क्यान्सरविरुद्ध लड्छ

काँक्रोमा क्याफिक, कुकुरविटासिन्स, लुटेन, फिस्टिनलगायत तत्व हुन्छन्, जसले स्तन, ओभरी, प्रोस्टेट र पाठेघरको क्यान्सर हुनबाट बचाउँछन् । काँक्रोमा एन्टिअक्सीडेन्टको मात्रा हुने भएकाले यसले शरीरका टक्सिन बाहिर निकाल्छ र क्यान्स सेल्स बढ्न दिँदैन ।

मधुमेह र रक्तचाप हुन दिँदैन

काँक्रोमा प्रशस्त मात्रामा पोटासियम, सिलिकनलगायत मिनरल्स हुन्छन्, जुन शारीरिक विकासका लागि आवश्यक छन् । काँक्रोमा पाइने फाइबर, म्याग्नेसियम र पोटासियमले रक्तचाप नियन्त्रित राख्न मद्दत गर्छ । काँक्रोको जुस मधुमेहका लागि पनि फाइदाजनक छ । यसले पेंक्रियाटिक कोषिकालाई इन्सुलिन उत्पादन गर्न सघाउँछ ।

मृगौला रोगबाट बचाउँछ

पानीले भरिपूर्ण काँक्रोले विषाक्त तत्वलाई हाम्रो शरीरबाट बाहिर फाल्ने मात्र नभई मृगौलाको पत्थरीलाई गायब पार्नसमेत मद्दत गर्छ । यसलाई गाँजरसित मिसाएर खाएमा युरिक एसिड कम गरी गाउट तथा आर्थराइटिसको दुःखाइ कम गर्छ । काँक्रोले युरिक एसिड कम गर्ने भएकाले त्यसका कारण हुन सक्ने मृगौलासम्बन्धि समस्याबाट समेत बचाउँछ ।

दाँत बलियो बनाउँछ

काँक्रोलाई राम्रोसित चपाएर खाएमा दाँतलाई ताजा तथा सफा राख्नुका साथै गिजा सुन्निनबाट बचाउँछ । काँक्रोमा पाइने साइटोकेमिकल्सले मुखमा रहेका ब्याक्टेरिया नष्ट गर्छ, जसका कराण मुखबाट गन्ध आउन बन्द हुन्छ ।

ह्याङ्ओभर हटाउँछ

काँक्रोमा हुने भिटामिन-बी, इलेक्ट्रोलाइट्स तथा चिनीले टाउको दुख्ने समस्याबाट आराम दिन्छ । यसले ‘ह्याङओभर’ -धङधङी)बाट बचाउँछ । यदि साँझमा मदिरा अत्यधिक पिउनु भएको छ भने केही चिरा काँक्रा खानूस्, अर्को दिन ह्याङ्ओभर हुँदैन ।

कपाल र नङ चम्काउँछ

सिलिकन तथा सल्फरयुक्त काँक्रोले कपाल र नङलाई भरपूर मात्रामा पोषकतत्व प्रदान गर्छ । यसले नङ तथा कपाल बढाउनसमेत मद्दत गर्छ ।

डार्क सर्कल हटाउँछ

काँक्रोमा एन्टि-इन्फ्लामेन्टरी तत्व पाइन्छ, जसले अनुहारको डार्क सर्कल हटाउन मद्दत गर्छ । काँक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ । यसलाई पातलो स्लाइसमा काटेर आँखाको दुवैपट्टी लगाएको खण्डमा आँखाबाट कालो दाग हटेर जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?