माइक्रो ब्लगिङ साइट ट्विटरले बुकमार्क फिचर थपेको छ । यो फिचरका कारण ट्विटरका ३० करोड भन्दा बढी प्रयोगकर्ताले उनीहरुलाई मन परेको ट्विट सेभ गर्न, पछि पढ्ने गरी राख्न र सेयर गर्न सक्नेछन् ।
हरेक ट्विटरमा राखिएको सेयर आइकनमार्फत प्रयोगकर्ताले ट्विट बुकमार्क गर्न सक्नेछन्, डाइरेक्ट म्यासेजमार्फत अरुलाई पठाउन सक्नेछन् ।
‘हामीले सबै सेयरिङ एक्सनहरु एकै ठाउँमा राखिदिएका छौं, यसले ट्विटहरु तत्कालै वा पछिका लागि सेभ गर्न र सेयर गर्न सजिलो बनाउनेछ’ ट्विटरका प्रडक्ट म्यानेजरले बिहीबार आफ्नो ब्लगपोस्टमार्फत भनेका छन् ।
कसरी गर्ने प्रयोग ?
यो फिचर प्रयोग गर्न धेरै सजिलो छ । यो फिचर ट्विटको ठीक तल ‘सेयर’ टुल नजिकै भेट्न सकिन्छ। ट्विटलाई बुकमार्क गर्नका लागि सेयर बटनलाई ट्याप गरेर ‘एड ट्विट टु बुकमार्क’ मा सेलेक्ट गर्नुपर्नेछ ।
बुकमार्क गरेका ट्विटलाई पछि फेला पार्नका लागि तपाईको प्रोफाइल आइकनहरुमा बुकमार्कमा हेर्न सक्नुहुन्छ । बुकमार्क गरिएको ट्विटर जतिखेर पनि हटाउन सकिनेछ वा बुकमार्क गरिएका ट्विट हेर्नमात्रै पनि सकिनेछ ।
बुकमार्क फिचर संसारभरका ट्विटर प्रयोगकर्ताले चलाउन सक्नेछन् । आइओएस, एन्ड्रोइड, ट्विटर लाइट र मोवाइलमा ट्विटर चलाउनेहरुले समेत यो फिचर चलाउन सक्नेछन् । ट्विटरले सन् २०१७ को अक्टोबरमा नै बुकमार्क फिचरको तयारी गरिरहेको जानकारी दिएको थियो ।
प्रतिक्रिया 4