हास्य अभिनेत्री दीपाश्री निरौला अहिले सत्रु गते रिलिज हुने प्रतिक्षामा छिन् । यो फिल्म भोलीबाट देशभर रिलिज हुँदैछ । पछिल्लो समय फिल्म निर्देशकका रुपमा समेत आफूलाई चिनाएकी दीपाश्री अहिलेसम्म अविवाहित छिन् । उनलाई सबैभन्दा धेरै सोधिने प्रश्न हो, विवाह कहिले गर्ने ?
अनलाइनखबरसँगको कुराकानीमा उनले यस्तो प्रश्नबाट आजित बनेको संकेत गरिन् । अरु पनि रमाइला कुरा गरेकी छिन् । पढौं उनीसँगको फन्टुस प्रश्नोत्तर:
आँखा अगाडि एकाएक भगवान प्रकट भएमा के बरदान माग्नुहुन्छ ?
मलाई जसले पनि बिहे कहिले गर्ने भनेर सोध्छन् । प्लिज भगवान मलाई मिल्ने केटा कहाँ छ देखाइदिनु पर्यो भन्थेँ ।
तपाई प्रधानमन्त्री बन्नु भयो भने उप-प्रधानमन्त्री कसलाई बनाउने ?
दिपकजी (दिपकराज गिरी) लाई नै बनाउँछु । हाम्रो ट्यूनिङ मिल्छ नि त ।
अर्काको श्रीमानलाई लिएर साताब्यापी चन्द्रमा भ्रमण गर्नुपर्ने प्योकज तपाईलाई चिट्ठा पर्यो भने ?
कसलाई लानु खै । आफ्नै श्रीमान त नभेटेको बेला अर्काको श्रीमान कताबाट खोज्नु ?
कम्युनिस्ट सरकार आएको छ, रुन प्रतिबन्ध लगायो भने ?
केटी मान्छेले रुन पाएनन् भने त झन् गार्हो हुन्छ । साँच्चै रुन प्रतिबन्ध लगाइयो भने त नाक, कान र मुखबाट बर्बरी आँशु आउँथ्यो होला ।
तपाई कलाकार नभएर पहलमान भएको भए कोसँग भिड्नु हुन्थ्यो ?
मलाई त सबैले माया गर्छन् । त्यस्तो भिड्न र्ने मान्छे नै भेट्या छैन । म जस्तै अर्को कुनै महिला पहलमानसँग भिड्थेँ ।
नेपालले विश्वकप फुटबलको उपाधि जित्यो भने कसरी सेलिब्रेट गर्नुहुन्छ ?
एकदमै ठूलो फुटबल किन्थेँ र त्यसमा सबै खेलाडीको नाम लेख्थेँ । अनि खेलाडीको बीचमा बसेर ग्रुप फोटो खिच्थेँ । त्यो फोटो फेसबुकमा भाइरल बनाउथेँ ।
कोमल वलीलाई मिल्दो वर को हुनसक्छ ?
कोमल दिदी एकदमै ट्यालेन्ट हुनुहुन्छ । यदि केटा भएको भए म आफैं बिहे गर्थेँँ । अब राजनीतिमा छिर्नुभएको छ । उतै भेटिन्छ । हाम्रो क्षेत्रमा छैन ।
तपाईले देखेको सबैभन्दा हाँसो उठ्दो मान्छे ?
राजाराम पौडेल ।
मरेर भूत हुनुभयो भने को-कोलाई तर्साउनुहुन्छ ?
मैले तर्साउनुपर्ने मान्छे नै छैन भन्या । अहिलेसम्म मलाई कसैले गाली गरेको भए पो तर्साउनु, सबैले माया गर्नुहुन्छ ।
पशुपतिका बाँदर र तपाईमा के फरक छ ?
त्यो बोल्न सक्दैन, म बोल्न सक्छु । उसको खुट्टा चारवटा छ मेरोे दुईवटा । तर, बद्मासीको कुरा गर्नुहुन्छ भने पशुपतिको बाँदरले जति बद्मासी गरेको छ मैले पनि त्यति नै गरेको छु ।
तपाईले बर्थ डे पार्टी दिनु भो, तर पर्स हराएछ भने ?
त्यस्ता कुरामा चिन्ता छैन । अघाउन्जेल खान्छौं, बिल मगाउछु र अन्तिममा भन्छु, ल मेरो पर्स हराएछ जोसँग पैसा छ उसैले तिर ।
बिहान उठ्दा ओठमा जुँगा उम्रिएको देख्नु भो भने ?
मस्तले सेल्फी खिच्छु र साथीहरुलाई पठाउँछु । अहिल्यै त्यस्तो भो भने त ‘शत्रुगते’ को नयाँ पोस्टर आयो है भन्दै सन्देश पठाउँछु ।
पृथ्वी ध्वस्त भयो र तपाईं मात्रै बाँच्नु भो भने ?
अब म कसरी बाँच्ने भनेर सोच्दासोच्दै मर्छु होला ।
केटीहरुले सेल्फी खिच्दा किन मुख चुच्चो पारेका होलान् ?
मुख चुच्चो पारेन भने सेल्फी हो भनेर चिनिदैन नि त । अर्को कुरा केटीहरु आफुलाई राम्री देखाउन पनि मुख चुच्चो बनाउँछन् ।
प्रतिक्रिया 4