९ वैशाख ,काठमाडौं । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको नाफा सम्बन्धि सूचना चुहिन थालेपछि नेप्से परिसूचक लगातार बढ्दो क्रममा देखिएको छ । गत साताको सुरुवातमै आठ वाणिज्य बैंकको नाफाको खबर चुहिएको थियो । हालसम्म पाँच वाणिज्य बैंकको मात्रै तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक भएको छ । सूचना चुहिएका आठ मध्ये तीन बैंकको वित्तीय विवरण सार्वजनिक भएको हो भने सबैको नाफा लगभग मिलेको छ ।
सूचना चुहिदा सिटिजन्स बैंक, सानिमा बैंक र सिद्धार्थ बैंकको नाफा क्रमशः एक अर्ब २ करोड, एक अर्ब २२ करोड र एक अर्ब २५ करोड रुपैयाँ भएको खबर आएको थियो । कम्पनीहरुको वित्तीय विवरणमा भने नाफा क्रमशः एक अर्ब, एक अर्ब २० करोड र एक अर्ब २२ करोड रुपैयाँ भएको उल्लेख छ ।
बजार ग्लोबल आइएमइ, एनएमबी, नेपाल बैंक, सिभिल बैंक र जनता बैंकको नाफाको सूचना पनि चुहिएको थियो । सूचना अनुसार यीनको नाफा क्रमशः एक अर्ब ४२ करोड, एक अर्ब ५० करोड, दुई अर्ब ५५ करोड , ५० करोड र ६५ करोड रहेको छ ।
बजारमा नाफा घाटाको प्रक्षेपण हुुनु नौलो विषय होइन तर नेपाली बजारमा भने सूचना नै चुहिने गरेको छ । यसपटक बजार निकै घटेकोले अहिले बैंकहरुले कमाएको नाफा दरले सेयर किन्दा फरक नपर्ने भन्दै मूल्य बढेर पनि सेयर किन्ने क्रम गत साताबाट शुरु भएको थियो ।
बैंकहरु सञ्चालक समितिमा सेयरधनीहरु रहने, बैंकका कर्मचारीहरु पनि सेयर कारोबारमा आबद्ध हुने गरेको कारण बजारमा यस्ता सूचना चुहिने गर्दै आएको छ । तर, नियामक निकायले यसमा सुक्ष्म निगरानी गर्न सकेको छैन ।
आइतबार नेप्से परिसूचकमा भएको ५० अंकको वृद्धि सहित नौ दिनमा नेप्सेले एक सय ६८ अंक जोडेको छ । नेप्से परिसूचक १४३८ विन्दुमा छ । कारोबार रकम एक अर्ब २३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा आएका सबै समूहको परिसूचकमा सुधार भएको छ । नेप्से बढ्न प्राविधिक आधार पनि देखिएको छ । नेप्सेले हालै उल्टो ‘हेड एण्ड सोल्जर’ आकृती बनाएको छ ।
प्रतिक्रिया 4