+
+

बालबालिकाका लागि अपरिहार्य सामाजिक व्यवहार, तर कसरी सिकाउने ?

गणेश दाहाल गणेश दाहाल
२०७५ वैशाख २७ गते १४:०६

हामीले हाम्रो विद्यालय काव्य स्कुलमा चुनावी अभ्यास गरायौं । यसमा बालबालिकाहरू सम्मिलित भए । उनीहरू नै उम्मेद्ववार, उनीहरू नै मतदाता, उनीहरू नै स्वयंसेवक, उनीहरू नै पर्यवेक्षक बने ।

सामान्यतः यसो गर्नुको पछाडि विद्यालयको मनिटर, क्याप्टेन छनौट गर्नु मात्र थिएन, बालबालिकालाई संसदीय व्यवस्था, निर्वाचन प्रणाली आदिबारे प्रत्यक्ष जानकारी दिलाउनु थियो । खासमा सोशल स्टडिज अर्थात् ‘सामाजिक अध्ययन’ विषयअन्तर्गत यो एउटा प्रयोगात्मक विधि पनि थियो ।

सोशल स्टडिज जसलाई विगतको जस्तो सामाजिक शिक्षा भनिँदैन, त्यो आफैंमा महत्वपूर्ण विषय हो । अझ अहिलेको सन्दर्भमा त ‘सामाजिक अध्ययन’ अपरिहार्य नै भएको छ । किन त ?

किनभने, अहिले जो नयाँ पुस्ता छन्, उनीहरू सामाजिक जीवनबाट विमुख भइरहेका छन् । जब कि हामी सामाजिक प्राणी हौं । एकआपसमा दुःखसुख साझेदार गरेर, सहयोग आदानप्रदान गरेर, खुसी-उत्सव मनाएर, आपसी सद्भाव र सहकार्य गरेर बाँच्नुपर्ने मानवीय स्वभाव हो । यस्तो अवस्थामा हामी समाजभन्दा टाढा रहन सक्दैनौँ । समाजबाट अलग रहन सक्दैनौँ । हामी समाजसँग एकाकार भएर, समाजमै घुलमिल भएर बाँच्नुपर्छ ।

तर, कस्तो जटिलता ?

हामी सामाजिक प्राणी भन्छौँ र समाजसँग घुलमिल भएर बस्नुपर्छ भन्छौँ । तर, समस्या कहाँ छ भने हामीले हुर्काउँदै गरेका बालबालिकाहरू सामाजिक जीवनबाट विमुख हुँदै छन् । विमुख भएका होइनन्, विमुख बनाइँदै छ । यसमा हामी आमाबुबा जिम्मेवार छौँ ।

अहिले धेरैजसो घरमा एकल सन्तान हुर्किरहेका छन् । विगतमा ‘दुई सन्तान, ईश्वरको वरदान’ भनिन्थ्यो । अहिले त्यो संख्या पनि घटेर एउटा मात्र बच्चामा चित्त बुझाउने समाज निर्माण भएको छ । आमाबुबाको कोणबाट यो तरिका ठीक पनि लाग्छ ।

तुलनात्मक रूपमा धेरै सन्तानलाई स्याहार्नु, हुर्काउनु, पढाउनु खर्चिलो एवं झन्झटिलो हुन्छ । जब कि एउटा बच्चा हुर्काउनका लागि अभिभावकलाई धेरै व्ययभार पर्दैन । बोझिलो हुँदैन ।

बच्चाको कोणबाट हेर्ने हो भने यो राम्रो मानिँदैन । घरमा एउटा मात्र बच्चा छ भने उनीहरू एक्लो हुन्छन् । उनीहरूको खेल्ने साथी हुँदैनन् । आफू समानका साथी नभएपछि उनीहरू एक्लिन्छन् ।

जब बालबालिका एक्लिन्छन्, उनीहरूलाई आफ्नो मन बहलाउनका लागि मोबाइल चाहिन्छ । टेलिभिजन चाहिन्छ । खेल्ने साथी नभएपछि उनीहरू मोबाइलमा गेम खेलेर समय कटाउँछन् । टिभीमा कार्टुन हेरेर आफूलाई भुलाउँछन् ।

अहिलेको अवस्था के छ भने, शहरी क्षेत्रमा बालबालिकाहरूलाई खेल्ने ठाउँ छैन, उप|mने चौर छैन, कुद्ने पाखो छैन । टोलमा साथीहरू पनि पाइँदैनन् । त्यसैले उनीहरू घरभित्रै बस्छन् । एउटा कोठाभित्र बसेर कम्प्युटर, ल्यापटप, मोवाइलमा गेम खेल्छन् । आमाबुबालाई त लाग्न सक्छ, ‘मेरो बच्चाले लुगा फोहोर बनाएन । लड्ने, चोट लाग्ने डर भएन । छिमेकका छोराछोरीसँग झगडा गरेन ।’ तर, यस विपरीत बालबालिकाहरू कोठाभित्र खुम्चिएर बस्दा उनीहरूमा सामाजिक भावनाको विकास हुन पाउँदैन ।

सामाजिक जीवन बाँच्न सिकाउने

तपाई/हामीले अनुभव गरेकै छौँ कि, बालबालिकालाई आफूजस्तै साथीहरू चाहिन्छन् । उनीहरूले आफ्नो उमेर समानका दौँतरी खोज्छन् । यसरी एकअर्कासँग खेल्ने क्रममा उनीहरूले धेरै कुरा सिक्छन्, बुझ्छन् । बच्चासँग बच्चा नै साथी छ भने उनीहरूले आमाबुबा खोज्दैनन् । मोबाइल खोज्दैनन् । टेलिभिजन खोज्दैनन् । एकअर्कासँग खेलेर, उपि|mएर, झगडा गरेर -बच्चाबीचको झगडालाई सामान्य मान्नुपर्छ) समय कटाउँछन् । यसले प्रत्यक्ष रूपमा धेरै कुरामा फाइदा मिलिरहेको हुन्छ ।

बालबालिकाहरू आपसमा रमाउँछन् । खुसी हुन्छन् । उनीहरू खेल्ने कुरा, खानेकुरा साझेदार गर्छन् । यसले उनीहरूमा सहकार्यको भावना विकास हुन्छ । खेल्ने क्रममा कसले राम्रो गर्ने भन्ने वा कसले राम्रो बनाउने भन्ने हुन्छ । यसले प्रतिस्पर्धाको भावना विकास हुन्छ । एकअर्कासँग मिल्नु, जुध्नु, सहयोग आदनप्रदान गर्नु सिक्छन् ।

सामाजिक व्यवहार कति आवश्यक ?

अहिलेका बालबालिकाहरूलाई हामीले पढाएका छौँ । सफासुग्घर राखेका छौँ । सुकिलो-मुकिलो बनाएका छौँ । बालबालिकाहरूले राम्ररी पढिरहेका होलान् । परीक्षामा राम्रै नतिजा पनि हासिल गरिरहेका होलान् । तर, सामान्य जीवनयापनका कुराहरू कति जानेका छन् त ?

के उनीहरू घरमा आएको नव आगन्तुकलाई हार्दिकतापूर्वक स्वागत गर्छन् ? बाटोमा भेटिएका कुनै अनाथ साथीलाई सहयोग गर्छन् ? घरमा आमाबुबाको काममा सहयोग गर्न तत्पर हुन्छन् ?

बालबालिकालाई हामीले व्यावहारिक जीवन बाँच्न सिकाउनुपर्छ । उनीहरूलाई खान, बस्न, शिष्टाचार पालन गराउन, सहयोग गर्न, सहकार्य गर्न, प्रतिस्पर्धा गर्न सिकाउनुपर्छ । सामाजिक भावनाको विकास गराउनुपर्छ ।

हामीले हाम्रो स्कुलमा बालबालिकाको जन्मदिन मनाउने फरक विधि अपनाएका छौँ । जुन बच्चाको जन्मदिन हो, उसले चकलेट किनेर बाँड्ने होइन । बरु चकलेट किन्ने पैसा जम्मा गर्न लगाउँछौँ । उनीहरूले आफ्नो जन्मदिनको मेसोमा बचत गरेको पैसा कुनै सामाजिक सेवामा खर्चन लगाइन्छ । भलै यी काम सामान्य लाग्छ । यद्यपि यिनै स-सना कामले उनीहरूमा सामाजिक भावनाको विकास गराउँछ ।

अहिलेका बालबालिकाहरूलाई विद्यालयमा होस् वा घरमा, सामाजिक आचरण सिकाउनुपर्छ । कहिले सामाजिक काममा लगाउने, कहिले आफन्तकहाँ लाने, कहिले साथीभाइसँग घुलमिल गराउनेजस्ता काम गर्नुपर्छ । यस्ता कुराले उनीहरूलाई सामाजिक जीवन बाँच्न सिकाउँछ ।

सामाजिक अध्ययन विषयले पनि बालबालिकाहरूलाई सामाजिक जीवनयापनबारे प्रयोगात्मक रूपमा सिकाउँछ । तर, यसलाई प्रयोगात्मक बनाउनका लागि पाठ्यक्रम घोकाएर मात्र पुग्दैन, उनीहरूलाई फिल्डमा लगेर सिकाउनुपर्छ । त्यसो भएमा उनीहरू सामाजिक जीवनबाट विमुख हुने खतरा रहँदैन ।

(लेखक नयाँ बानेश्वरस्थित काव्य स्कुलका सामाजिक शिक्षक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?