बुटवल, ९ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन् ।
निर्माणाधीन विमानस्थलको बुधबार अनुगमन पश्चात पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री अधिकारीले निजि क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न नदिए हवाई सेवा प्रतिस्पर्धी बनाउन नसकिने बताए ।
उनले आउँदो वर्ष विमानस्थल सञ्चालनमा आउने गरी काम अगाडि बढाउन आफूले निर्देशन दिइसकेको र १५-१५ दिनमा निर्माणाधीन विमानस्थलको अनुगमन गरिनेे बताए ।
‘हवाइ रुटको बारेमा छलफल भइरहेको छ, विमानस्थलको निर्माण कार्य सम्पन्न हुनु अगावै रुटको कुरा टुंगिन्छ’ उनले भने, ‘सुरुमा पुरानो टर्मिनलबाट काम सुरु गर्छौ, काठमाडौंको विकल्पको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ ।’
विमानस्थल निर्माण कार्यलाई तीव्रता साथ अगाडि बढाउन आवश्यक उपकरण थप्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री अधिकारीसंगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्मा, रुपन्देही क्षेत्र नं. ३ (१) का प्रदेशसभा सांसद सन्तोषकुमार पाण्डेय लगायतले निर्माणाधीन विमानस्थलको अनुगमन गरेका थिए ।
प्रतिक्रिया 4