
७ असार, काठमाडौं । काठमाडौंको मुलपानीमा लुटेरा र प्रहरीबीच मुठभेड भएको छ । महानगरीय अपराध महाशाखाको टोली र लुटेरा खुँडे भनिने अमरबहादुर तामाङबीच मुठभेड भएको हो ।
प्रहरी टोलीमाथि तामाङले आक्रमण गर्न खोजेपछि प्रहरीले दुई राउण्ड गोली चलाएको महाशाखाका वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार तामाङको खुट्टामा गोली लागेको छ ।
घाइते तामाङलाई वीर अस्पताल लगिएको सिंहले बताए ।
‘लुटपाटमा संलग्न तामाङ बौद्ध एरियामा लुकेर बसेको सूचना पाएपछि हाम्रो टोली यहाँबाट मुभ भएको थियो’, उनले भने, ‘त्यहाँ पुगेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको हो ।’
घटनास्थलबाट एउटा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली बरामद भएको छ । त्यस्तै, १२ सय अमेरिकी डलर र ८ बण्डल नोटको आकारको कागजसमेत बरामद भएको महाशाखाले जनाएको छ ।
खुँडे भनेर अपराधिक दुनियाँमा चिनिने तामाङ डाँका मुद्दामा यसअघि कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्
को हुन् तामाङ ?
खुँडे भनेर अपराधिक दुनियाँमा चिनिने तामाङ डाँका मुद्दामा यसअघि कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् ।
उनी डाँका मुद्दामा पक्राउ परेर दुई वर्ष कैद सजाय भुक्तान गरी छुटेका थिए । तर, उनले पुरानै धन्दालाई निरन्तरता दिए ।
पछिल्लो समय २४ जेठमा उनले डलर साट्ने भन्दै बोलाएर एक व्यक्तिको साथबाट १९ लाख ६० हजार रुपैयाँ लुटेका थिए ।
ताप्लेजुङको फुङलिङ–१ घर भइ हाल काठमाडौं–१४ बस्दै आएका २५ वर्षीय वीरेन तामाङलाई हतियार देखाएर उनीसहित ४ जनाको समूहले लुटपाट गरेका थिए । समूहका ३ जना अझै फरार छन् ।
उनले बीचमा कागज, छेउछेउमा डलर राखेर रुमालको पोको देखाउँदै वीरेनलाई झुक्याएर लुटेको प्रहरीले जनाएको छ ।
त्यस्तै, उनले २८ जेठमा काठमाडौंको कपनस्थित संयुक्त पार्कमा ताप्लेजुङको फुललिङ नगरपालिकाका राजकुमार बानियाँको साथबाट ४ लाख ९० हजार रुपैयाँ लुटेका थिए ।
सोही दिन उनले भक्तपुरको सूर्यबिनायकस्थित जंगलमा स्याङ्जा चापाकोट–१४ घर भएर हाल चितवनको रत्ननगर–१ बस्दै आएका राज भण्डारीलाई समेत लुटेका थिए । भण्डारीको साथबाट उनले ८ लाख रुपैयाँ लुटेका थिए ।
डलर साट्ने भन्दै बोलाएर हतियार तथा पेस्तोल देखाउँदै लुट्ने खुँडे समूहको शैली थियो ।
प्रतिक्रिया 4