७ साउन, रामेछाप । सडक विस्तारको नाममा सडक डिभिजन कार्यालयले बाटो भत्काएर त्यत्तिकै छाडेपछि सदरमुकामको सडक धान रोप्न ठिक्क पारेको खेतजस्तै भएको छ ।
मन्थलीको रणजोर खोला पुलदेखि बिपीचोकसम्मको सडक विस्तार गर्ने भन्दै सडक डिभिजन कार्यालयले असारको पहिलो हप्ता भत्काएको थियो ।
असारको पहिलो हप्ता सडक भत्काएपछि सडक डिभिजन कार्यालयले सडकको काम त्यत्तिकै अलपत्र छाडेको छ । सडक भत्काउँदा पुरानो नाली तथा पिच गरिएको सडक पुरिएको छ । नाली पुरिएको कारण नालीको पानी बीच सडकबाट नै बगेको छ । जसले गर्दा बाटो हिलाम्य भएको छ ।
यस सडकमा गाडी गुड्न तथा पैदलयात्रीहरुलाई यात्रा गर्न निकै कठिन भएको छ । आसपासका स्थानीयलाई पानी पर्दा हिलो र घामलाग्दा धुलोले बस्न र बाहिरफेर निस्कन समेत कठिनाइ भएको छ ।
सडक भत्काएको डेढ महिना बित्दा पनि निर्माणको काम सरु नगर्दा स्थानीयको जनजीवन अस्तव्यस्त भएको स्थानीय शिवध्वज कार्कीले बताए ।
‘बाटो भत्काएर अलपत्र पारेको छ । नालीको पानी सडकमा बग्छ । सडकबाट वार पार गर्न पनि नसकिने अवस्था छ । सडक डिभिजनलाई भनियो, मेयरलाई पनि भनियो तर काम अघि बढेन’, उनले भने ।
सडक विस्तार र नाली निर्माणको नाममा सडक भत्काउँदा सडक मात्र भत्किएको छैन, स्थानीय किसानहरुको खेतमा पानी लगाउने कुलोसमेत भत्किएको छ । सडक खन्दा भत्किएको कुलो समयमानै मर्मत नहुँदा किसानहरुले खेत रोप्न समेत पाएका छैनन् ।साउनको पहिलो हप्ता वित्दा पनि रोप्न नसकेको स्थानीय कृषक लोकबहादुर श्रेष्ठले बताए ।
‘लगातार ७ दिन लगाएर बल्ल कुलो बनाइयो । धान रोप्न ढिला भयो । त्यसको लागि पनि सीडीओ नै गुहार्नुपर्यो’, श्रेष्ठले भने ।
सडक भत्काइएपछि रणजोर खोला पुलदेखि मदनभण्डारी चोकसम्म सडक भत्काइँदा सो क्षेत्र मात्र हैन मन्थली बजार क्षेत्रलाई नै सो बाटोले धुलाम्य पारेको छ । यसैगरी वर्षाको भलले ल्याएको माटोको व्यवस्थापन हुननसक्दा मन्थली बजार अस्तव्यस्त बनेको छ ।
सडक भत्काएर हिँडेका सडकका कर्मचारीहरु पुन: मन्थलीमा फर्किएका छैनन् । रामेछापमा सडकको कार्यालय नहुँदा स्थानीयले गुनासो गर्ने ठाउँ समेत पाएका छैनन् ।
प्रतिक्रिया 4