१२ मंसिर, ककनी । नेपाली काङ्ग्रेसको विधान केन्द्रित जिल्ला सभापतिहरुको भेला नुवाकोटको ककनीमा सुरु भएको छ ।
भेलामा ५८ देखि ६० जिल्ला सभापति सहभागी भएका र केही जिल्लाबाट आउने क्रममा नै रहेको नुवाकोट जिल्ला सभापति जगदिशनरसिंह केसीले जानकारी दिए ।
भेलामा पार्टीको संशोधित विधानमा केन्द्रित भएर छलफल गर्ने तयारी छ । त्यस्तै सरकारका काम कारबाहीका विषयमा एकढिक्का भएर प्रस्तुत हुन र प्रतिक्रिया दिन केन्द्रीय नेतृत्वलाई भेलामार्फत दबाब पनि दिने केसीले बताए ।
राष्ट्रिय राजनीति र पार्टीभित्रका अन्य विषयमा पनि जिल्ला सभापतिहरुले बुधबार र विहीबार धारणा राख्नेछन् । बिहीबार दिउँसो ककनी घोषणापत्र जारी गरी जिल्ला सभापतिहरुको भेला सकिने केसीले जानकारी दिए ।
‘विगतमा भएका गल्ती कमजोरी सबैले स्वीकार गरेर अगाडि जानुपर्छ’ केसीले भने ‘यो गुटभन्दा बाहिरको र स्वतन्त्र भेला यो । अधिकांश जिल्ला सभापतिहरुको सहभागिता हुन्छ ।’
नेपाली कांग्रेसको विधान मस्यौदा संशोधन समितिले केन्द्रीय समितिमा फरकमत सहित प्रतिवेदन पेस गरेको छ । उक्त प्रतिवेदनमा पदाधिकारीको संख्यादेखि सदस्यताका विषयसम्म फरक मत छन् ।
ती फरक मतका सन्दर्भमा मंगलबार नै केन्द्रीय सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले छुट्टाछुट्टै भेला गरेकै दिन जिल्ला सभापतिहरुको भेला आयोजना गरिएको हो ।
प्रतिक्रिया 4