१७ मंसिर, काठमाडौं । काठमाडौंको टेकुमा ६ दिनअघि भएको ‘हिट एण्ड रन’ घटनामा संलग्न सवारीधनी ६ दिनपछि पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी नेतृत्वको टोलीले घटनामा संलग्न ओमिनो कार्गो भ्यानसहित चालक ३६ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
सोमबार दिउँसो काभ्रेपलाञ्चोकको बनेपा–८ बाट बा १५ च ३२९३ नम्बरको भ्यानसहित श्रेष्ठलाई पक्राउ गरेर काठमाडौं ल्याइएको परिसरले जनाएको छ ।
यसअघि ११ मंसिरमा टेकुमा अज्ञात सवारी साधनले राति २ः५२ बजे ठक्कर दिँदा महेन्द्रनगरका १८ वर्षीय जीवनबहादुर सिंहको मृत्यु भएको थियो । सिंह नेपाल प्रहरीका स्वर्गीय हवल्दार चक्रबहादुर सिंहका छोरा हुन् ।
उनी ०५८ सालमा माओवादी द्वन्द्वमा मारिएका थिए । छोराको मृत्यु भएको खबर सुनेलगत्तै आमा र दिदी बेहोस भएका थिए । उनीहरुलाई केहीदिन अघि मात्रै डिस्चार्ज गरिएको छ ।
प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
श्रीमतीबाट पोल खुल्यो…
काठमाडौं प्रहरी परिसरकै कार्यालय छेउ कनक पेट्रोल पम्प अगाडि भएको ‘हिट एण्ड रन’ को घटना प्रहरीका लागि चुनौती बनेको थियो । त्यसमा पनि प्रहरी अधिकारीकै परिवारको सदस्यको मृत्यु हुँदा अधिकारीहरु नैतिक दबावमा परेका थिए ।
‘घटनालगत्तै शंकास्पद डेढ/दुई सय वटा सवारी पहिचान गरेर अनुसन्धान थालेका थियौं’, डीएसपी बोगटीले अनलाइनखबरसँग भने, ‘ललितपुरको लेले, चापागाउँदेखि काभ्रेपलान्चोक र अन्य विभिन्न ठाउँमा खोजतलास गर्दै जाँदा काभ्रेमा शंकास्पद गाडी भेटिएको थियो ।’
प्रहरी टोली सुरुमा श्रेष्ठको घरमा पुग्दा उनले आफ्नो कसुर लुकाउन खाजे । तर, जब उनी र श्रीमतीलाई छुट्टाछुट्टै राखेर बयान लिन थालियो, तब श्रेष्ठको पोल खुल्यो ।
‘घटनापछि घर पुगेर उनले श्रीमतीलाई एउटा मान्छे हानेर आएँ । सायद मर्यो पनि होला भनेको रहेछ’, एक अनुसन्धान अधिकारीले भने, ‘त्यही कमजोरीका कारण हामी उसलाई नियन्त्रणमा लिन सफल भयौं ।’
श्रीमतीको बयानपछि भने श्रेष्ठले आफ्नो कसुर स्वीकारे । उनले दुर्घटनामा फुटेको गाडीको सिसा पनि मर्मत गरेर राखेका थिए भने रगत पखालेका थिए ।
प्रतिक्रिया 4