+
+

कहिल्यै समयमा भाडा तिर्दैन पुरानो मेडिकल कलेज

सुवास पण्डित सुवास पण्डित
२०७५ फागुन ७ गते १४:१२

७ फागुन, चितवन । भरतपुर अस्पतालको जग्गामा मेडिकल कलेज सञ्चालन गरेको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले भाडावापत करिब २ करोड २१ लाख रुपैयाँ तिर्न बाँकी छ ।

नियमानुसार पाउनुपर्ने रकम दिनसमेत आलटाल गरेको भरतपुर अस्पतालको गुनासो छ । अस्पतालका अनुसार मेडिकल कलेजले चालु आर्थिक बर्षको मात्रै ६२ लाख ४० हजार रुपैयाँ भाडा तिर्न बाँकी छ ।

पुरानो बक्यौतासहित २ करोड २१ लाख ४६ हजार ५ सय १० रुपैयाँ पुरानो मेडिकल कलेजबाट लिन बाँकी देखिन्छ । तर, यो रकम तिर्न कलेजले चासो देखाएको छैन । भरतपुर अस्पतालको ९ विघा जग्गा मेडिकल कलेजले ४९ बर्षका लागि भाडामा लिएको थियो ।

भाडा बुझाउन अस्पतालले पटक पटक पत्राचार गरे पनि मेडिकल कलेजले अटेरी गर्दै आएको छ । आर्थिक वर्ष २०७२/०७३ मा महालेखा परीक्षकले गरेको लेखा परीक्षणमा ६७ लाख ७८ हजार भाडा वृद्धिवापतको रकम असुल गर्नुपर्ने देखाएको छ ।

त्यहाँ देखिएको रकम थपिदै आएको छ । गतबर्षको मात्रै १४ लाख रुपैयाँ रकम भाडा लिन बाँकी रहेको अस्पतालका लेखापाल हरि लामिछानेले जानकारी दिए ।

अस्पतालले गत पुस ११ गते मेडिकल कलेजलाई हालसम्मको बक्यौता रकम तिर्न पत्र लेखे पनि कुनै प्रतिक्रिया नआएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘पटकपटक पत्र पठाइसक्यौं, तर मेडिकल कलेजले टेर्दैन’ मेसु डा. पौडेलले भने, ‘यो बारेमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सचिव, विभाग, अख्तियारलाई समेत जानकारी गराएका छौं ।’

मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले अघिल्लो बर्षसम्मको सबै भाडा तिरेको दावी गरे । चालु आर्थिक बर्षको बाँकी भाडा असार मसान्तसम्म तिर्ने उनको भनाइ छ । अन्य बक्यौताका बारेमा अस्पताल र मेडिकल कलेजको फरक फरक बुझाइ रहेको निर्देशक डा. प्रधानले बताए ।

मेडिकल कलेजले २०७२ वैशाख १२ पछिको भूकम्पपछि अस्पतालको लालपूर्जा मालपोतमा रोक्का गरेर १ अर्ब ३५ करोड ऋण निकालेको थियो । भूकम्पका कारण मेडिकल कलेजका भवन चर्किएका थिए । मालपोत कर्मचारीहरुकै मिलेमतोमा रोक्का गरिएको जग्गा अझैसम्म फुकुवा भएको छैन ।

२०६३ सालसम्म प्रति विघा वार्षिक ५० लाख भाडा तिर्दै आएको मेडिकल कलेजलाई सजिलो पर्ने गरी त्यसै वर्ष पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालका कानुनी सल्लाहकारसमेत रहेका हालका सांसद कृष्णभक्त पोखरेल र तत्कालिन अध्यक्ष एवं अहिलेका नेकपाका नेता बद्रि तिमिल्सिनाले बार्षिक एक लाख भाडा बनाएका थिए । उक्त सम्झौतामा बार्षिक प्रति विघा एक लाख भन्दा बढी भाडा बढाइने छैन भन्ने उल्लेख गरी अस्पताललाई दीर्घकालसम्म घाटा लगाएको अस्पताल स्रोतले बताएको छ ।

हाल अस्पतालको १३ धुर जम्मा भाडामा लिएर क्यान्टिन चलाउँदै आएको एक संस्थाले भने मासिक ४ लाखभन्दा बढी भाडा तिर्दै आएको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?