
नारायणपुर । प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिताको उपाधि दाङले जितेको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको फाइनलमा बाँकेलाई आठ विकटले पराजित गर्दै दाङले उपाधि हात पारेको हो ।
टस जितेर ब्याटिङ गरेको बाँकेले २० ओभरमा चार विकेट गुमाएर ९५ रन बनायो । सोनम पुनले सर्वाधिक २४, गीता गोसाईंले २० तथा सामना पुनले १४ रन बनाइन् । बलिङतर्फ दाङकी लक्ष्मी चौधरीले दुई विकेट लिइन् । ९६ रनको विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको दाङले १७ दशमलव ५ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्यो । मधु डिसीले अविजित २४, सरस्वती जिएमले अविजित २२, लक्ष्मी चौधरीले २२ र नगिता पुनले १६ रन बनाइन् । बलिङतर्फ बाँकेकी गायत्री कश्यप र गीता गोसार्इंले एक-एक विकेट लिइन् । दाङकी लक्ष्मी चौधरी ‘वुमन अफ दी म्याच’ घोषित भइन् ।
अर्कैको जर्सी लगाएर खेल्यौँ
जिल्लालाई महिला क्रिकेटमा उपाधि दिलाएका खेलाडीको पीडा भने बेग्लै छ । आयोजकले प्रतियोगितामा सेतो रङको जर्सी लगाएर खेल्न नदिएपछि खेलाडीले मागेर खेल खेलेका थिए । उनीहरुले दाङको घोराही क्रिकेट एकेडेमीको जर्सी मागेर खेलेका थिए ।
जिल्ला खेलकूद विकास समितिले जर्सी उपलब्ध नगराएपछि खेलाडी एक वर्षअघि ‘एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस’ले उपलब्ध गराएको पुरानो जर्सी बोकेर बाँके पुगेका थिए । ‘सेतो रङको जर्सी लगाउन नपाइने भएपछि रातारात दाङबाट जर्सी मगाएर खेल्यौं’ कप्तान शर्मिला रोकामगरले भनिन् ।
प्रतियोगीतामा सहभागी अन्य जिल्लाका खेलाडीलाई जिल्ला खेलकूद विकास समितिले जर्सी उपलब्ध गराएको थियो । ‘हामीलाई जर्सी उपलब्ध नभएपछि पुरानै बोकेर गएका थियौँ, उनले भनिन्, ‘आयोजकले तिम्रो जिल्लाको जर्सी खोई ? भनेर सोध्दा नमज्जा लाग्यो । खेल जित्दा भएको खुशीसँगै हामीलाई गरिएको उपेक्षाले दुःखित पनि तुल्याएको छ ।’
सङ्घलाई बजेट अभाव
जिल्ला खेलकूद विकास समितिले बजेट अभावका कारण खेलाडीलाई जर्सी उपलब्ध गराउन नसकेको जनाएको छ । सङ्घका कोषाध्यक्ष कैलाश रोकाले खेलाडी छनोटका लागि सङ्घलाई रु तीन लाख २५ हजार बजेट उपलब्ध भएको बताए ।
प्रतिक्रिया 4