+
+

स्मरणः अमेरिकाको खल्लो इतिहास

नगेन्द्र न्यौपाने नगेन्द्र न्यौपाने
२०७६ वैशाख २१ गते १३:१९

फोनमा कुरा भएको भोलिपल्ट फ्रेडि मेरो निवासमा आए । आजको यात्रामा हामी तीनजना थियौं -फ्रेडि, म र मेरी श्रीमती ‘भगवती’ । हाम्रो यात्रा थियो दास-दासीको खरीद-बिक्री केन्द्र, अमेरिकाको साउथ क्यारोलाइना राज्यको चाल्सटन शहर ।

अश्वेत जातिको मुक्तिका लागि खोलिएका विभिन्न संघ, संस्था र संगठनमा फ्रेडिले सदस्यता लिएको मलाई पहिल्यै थाहा थियो । उनैले मलाई केही समाजिक काम पनि गर्नुपर्छ भन्दै नाक्प (एनएएसिपी) नामक संस्थाकोे सदस्य समेत बनाएका थिए । तर यति शसक्त रुपमा क्रियाशील छन् भन्ने मलाई ज्ञान नै थिएन । मासिक रुपमा आफुले पाउने पेन्सनको केही रकम त्यो संस्थालाई दान पनि दिदाँ रहेछन् ।

मलाइ सदस्यता लिन आग्रह गरेपछि सोधेको थिएँ, ‘फ्रेडि, नाक्पको सदस्यता लिइयो भने यसले हामीलाई के गर्छ ? यसको मुख्य उद्देश्य के हो ? यसले के काम गर्छ ?’

यसको उत्तरमा उनले मलाई छोटकरीमा जवाफ दिएका थिए, ‘अहिलेलाई यत्ति बुझ कि अमेरिकामा कुनै पनि अल्पजातिहरु अश्वेत) वर्ण, जात र छालाको आधारमा विभेदमा नपरुन् । यो संस्थाको मुख्य काम तिम्रो-हाम्रोसमान अधिकारको लागि आवाज उठाउने र समय-समयमा सरकारलाई घचघच्याई रहने हो ।’

बेला-बेलामा फ्रेडिले निकै गहिरो-गहिरो कुराहर गरिरहेका हुन्थेँ । आफुले भोगेको र सुनेका कुरामा तर्क वितर्क दिइरहन्थे । उनको तर्कहरु सामान्य मानविय स्तरभन्दा उपल्लो स्तरको थियो । मलाई सम्झना छ, एक पटक उनले मलाई बताएका थिए “इतिहास पढ्ने हो कि हेर्ने ?किताबमा पढेर मात्र इतिहास बुझिँदैन । यसको लागि प्रमाण नै खोज्नुपर्छ । भला, त्यो इतिहास तीतो नै किन नहोस्, कमजोर किन नहोस् ।”

उनको भनाई निकै गहिरो थियो, तथा व्यवहारिक पनि तर त्यो बारे मैले कहिल्यै ध्यान दिएको थिइनँ, त्यसमा दिमाग गएको थिएन तर आजको यात्रा त्यही तीतो इतिहासको थियो । हामी ऐतिहासिक यात्रामा थियौं ।

हामीहरु ठीक १० बजे नर्थ क्यारोलाइना राज्यको राजधानी शहर रालेबाट दक्षिणतिर लाग्यौं । तीन घण्टाको लगातार यात्रापछि मुख्य राजमार्ग छोडेर हाम्रो गाडी शहरभित्र पस्यो । फेरि शहरभित्रको एक घण्टाको यात्रापछि चाल्सटन शहरको पुरानो टोलमा पुग्यो । टोलभित्र छिर्नुभन्दा पहिला हामीले आफ्नो गाडी एउटा ठूलो भवनमा पार्क गर्‍यौं र पैदल नै अगाडि बढ्यौं ।

औसतभन्दा केही साँघुरा सडकहरु, सडकमा बिछ्याइएको चेप्टा आकारका ढुङ्गा,अनि दायाँ-बायाँ अठारौँ शताब्दीका पुराना घरहरु र बीचबीचमा साना साना रुखहरु । यो दृश्यले देखाइरहेको थियो कि – अमेरिकी सरकारले चाल्स्िटन शहरको पुरानो स्वरुप बिगार्न दिएको छैन ।

केहीबेर पैदल हिँडेपछि फ्रेडि टक्क रोकिए र सानो झ्याल भएको, एउटा पुरानो गोदाम घरलाई संकेत गर्दै मतिर हेर्दै बोले “यही हो नगेन्द्र ! हाम्रा पूर्खाको सास्तीको प्रमाण । हाम्रा पूर्खाहरु धेरै दिनसम्म ऊः त्यो सानो प्वालबाट देखिने आकाश हेरेर दिन र रात छुट्याउँथे ।”

त्यतिबेलाका दास-दासीका नामुद व्यापारी थमस रायनले निर्माण गरेका थिए त्यो घर । अफ्रिकाबाट पानीजहाजमा ल्याइएका दासदासीलाई पानीजहाजबाट निस्कनासाथ फलामको सिक्री लगाएर त्यही गोदाम घरमा राखिन्थ्यो र हाट लागेको दिन सडकमा लहरै उभ्याएर बेचिन्थे । उनीहरु दिनभरि हाटमा रहन्थे, बिक्रीमा बस्थेँ, बिक्री नभएकाहरु बेलुकापख पुनः त्यही गोदाम घरमा र्फकन्थेँ । अमेरिकाका पूर्वराज्यहरुको सम्पूर्ण दासदासीको मुख्य हाटबजार यही थियो ।

उत्तरमा न्युयोर्क र दक्षिणमा फ्लोरोडासम्मका व्यापारीहरु यही खरीद गर्न आउँथे । तर, पछि अमेरिकी सरकारले सडक किनारामा दास-दासी बेचविखन गर्न प्रतिबन्ध लगायो । उनीहरु सडकमा आउनै नपर्ने भए । गोदाम घरबाट नै बिक्री -वितरण हुन थाले, गोदाम घर नै विक्री कक्ष बन्यो । कालान्तरमा अमेरिकाबाट नै दास-दासीको उन्मुलन भएपछि त्यो घर अमेरिकी सरकारले किन्यो र केही वर्ष पछि म्युजियम बनायो । हाल यो घर अमेरिकी सरकारको पुरातात्विक आयोगभित्र दर्ता भएको छ । भने यहाँ दासत्वका प्रमाणहरु प्रदर्शनको लागि राखिएका छन् ।

हामीहरुले उसले संकेत गरेको भवनतिर टाउको ठाडो पारेर हेर्‍यौँ । सेतो भुँइमा कालो अक्षरले लेखिएको थियो – Old Slave Mart Museum।
हामीहरु तीनजना सरासर मुख्य ढोकाबाट भित्र छिर्‍यांै । हामीलाई देख्नेबित्तिकै टिकट बिक्री गर्ने गोरी केटी जुरुक्क उठिन् । र, केही भन्न खोज्दै थिइ्न । फ्रेडिले उछिन्दै बोलिहाले ।

‘हामीहरु तीन !’ फेरि यसैमा थप्दै बोले, ‘पहिलाको भन्दा सानो भएछ हगि ।’

त्यो केटीले उत्तर दिइन्, ‘तपाईले ठिकै भन्नुभयो । पहिला यो भवन पुरै म्युजियम थियो । अहिले आधा भाग मात्रै प्रयोगमा छ । यही राखेका सामानहरु पनि चन्दा र उपहारस्वरुप पाएका हौँ । हामीले सकभर इतिहासलाई सुरक्षित राखेका छौ । यो बीचको तलो पछि थपिएकाले सिलिङ्ग अलि होचो छ, राम्रोसँग जानुहोला ।’

सात डलरको दरले तीनवटा टिकट क्रेडिट कार्डबाट किन्यौ र सरासर माथिल्लो तल्लामा नै उक्लियौ । त्यतिबेला मैले सोधीहालेँ । “किन फ्रेडि ! तल्लो तलामा हेर्न वस्तुहरु केही छैनन् र ? हामी त एकैचोटि माथि आयौँ त !”

“यहाँ खास हेर्न लायक वस्तुहरु केही छैनन् । पोष्टर, पम्प्लेट र सूचनाहरु मात्र हुन्, यी त हामीले किताबमा पनि पढेका छाैं ।”

काठले बनेको पुरानो नाल -थाम, टाउको ठोकिएलाजस्तो होचो सिलिङ्ग अनि चरक-चरक बज्ने दलिन । हाम्रो पाइलाले हामीलाई नै थरथर कँपाइरहेको थियो । मानौँ त्यहाँ निकै ठूलो भीड छ, निकै खैलाबैला छ । तर, वास्तवमा त्यहाँ भीड थिएन ।

घुमाउरो आकारको काठको भर्‍याङ्ग चढेर हामी माथिल्लो तलामा उक्लेका थियौं । फ्रेडिले ठिङ्ग उभिएर चारैतिर हेरे अनि मतिर हेर्दै बोले – “देख्यौ ! अफ्रिकाबाट ल्याइएका दासदासीलाई पानीजहाजमा ओराल्नासाथ यही गोदाम घरमा राखिन्थ्यो । ल हेर त ! त्यतिबेला न बत्ति थियो न ट्वाइलेट, बाथरुम । कसरी बसे होलान् यो अध्यारोँ कोठरीमा हाम्रा पूर्वजहरु ।”

तर, म केही बोलिनँ । मनमनै दिमाग खेल्न थाल्यो । भवन अगाडि सफा सडक थियो । सडकको दायाँबायाँ पैदल हिँड्नका लागि चौडा बाटो । अनि भवनभित्र प्रवेश गर्नको लागि आउने गोरा, गहुँ-गोरा दर्शक । वातावरण जति सफा र सुन्दर थियो तर प्रदर्शनमा राखिएका सामाग्रीले कसको मुटु चसक्क नघोच्ला ? कसको छाति नपोल्ला ? अमेरिकामा पनि त्यस्तो क्रुर क्रियाकलाप भएको रहेछ हगि ? काला जातिले त्यस्तो निर्मम सजायँ पाएका रहेछन् । पत्याउनै गाह्रो ।

हाम्रो अवलोकन काम शुरु भयो । निकै मेहनतसाथ सिसाभित्र राखिएका सामाग्रीहरु, फोटोसमेत खिच्न बन्देज परिस्थिति । तर, हामी एक-एक हेर्दै अगाडि बढ्यौँ । त्यहाँ लेखिएका र टाँसिएका सूचनाबाट पनि हामीहरुले जानकारी लिदैँ गयौँ । केहीपर पुगेपछि एउटा फलामको औजार देख्नासाथ फ्रेडि टक्क रोकिए र मतिर हेर्दै बोले – ‘यो के हो तिमीलाई थाहा छ ?’

‘छैन’ मैले टाउको हल्लाए ।

‘यो पासो हो । यो फलामको पासो घाँटीमा कसेपछि अपराधीले टाउको यताउति हल्लाउन सक्दैन । ऊ हिँडडुल, उठ्न, बस्न केही गर्न पनि सक्दैन । उभिएको उभियै । खान-बस्न पनि अर्काको साहारा चाहिन्छ ।’

जब कुनै समाजको दया हराउँछ ,उसले क्रुरताभन्दा अर्को वस्तु नै देख्दैन । उसले चारैतिर निर्मम, निष्ठुर मात्रै देख्छ । त्यस्तै क्रुर समाजको शिकार थिए दास-दासीहरु । उनीहरुको पक्षमा बोलिदिने कोही थिएन । उनलाई न्याय गरी दिने परिपाटी थिएन त्यतिबेला ।

फ्रेडि बोल्दै गए, ‘तिमीलाई थाहा छ । घाँटीमा पासा लगाएको अपराधीलाई सार्वजनिक स्थलमा उभ्याइन्थ्यो ताकी सबैले देखुन् र तिनीहरुले त्यस्तो अपराध नगरुन् ।’

हामीहरु अगाडि बढ्दै गयौँ । अर्को टेबुल नजिक पुग्नेबित्तिकै फ्रेडिले टेबुलमाथि शिलबन्दी गरेको औजारलाई धेरैबेर हेरे, अनि अध्याँरो अनुहार बनाउँदै फेरि मलाई सोधेँ – “तिमी यसलाई चिन्छौ ?’

त्यो औजारका बारेमा तत्काल अन्दाज लगाउन सकिनँ । ऊतिर नै पुलुक्क हेरे । उनले जवाफ दिइहाले ।

‘तिमीलाई यो थाहा नहुन पनि सक्छ । यसलाई कोर्रा भन्छन् । यो अपराधीलाई हान्ने औजार हो । यो छालाले बनेको हुन्छ भने बिँड काठको । यसले हानेपछि अपराधीको होस हवास नै उड्छ । छरछर रगत बग्न थाल्छ । नीलो डाम बस्छ ।’

फ्रेडि कोर्राका अगाडि धेरैबेर उभिएर टोलाए । उनको अनुहार रातो बन्दै गयो । उनले आफूलाई अपमानित महसुस गर्दै गए ।

“हेर त ! हाम्रा पूर्खाले पाएको क्रुरता ! यिनीहरुले के नै ठूलो अपराध गरे होलान् र ? कोर्रा नै हान्नुपर्ने ।” सँगै टाँसेको फोटालाई इसारा गर्दै फेरि थपे -“हेर त ! त्यो मान्छेको ढाडमा कोर्राको चुटाई ! कठैबरा !”

उनी धेरैबेर त्यो फोटालाई हेरेर टोलाए । म पनि टोलाइरहेँ । पक्कै फ्रेडि आफ्ना पूर्वजले पाएको पीडाले क्लान्त थिए । २०० वर्ष अगाडिको दृश्यले उनका आँखा तिरमिराएका थिए । तर, म भने अघिल्लो हप्ता नेपाली पत्रिकाको समाचारले निस्लोट थिएँ । एकजना नेपाली कामदारले साउदी अरबमा खाएको कोर्राको चुटाईले शिथिल थिएँ । ती कामदारले १००० कोर्रा खानुपथ्र्यो । उनको अपराध थियो – घरेलु रक्सी पिउनु । सानैदेखि लागेको बानी, उनले घरेलु रक्सी आफैँले घरमा बनाएर पिएका थिए । तर, त्यो बानी साउदी अरबमा अपराध हुन गयो । उनले कोर्राको चुटाइ खाए । उनको पिठ्युँमा र ढाडमा कोर्रार्को चुटाईको निलडाम पत्रिकाले निकै सजाएर छापेको थियो ।

हामी अगाडि बढ्यौँ ।

हुन त प्रशान्त महासागरको यात्रा तय भएको थिएन । हामीहरु म्युजियम हेरेपछि फर्की हाल्ने विचारमा थियौ तर त्यहाँबाट पैदलै हिडेर पुगिन्छ भन्ने थाहा पाएपछि हामीहरु फुटपाथ हुँदै अगाडि बढ्यौँ । अचम्म यो भयो कि त्यो फुटपाथ त प्रशान्त महासागरको किनारामा गएर नै टुङ्गियो । हामी किनारामा नै पुग्यांै । हाम्रो अगाडि विशाल प्रशान्त महासागर, महासागरबाट उर्लिरहेको नीलो पानीको छाल अनि किनारामा तैरिरहेको भव्य पानीजहाज । तर, त्यो पानीजहाज पक्कै अफ्रिकाबाट मान्छेहरु ओसार्नका लागि प्रयोग गरेको छैन । मान्छे ओसार्ने पानीजहाजहरु कार्गो ओसार्नेमा परिणत भइसकेको धेरै भयो । हामीले किनारामा उभिएर विभिन्न प्रकारले फोटोहरु खिच्यौं ।

एकातिर विशाल महासागर, महासागरबाट निस्केको हावाको सु-सु ध्वनी अनि किनारामा हिँडिरहेका यात्रु वास्तवमा त्यहाँ रमाइलो थियो । अझ महासागरको किनारामा बनेका एकै डिजाइनका भव्य महलहरुले कुन दर्शक अचम्मित नपर्ला । ती भव्य महलहरु त्यति बेलाका पानीजहाजका व्यापारीका थिए । उनीहरुको व्यापार अफ्रिकासम्म फैलिएको थियो । उनीहरु आफ्नो पानीजहाज लिएर अफ्रिका जान्थे, अफ्रिका गएर थुप्रै संख्यामा महिला-पुरुष ल्याउँथे । अनि अमेरिकामा बेच्थेँ । त्यही नाफाबाट बनेका थिए ती विशाल विशाल महलहरु । अनौठो त यो थियो कि तिनका सन्ततीले अझै ती महलहरु जोगाएर राखेका रहेछन् । केवल प्रदर्शनका लागि मात्र पनि रङ्ग,रोगन गरिरहेका छन् ।

हामी त्यहाँबाट निस्कने तरखर गर्दै थियौँ । त्यतिबेला यो थाहा भयो -बग्गीमा चढेर पनि चाल्सटन शहर घुमाउने परिपाटी रहेछ । सामान्य शुल्क तिरेपछि चार-पाँचजनाको समूहलाई दुई घोडे बग्गीमा राखेपछि ठाउँ-ठाउँमा रोक्दै त्यहाँको जानकारी दिदैँ फन्का मार्ने व्यवस्था रहेछ । तर, हामीले बग्गीमा चढेनौँ । आफ्नो गाडी पार्किङ्ग गरेको भवनतिर आयौँ ।

पहिला-पहिला पनि पार्किङ्ग भवनबाट कहाँ गाडी बाहिर ननिकालिएको हो र ? पैसा बुझाएर कहाँ नआएको हो र ? तर प्रविधि यसरी एक्कासी बदलिएको पत्तै भएन । तरिका फेरबदल भएको ज्ञान नै भएन । हामीहरुले गाडीलाई भवनबाट बाहिर निकाल्नै सकेनौँ । गेट नै पत्ता लागेन । दुई-दुई पटक गाडीलाई तलमाथि गरेपछि पनि पैसा बुझाउने ठाउँ फेला नपरेपछि हेल्पलाइनमा फोन गर्न करै लाग्यो । हेल्पलाइनमा फोन गरेपछि थाहा भयो पैसा बुझ्ने पनि मेसिन नै हुँदो रहेछ र पैसा बुझाएपछि ढोका आफैँ खुल्दोरहेछ ।

सौभाग्य ! त्यो दिन शनिबार भएकोले गाडीको भीड थिएन । यदि गाडीको भीड हुँदो हो, हाम्रो गाडीको पछाडि कति गाडीको ताँती लाग्दो हो !
चाल्सटन शहरबाट बाहिर निस्कदाँ सिमसिम पानी पर्न थालिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?