Comments Add Comment

बिराटनगर नै तोकियो प्रदेश १ को स्थायी राजधानी, नाम अझै टुंगिएन

२३ वैशाख, विराटनगर । प्रदेश १ को स्थायी राजधानी बिराटनगर तोकिएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले मोरङको औद्योगिक नगरी विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव बहुमतले पारित भएको हो ।

९३ सदस्यीय प्रदेशसभामा ६ जना अनुपस्थित रहे भने ८६ सदस्यले प्रस्तावको पक्षमा मतदान गरे । विपक्षमा भने कुनै मत परेन ।

प्रदेशसभामा धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने सहित चार प्रस्ताव पनि दर्ता भएको थियो । तर, सत्तारुढ नेकपाका बुद्धिकुमार राजभण्डारीको प्रस्तावालाई समर्थन गर्दै सबैले प्रस्ताव फिर्ता लिएका थिए ।

प्रदेश नं १ को स्थायी राजधानी विराटनगर भएपनि कार्यपालिका र व्यवस्थापिकाका लागि बन्ने नयाँ संरचना सुनसरीको इटहरी, सुन्दरहरैंचा र विराटनगर आसपास क्षेत्रमा बन्ने प्रस्तावको कैफियतमा उल्लेख छ ।

सबै कार्यालय बिराटनगरमै हुनुपर्ने भन्दै सोमबार बिराटनगरमा हड्ताल समेत भएको थियो । मुख्यमन्त्री शेरधन राईले माग सम्बोधन गर्ने आश्वासन दिएपछि हड्ताल फिर्ता भयो । प्रदेशसभा सदस्य केदार कार्कीले कार्यपालिका तथा व्यवस्थापिकाका नयाँ संरचना एकै ठाउँमा बन्नुपर्ने बताए ।

तर, प्रदेशको नाम भने तय भएको छैन । नाम तय नगरी सोमबारदेखि प्रदेश अधिवेशन अन्त्य भएको छ ।

*बहुमतका आधारमा पास भएको हुनुपर्नेमा अन्यथा पर्न गएकाले सच्याइएको छ ।सं.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment