Comments Add Comment

के अहिले सेयर किन्ने उचित मौका हो ?

४ जेठ, काठमाडौं । सिंहदरबारस्थित एक मन्त्रालयमा कार्यरत उपसचिवले सेयरबाट राम्रो कमाइ हुने कुरा साथीबाट सुने । साथीले उनलाई बजार बढेने क्रममा रहेको र अहिले लगानी गरे टन्नै नाफा गर्न सकिने गफ दिए ।

नाम बताउन नचाहने ती अधिकारी साथीको कुरो सुनेर आफूले कर्मचारी सञ्चय कोषबाट ऋण काढेर करिब ३० लाखको सेयर खरिद गरेको बताउँछन् । तत्काल लगानी गर्दा केही महिनामै नाफा दोब्बर हुने कुरा साथीले उनलाई बताएका थिए ।

‘काठमाडौंमा एक टुक्रा घडेरी छ, लगानी दोब्बर भए सेयर बेचेर घर बनाउँला भन्ने सोच थियो,’ ति अधिकारी भन्छन् ।

अहिले उनी ४ वर्षअघि गरेको त्यो ३० लाख लगानी कति पुग्यो बताउनै नसक्ने अवस्थामा छन् । ती अधिकारीले सञ्चय कोषलाई तिरेको ब्याज र किनेको सेयरबाट प्राप्त प्रतिफल निकै टिठलाग्दो छ ।

उनी भन्छन्, ‘साथीले पनि अर्को अरुको लहैलहैमा हिँडेको रहेछ, ऊ र म दुवै डुब्यौं ।’

अब त्यो बेला खरिद गरेको सेयर कहिले बेच्ने उनलाई थाहा छैन । ती अधिकारीका अनुसार सेयर किनेको बिन्दुमा नेप्से परिसूचक पुग्न बजार अझै चार सय अंकले बढ्नु पर्छ ।

लहैलहैमा सेयर बजार पस्दा कसरी लगानीकर्ता डुबेका छन् भन्ने उनी एक उदाहरण मात्रै हुन् । सेयर बजारको यस्तै  यस्तै भोगाइ भएका लगानीकर्ताहरु ठूलै संख्यामा छन् ।

नेपाली सेयर बजारमा हल्लाकै भरमा कुद्ने जमात निकै ठूलो छ । आफूले सेयर किन्न खोजेको कम्पनीको अवस्था नजानी लहडमा लगानी गर्ने धेरै छन् ।

नयाँ वर्ष २०७६ सुरुवातसँगै सेयर बजारमा केही सकारात्मक सुधार देखिएको छ । बजार पनि दुई सय अंकले उकालो लागेको छ भने कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । यही मौकामा कम्पनी विशेषको नाम लिएर पुनः सेयर बजारमा चलखेल सुरु भएको चर्चा सर्वत्र चल्न थालेको छ ।

बजार बढोत्तरीे नियमित

भरसक दोस्रो बजारमा ऋण गरेर लगानी नगर्न नयाँ लगानीकर्तालाई छोटेलाल रौनियारको सुझाव छ

सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासिक रिपोर्ट निष्काशन लगभग अन्तिम  चरणमा पुगेका कारण अहिलेको बजार बढोत्तरी परम्परागत नै रहेको ठूला लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । उनको बुझाइमा सेयर बजार बिकासका केही नयाँ आधार बनेका कारण बजार बढ्न रोकिनुपर्ने कारण छैन । बजारले बुलिस ट्रेन्ड समातेको उनको विश्लेषण छ ।

सेयर विश्लेषक विष्णु बस्याल पनि बजारले बुलिस ट्रेन्ड समातेको आंकलन गर्छन् । अबको केही महिना बजार सकारात्मक नै रहने भएता पनि यति नै अंकमा पुग्छ भनेर किटान गर्न नसकिने उनको धारणा छ ।

भरसक दोस्रो बजारमा ऋण गरेर लगानी नगर्न नयाँ लगानीकर्तालाई रौनियारको सुझाव छ

अहिले सेयर किन्ने बेला हो ?

दोस्रो बजारमा तीन थरी स्वभावका लगानीकर्ता छन् । एकाथरी ऋण धन गरेरै छोटो समयका लागि बजारमा सेयर खरिद बिक्री गर्छन् । तुलनात्मक रुपमा उनीहरु बजारबारे केही बढी नै जानकारी पनि राख्छन् । अर्काथरी लगानीकर्ताहरु बचेको पैसा सेयरमा लगानी गरौं भन्ने पनि हुन्छन् । उनीहरु बजारबारे केही मात्रै ज्ञान राख्छन् । तर ऋण गरेर सेयर किन्ने समूह बजारमा सबैभन्दा बढी प्रताडित छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेले कुन सेयर किन्ने र बेच्ने भनेर लगानीकर्तालाई निर्देशन गर्न सक्दैन । कम्पनीको आर्थिक अवस्था मूल्याङ्कन गरेर लगानीकर्ताले नै सेयर खरिद बिक्रीको निर्णय गर्ने हो । खासगरी लगानीकर्ताहरुले देशको आर्थिक, राजनीतिक वातावरण र कम्पनीको वित्तीय अवस्थालाई हेरेर लगानी गर्नुपर्ने हुन्छ ।

लगानीकर्ता रौनियार पनि कम्पनीको अवस्थाबारे आफै गहिरो अध्ययन गरेर मात्रै लगानी गर्न सुझाब दिन्छन् । भरसक दोस्रो बजारमा ऋण गरेर लगानी नगर्न नयाँ लगानीकर्तालाई रौनियारको सुझाव छ ।

सेयर विश्लेषक बस्याल निस्क्रिय बसेको पैसा सेयरमा लगानी गर्न अहिले उत्तम समय भएको बताउँछन् । ऋण बिनाको लगानीले लामो समयमा प्रतिफल दिने उनको तर्क छ । हल्लाको भरमा अध्ययन नै नगरी कुनै पनि कम्पनीको सेयर किन्नु चै हानिकारक हुने उनीहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment