Comments Add Comment

१३ प्रतियोगिता खेल्यौं, १२ जित्यौं !

थाहा छ, म त नेपालको राष्ट्रिय खेलको राष्ट्रिय खेलाडी हो नि ! यसो भन्न पाउँदा बडो मज्जा लाग्छ । गर्व लाग्छ । त्योभन्दा बढी खुशी अरु के खोज्नु ? भलिबल मेरा लागि रमाइलो छ ।

हुन पनि भलिबलसँग रमाउन थालेको १४ वर्ष भइसक्यो । अहिले सशस्त्र प्रहरीको एपीएफ क्लबमा छु । गएको वर्ष हामीले १३ वटा प्रतियोगिता खेल्यौं, १२ वटा प्रतियोगिता त जित्यौं पनि ।

यो वर्ष खेलेका दुवै प्रतियोगिता पनि जित्यौं । वर्षभरि भलिबलमा व्यस्त भइन्छ । कहीँ न कहीँ प्रतियोगिता भइरहेकै हुन्छ । तर पनि हाम्रो खेलमा जति सुधार हुनुपर्ने हो उति भएको छैन । अन्तर्राष्ट्रिय अभ्यासमा भने हामी असाध्यै पछाडि छौं, खेल्नै पाएका छैनौं ।

राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा जितिरहँदा धेरैले सोध्छन्, सधैँ कसरी जितिन्छ ?

एपीएफको टिम एकदमै मिलेको भएर जितिरहेका हौं । जति खेल्यो उति खेल सुधार हुँदै पनि जान्छ । मनदेखि रमाइलो मानेर खेल्नुपर्छ ।

****

०६२ सालमा न्यू डायमण्ड स्कूलमा ६ कक्षामा पढ्दा भलिबलसँग जोडिन पुगेँ । त्यो समय भलिबल प्रशिक्षक कुमार राई प्रधानाध्यापक हुनुहुन्थ्यो । सुरुमा एक/दुई जनालाई सिकाउने उहाँले विस्तारै टिम नै बनाएर अभ्यास गराउन थाल्नुभयो । ०६३ सालबाट त हामीले नियमित अभ्यास गर्न थालिसकेका थियौं ।

मेरो घर कलंकी ढुँगाअड्डामा पर्छ । त्यही हुर्किएँ । घरतिर पहिले त साथीहरु नै थिएनन् । वरपर घर पनि दुई-तीन वटा मात्रै थिए । त्यसैले धेरै साथी भएनन् । स्कूलमा गएपछि साथी बनाउने र खेल्ने गर्न थालें ।

भलिबल खेल्दा सुरुसुरुमा त हात सुन्निन्थ्यो । ‘ओभर हृयाण्ड’ मात्रै अभ्यास गरिरहँदा सामान्य लागे पनि पछि डिगिङहरु गर्न थालेपछि हात दुख्थ्यो । हात सुन्निएर दुखेको बेला त अब खेल्न छाड्छु जस्तो लाग्थ्यो । विस्तारै अभ्यास हुँदै जाँदा सजिलो हुँदै गयो । अहिले जे छु, त्यसमा कुमार सरले सिकाएका कुराको ठूलो देन छ । उहाँले आऊ खेल, भन्नु भएकै कारण अहिलेको स्थानमा पुगेकी हुँ ।

अभ्याससँगै विद्यालयस्तरीय प्रतियोगिता खेल्न थाल्यौं । पहिलो पटक खेल्दा गुरुले ‘थ्री टच’ मा नेट कटाउनुपर्छ, बल मिलाएर खेल भन्नुहुन्थ्यो । मलाई भने एक पटकमै नेट कटाउन हतारो हुन्थ्यो । विस्तारै बुझ्दै गएँ । एसएलसी दिएपछि ०६६ सालमा कपिल किशोर श्रेष्ठ गुरुले एपीएफ क्लबमा बोलाउनु भएको थियो । त्यहाँ केही सयम मात्रै रहेँ । प्लस टु सकाएपछि फेरि ज्ञानेन्द्र बिष्ट दाइ, राष्ट्रिय टिमको कप्तान विनिता दिदीले बोलाउनु भयो र करार सम्झौता गरेर म फेरि एपीएफ क्लबमा आवद्ध भएँ ।

करारमा बसेको एक वर्षमै जागिरे भएँ । दोस्रो पटक एपीएफ गएपछिको पहिलो प्रतियोगिता एनभीए कपमा नै हाम्रो खेल राम्रो भएको थियो । त्यो बेला पुलिस टिमविरुद्ध फाइनल खेलेका थियौं ।

एपीएफमा आबद्ध भएपछि स्तरीय अभ्यास हुँदै खेलमा सुधार आयो । त्यसअघि नै मैले न्यू डायमण्डमा हुँदा छैठौं राष्ट्रिय खेलकुद मध्यमाञ्चल टिमबाट खेलेको थिएँ । त्यसको अनुभवले पनि मद्दत गर्‍यो ।

****

स्कूल पढ्दा भलिबल खेलेको ममीले त्यति धेरै राम्रो मान्नुभएको थिएन । बाबाले भने समर्थन गर्नुहुन्थ्यो । त्यो समय अभ्यासमा मैले पूरा मन लगाएको थिइनँ । प्रतियोगिता हुने बेलामा मात्रै अभ्यास गर्ने जस्तो भइरहेको थियो । एपीएफ क्लबमा आएपछि ममी-बाबा दुवैको समर्थन पाएँ । काठमाडौंमा भएका प्रतियोगिताहरुमा फाइनल हेर्न सधैँ आइपुग्नु हुन्छ । त्यसले रमाइलो लाग्छ ।

हुन त खेलिरहेका बेला ममी-बाबा कहाँ हुनुहुन्छ भन्ने थाहा हुँदैन । दर्शकले के भनिरहेका छन् भन्ने पनि थाहा हुँदैन । खेलमा मात्रै ध्यान हुन्छ । एक सेकेण्ड मात्रै पनि ध्यान यताउता भयो भने अंक गुम्छ । कमजोर टिमसँग खेलेको बेला भने आमा-बुबा पनि देखिन्छ, दर्शकमा पनि ध्यान पुग्छ । प्रतिस्पर्धात्मक खेल हुँदा भने त्यस्तो हुन्न । अहिलेसम्म ध्यान बाहिर गएर बिग्रिएको याद छैन ।

एकदमै हुटिङ आइरहेको समयमा भने असर पुग्छ । प्रायः हामी खेल्दा विपक्षी टिमका लागि धेरै हुटिङ आइरहेको हुन्छ । किन हो थाहा छैन, तर अधिकांश खेलमा हामीलाई भन्दा धेरै हुटिङ अरुको पक्षमा हुन्छ । सायद हामीले जहिल्यै जितिरहेकाले पो हो कि ?

लिग खेल जित्दा उस्तोविधि सेलिब्रेसन गर्दैनौं । प्रतियोगितामा फाइनलमा जितेपछि भने रमाइलो गर्छौं । टिमका सबैजना खाना खान बाहिर निस्कन्छौं । टिममा सबैजना एकअर्कालाई बुझ्ने छन् । कहिले काहीँ ठाकठुक नपर्ने होइन, तर त्यो पनि रमाइलो नै हुन्छ । जब खेल्न जान्छौं, प्रतियोगिता कसरी जित्ने भन्ने मात्र सोच्छौं ।

टिममा सबै १२ जनाको भूमिका ठूलो हुन्छ । सबैले राम्रो गर्दा मात्रै जित्ने हो । खेल स्तरीयताका आधारमा १२ जनामध्ये म कहाँनेर पर्छु थाहा छैन । यति थाहा छ, हामी सबै उस्तै मेहनत गर्छौं । सबै राम्रो खेल्छौं । मैले मात्रै खेलेर जितिने होइन, मेरो साथीले मात्रै खेलेर पनि जितिने होइन । एकापसमा मिलेर अघि बढ्ने हो ।

****

एपीएफमा खेल्दा नाम पाएँ । जिउने आधार पाएँ । त्यहाँबाट नै राष्ट्रिय टिमसम्मको बाटो बन्यो । राष्ट्रिय टिम छनोटको बेलामा मेरो गोलीगाँठामा चोट लागेको थियो । त्यसैले छनोट हुन्छु जस्तो लागेको थिएन । तर चोटका बाबजुद टिममा स्थान बनाउन सक्दा खुशी लाग्यो । देशको प्रतिनिधित्व गर्नु सामान्य पनि त होइन ।

सन् २०१४ मा नेपालमै भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगितामा मैले राष्ट्रिय टिमबाट डेब्यू गरेकी थिएँ । सरस्वती, नेबिका, उषासहित मेरो पनि डेब्यू प्रतियोगिता त्यही थियो । त्यतिबेला म अतिरिक्त खेलाडीमा भए पनि श्रीलंका, भारत, माल्दिभ्स सबै टिमविरुद्ध खेल्ने अवसर पाएकी थिएँ ।

क्लबमा एकअर्काको खेल थाहा छ । कसले कस्तो खेल्छ, को कस्तो छ बुझेर खेलिन्छ । तर अन्तर्राष्ट्रिय खेलमा हामी कमजोर नै रहेछौं । २०१४ मा दक्षिण एसियाली आमन्त्रण भलिबलमा दोस्रो भयौं । २०१६ मा भारतमा गएर खेल्दा तेस्रो भयौं । २०१७ मा माल्दिभ्समा सेन्ट्रल जोन भलिबलमा खेल्यौं । त्यहाँ दोस्रो भयौं ।

त्यसपछि त अन्तर्राष्ट्रिय खेल खेल्नै पाएका छैनौं । अन्तर्राष्ट्रिय म्याचहरु भइरहृयो भने टिमको प्रदर्शन सुधार हुँदै जाने हो । तर हामी भने लैजाने भनिएको एसियाली खेलकुदमा पनि अन्तिम समयमा जान पाएनौं । खेले पो नयाँ शैली, नयाँ टिमबारे थाहा हुन्छ ।

दक्षिण एसियामा भारत हामीभन्दा धेरै अगाडि छ । अरु टिमलाई भने जित्न सक्छौं जस्तो लाग्छ । हाम्रो कमजोरी नै धेरै खेल खेल्न नपाउनु, पर्याप्त अभ्यास नहुनु नै हो । नेपालमै हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुदमा राम्रो गर्नुपर्छ भन्ने सोचमा छौं ।

हुन त भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा पनि हामी दोस्रोसम्म हुनु पर्ने थियो । त्यो बेला धेरै कुरा बिग्रियो । नयाँ विदेशी प्रशिक्षक ल्याइएको थियो । उहाँ र खेलाडीबीच तालमेल नै मिलेन । उहाँले भनेको हामीले नबुझेको हो कि हाम्रो खेल शैली उहाँले नबुझ्नु भएको हो थाहा भएन । एक महिना अभ्यास गराइएको थियो, तर एकअर्कालाई बुझ्न समेत सकेनौं ।

१३ औं सागमा स्वर्ण पदक नै जित्ने हो भने हामीले तयारी गर्न ढिला गर्नु हुन्न । भारतलाई हराउने गरी तयारी गर्ने हो भने टिम सहज पन्छाइन्छ । आफ्नो राष्ट्रिय खेलमा, आफ्नै घरमा अरुले हरायो भने त नमज्जा नै पो हुन्छ । आखिर यो त हाम्रो राष्ट्रिय खेल पो हो त ।

हारले पाठ सिकाउँछ भनेको त्यही रहेछ । हामीले जितेको बेलाभन्दा हारेको बेला सञ्चार माध्यममा आएका समाचार शीर्षक पनि ठूलठूला लागिरहेका थिए

****

सागमा स्वर्णको कल्पना गरिरहँदा भारत किन राम्रो छ त ? यसको जवाफ पनि खोज्नुपर्छ । भारतमा ससाना टिमका खेलाडीले पनि हरेक समय इन्डोरमा अभ्यास गर्दछन् र खेल्ने पाइरहेका हुन्छन् । हामी भने आउटडोरमा अभ्यास गर्छौं र प्रतियोगिता पनि आउटडोरमै खेल्छौं । एक्कासी इन्डोरमा खेल्दा अप्ठ्यारो हुन्छ ।

आउटडोरमा खेल्दा हावादेखि घामको प्रकाशसम्म हाम्रो खेलको तालमेल मिलेको हुन्छ । इन्डोरमा खेल्दा गुम्सिएको जस्तो, हावा नपुगेको जस्तो लाग्छ । त्यसले पनि हाम्रो खेलमा असर गर्ने रहेछ ।

सुनेअनुसार भारतीय राष्ट्रिय टिमका खेलाडीहरु त त्यति धेरै घरेलु प्रतियोगिता पनि खेल्दैनन् । नियमित रुपमा टिममै अभ्यास गरिरहन्छन्, खेलिरन्छन् । त्यसले उनीहरुको सेट राम्रो हुन्छ । सागका लागि पनि उनीहरु अहिलेदेखि नै तयार होलान्, हाम्रो भने हालत यस्तो छ । तर पनि भारतलाई हराएर स्वर्ण जित्ने लक्ष्य छ ।

बाहिरकै प्रशिक्षक चाहिन्छ भन्ने पनि होइन । तर अभ्यास भने कम्तिमा तीन महिना अगाडिदेखि हुनुपर्छ । त्यसले मात्र टिममा साझेदारी हुन्छ र टिम एकढिक्का बन्छ जस्तो लाग्छ । आश गरौं, त्यसै हुन्छ, होस् ।

नेपालमा प्रतियोगिताहरुको संख्या बढेको छ । यसले खेलाडीलाई व्यस्त बनाएको छ । सधैँ उस्तै खेलाडी, उही टिमसँग खेलेर खेलमा सुधार गर्न गाह्रो हुन्छ । हामी कहाँ व्यावसायिकता बढेपनि स्तरीयता बढ्न सकेको छैन । इन्डोर खेल्न मिल्ने ठाउँहरु छैनन् । यो इन्डोर खेल हो, त्यसरी नै खेलाउनु पर्छ भन्ने सोच छैन । किन त्यस्तो हुँदैन, सोचिँदैन भन्ने जवाफ भने मसँग पनि छैन ।

बरु राष्ट्रिय टिममा नखेलेकै यत्रो समय भइसक्यो भनेर सोच्ने हो भने झसङ्ग भइन्छ । खेलाडी राम्रा छन् तर, हुनुपर्ने सुविधा र अभ्यास नै छैन । नियमित खेल्न पाएका छैनौं भने सुधार कसरी हुन्छ त ?

****

राष्ट्रिय टिमबाट नखेलेपछि क्लब भलिबलमा भने हामी निकै व्यस्त रहृयौं । गएको वर्ष १२ वटा प्रतियोगिता जित्दा हामीले आदी अवादी महिला भलिबल लिग भने गुमायौं । फाइनलमा चितवन टाइगर्ससँग हारिन्छ जस्तो लागेकै थिएन । तर, तीन जना विदेशी खेलाडीले नै हाम्रो टिमलाई कमजोर बनाइदिएका थिए । तीन जना मात्रै विदेशी खेलाडी आउँदा त नेपालको च्याम्पियन टिम हार्छ भने बाँकी तपाईँ आफै नै सोच्न सक्नुहुन्छ ।

हामी जहिल्यै जितिरहँदा झण्डै हार बिर्सिसकेका थियौं । सबैले एपीएफले जित्छ नै भनिरहेका थिए । हाम्रो मनमा पनि उनीहरुको टिम मिलिसकेको छैन, हामी जित्छौं भन्ने नै थियो । तर त्यो दिन उनीहरुले कस्तो खेले भनेर हामीले पत्तै पाउन सकेनौं ।

हारको नरमाइलो अनुभव भयो । टिममा सुधार गर्नुपर्ने कुराहरु देखियो । हारले पाठ सिकाउँछ भनेको त्यही रहेछ । हामीले जितेको बेला भन्दा हारेको बेला सञ्चार माध्यममा आएका समाचार शीर्षक पनि ठूलठूला लागिरहेका थिए । सबैभन्दा नराम्रो त्यतिखेर लाग्दो रहेछ । त्यसैले त हामी जित्नका लागि थप मेहनत गर्छौं ।

मलाई एकदमै राम्रो लागेको प्रतियोगिता भने भर्खरै सकिएको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता हो । त्यसमा आर्मीको मैदानमा हामी अलि नर्भस थियौं । आर्मीको समर्थनमा धेरै मान्छे थिए । पछि हाम्रो ब्याण्डको दाइहरु आएर हुटिङ गरेपछि हामीलाई पनि निकै जोश आयो । आर्मीलाई हराएर उपाधि जित्यौं ।

त्यसअघि सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबलमा पनि राम्रो भयो । त्यसमा म उत्कृष्ट खेलाडी हुँदै स्कुटर पुरस्कार पाएकी थिएँ । एपीएफले जितेको प्राय प्रतियोगितामा सरस्वती चौधरी उत्कृष्ट हुन्छिन् । उनीबाहेक अरुले उत्कृष्टको ताज पाउने कहिलेकाहीँ मात्रै हो । त्यसमा भने मैले पाएँ ।

धेरै व्यक्तिगत उपाधि जितेकी त छैन, तर अहिलेसम्म बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट ब्लकर सबैमा मेडल पाएकी छु । यो सबै व्यक्तिगतभन्दा एपीएफमा हाम्रो टिमले गरेको मेहनतको फल हो जस्तो लाग्छ । किनकी नेपालको च्याम्पियन टिम बन्नु सानो कुरा पनि होइन । गएको वर्ष र यो वर्ष पनि जितको शिलशिला निरन्तर छ । यसमा यहाँसम्म आइपुग्दा धेरै जनाको मेहनत मिसिएको छ ।

****

भलिबल रमाइलो खेल पनि हो । त्यसैले नेपालमा धेरैतिर खेलिन्छ जस्तो लाग्छ । मानिसहरु खुब चाख मानेका हुन्छन् खेल्न, हेर्न दुवै । प्रतियोगिता सकिएको बेला कोही आएर तपाईँको खेल राम्रो थियो भनिदिँदा खुशी लाग्छ । आफूलाई नराम्रो लागिरहेको बेला पनि राम्रो खेल्नुभयो भनिदिँदा हौसला हुने रहेछ ।

मैले समर्थकका लागि एउटा भन्नैपर्ने कुरा छ । सामाजिक सञ्जालमा धेरै जनाको म्यासेजहरु आइरहेको हुन्छ । सबैलाई रिप्लाई गर्न भ्याइँदैन । जसको रिप्लाई हुँदैन, उहाँले घमण्डी रहिछे भन्ने सोच्नुहुन्छ होला । कत्तिले त खेलाडी भएर पनि यस्तो घमण्डी भनेर लेख्नुहुन्छ । कुनै समय उमेरका हिसाबले पनि घमण्डी थिएँ कि । धेरै साथी पनि थिएनन्, बाहिरको वातावरणमा घुलमिल हुन बाँकी नै थियो । त्यही कारण घमण्डपन आएको थियो कि जस्तो लाग्छ । तर अहिले त म त्यस्तो छैन ।

महत्वपूर्ण सन्देश छन् भने त रिप्लाई गरेको पनि हुन्छु, तर सबैले पठाएको सन्देश (हाई हेलो)को जवाफ फर्काउन समयले पनि भ्याउँदिन । बेवास्ता गरेको नसोच्नु होला । सम्झिरहेको हुन्छु, याद गरेको हुन्छु, तर रिप्लाई नै गर्न भने सबै बेला मिल्दैन नि त ।

****

सानो छँदा नाच्न रमाइलो लाग्थ्यो । अहिले त बिर्सिसकेँ । कुनै समय मोडलिङ गर्ने रहर थियो । प्रयास गरेँ पनि । तर त्यसको अगाडि भलिबल ठूलो बनेर आयो । त्यसैमा रमाएँ । यसैमा अझ राम्रो गर्नु छ । मेरो अहिलेको रहर भने पनि, उद्देश्य भने पनि भलिबल नै हो ।

आज जे गरिरहेको छु, त्यसमै मन लगाएको छु । त्यसैले भलिबलपछि के ? भनेर सोध्नु भयो भने त्यसको जवाफ पनि मसँग छैन ।

प्रस्तुति : ऋग्वेद शर्मा

तस्वीर : चन्द्र आले

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा‘ को ३६ औँ श्रृङ्खलामा यो हप्ता राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारीको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment