Comments Add Comment

बाबुरामको विश्लेषण : नेकपा फर्सी कुहिएझैं हुन्छ, कांग्रेसलाई म्युजियममा राखौं

३ जेठ, पोखरा । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बनेका डा. बाबुराम भट्टराई नेकपा, कांग्रेसका साथै साझा विवेकशीलमाथि निशाना सोधेका छन् । बरु उनी राजपालगायतका पार्टीहरुप्रति नरम देखिए ।

संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीच एकता भएपछि पोखरामा आयोजित पहिलो अभिमुखीकरण कार्यक्रममा भट्टराईले नेकपा नाम मात्रको कम्युनिस्ट भएको र कांग्रेसलाई म्युजियममा राख्नुपर्ने बताए । उनको साझा विवेकशीलको नाम त लिएनन् तर वैकल्पिक शक्ति बनेर बनेको पार्टी भन्दै त्यसलाई सहरीया सुकिलामुकिलाहरुको पार्टीको संज्ञा दिएका छन् ।

पार्टी एकताले विश्व तरंगित भएको भन्दै उनले अबको विकल्प समाजवादी पार्टी मात्र भएको दाबी गरे । ‘नेपालको राजनीतिमा केही समययता जुन प्रकारको गतिरोध, सन्नाटा छाएको छ । दुई तिहाई बहुमत नाम गरेको सरकारले जनतालाई जुन प्रकारको निराशामा पुर्‍यायो । कुनै पनि काम हुन सकेन,’ भट्टराईले भने, ‘यस्तो ठूलो निराशाबीच हामीले विकल्प दिने आँट गरेकै हो ।’

नेकपा सरकारले केही गर्दैन भन्ने आफूलाई पहिल्यै लागेको र एक वर्षमा जनताले पनि थाहा पाएको बताए । ‘हामीले त बुझेका थियौं यो कम्युनिस्ट नाम गरेको सरकार वास्तवमा कमाउनिस्ट हो । हारेर थाकेकाहरुको बसिबियाँलो छ । उहाँहरुले खानपानमै समय बिताउनुहुन्छ,’ भट्टराईले भने, ‘बागबण्डा नमिलेपछि कचिङ्गल सुरु हुन्छ ।’ पूर्व पुरोप र सोभियत संघका कम्युनिस्ट नाम गरेका सत्ता कुहिएको फर्सी झैं छताछुल्ल भएको स्मरण गर्दै उनले नेपालमा पनि नाम मात्रको कम्युनिस्ट सरकार भएको र यसको आयु धेरै नभएको बताए ।

उनले नेकपा सरकारलाई क्यान्सर लागेको बिरामीको संज्ञा दिए । ‘क्यान्सर लागेको बिरामी अन्तिम समयसम्म पनि टाठै हुन्छ । तर, कति दिन बाँच्छ भन्ने डाक्टरलाई थाहा हुन्छ,’ उनले भने, ‘कम्युनिस्ट सरकार पनि क्यान्सर लागेको बिरामी भइसकेको छ ।’ उनले नेकपाको सरकारलाई इंगित गर्दै ‘बाहिरबाट ताजा देखिने तर, भित्री भाग कुहिएको फर्सी’ भएको टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री भट्टराईले संघीय समाजवादी र नयाँ शक्ति पार्टीले एकता गर्दा ‘उनीहरु’ आत्तिएको आरोप लगाए । अरु शक्तिहरु आत्तिएर आलोचनामा उत्रिएको भन्दै उनले विचलित नहुन आग्रह गरे । भट्टराईले भने, ‘उनीहरु आत्तिनु ठूलो कुरा होइन । अपेक्षित हो ।’

उनले नेपाली कांग्रेसको युग सकिएको बताए । उदारवादी लोकतन्त्रलाई यहाँसम्म ल्याउन गरेको योगदानका लागि धन्यवाद दिएर कांग्रेसलाई अब म्युजियममा राख्नुपर्ने उनको तर्क छ । ‘अब कांग्रेसको युग सकियो । म्युजियम बनाएर त्यसमा राख्न सकिन्छ,’ भट्टराईले भने ।

कांग्रेस र कम्युनिस्टभन्दा माथि उठेर ‘रंगीचंगी पुतली’ बन्न नै संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता गरेको बताए । ‘कांग्रेस लार्भा थियो । कम्युनिस्ट झुसिलकिरा भयो । यी दुवैबाट बल्ल पुतली बन्ने हो,’ उनले भने, ‘हामी समृद्धिको जगमा समाजवादी शक्ति रंगीबिरंगी सुन्दर पुतली बनेको छ ।’

वैकल्पिक शक्ति भनेर अरु पनि आएको तर, उनीहरुमा सहरीया सुकिलामुकिला मात्र रहेको उनले बताए ।

उनले समाजवादी पार्टी प्रगतिशील र अग्रगामी सोच लिएर आएको तर, महत्वाकांक्षी भने नभएको दाबी गरे ।

पहिचानसहितको संघीयता लागू गर्न खस आर्य समुदायलाई पनि साथ र सहयोग गर्न आग्रह डा भट्टराईले गरे । उनले भने, ‘पहिचानसहितको संघीयता कायम गर्न खस आर्यको भूमिका झन महत्वपूर्ण हुन्छ । संघीयता कायम गर्न खस आर्य समुदायका साथीहरु झन् बढी भूमिका खेल्नुपर्छ ।’

समाजवादी पार्टीलेमात्र समुन्नत समाजवाद ल्याउनसक्ने भट्टराईको दाबी थियो । ‘सबैले लेखेर राख्नुस्, ५० वर्षपछि फर्केर हेर्नु समाजवादी पार्टीले मात्रै समुन्नत समाजवाल ल्याएको देख्नुहुनेछ,’ भट्टराईले भने ।

नेकपा र कांग्रेसले पहिचान दिने भ्रम सेतीमा बगाइदिनूः राई

कार्यक्रममा अर्का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए सरकार छाडेर सडकमा आउने बताए । कम्युनिस्ट पार्टीले बोकेकोजस्तो समाजवाद कुनै समय आफूहरुले पनि बोकेर हिँडेको स्मरण गर्दै यादवले अब त्यसको औचित्य नभएको बताए ।

वरिष्ठ नेता अशोक राईले नेकपा एकीकरण ‘उल्टो गति, उल्टो मति’मा गइसकेको आरोप लगाए । पार्टी एकतापछि नेकपा सदस्यहरुको विचार नै हराएको बताए । ‘पहिले सत्तामा पुग्न माओवादी र एमालेले पार्टीबीच एकीकरण गरे । अहिले आएर हाम्रो विचार कहाँनेर छ भनेर खोज्ने बेला भइसकेको छ,’ उनले भने ।

नेकपाले जनताको माग र चाहना पूरा नगर्नाले नै आफूहरु वैकल्पिक पार्टीका रुपमा आएको दाबी वरिष्ठ नेता राईले गरे । ‘उहाँहरुले टाउको दुखेको बेला पखाला लागेको दबाइ खुवाउँदै हुनुहुन्छ । यसले रोग निको हुँदैन’ उनले भने, ‘टाउको दुखेको बेला टाउको दुख्न सञ्चो हुने दबाइ नै दिनुपर्छ ।’

नेता राईले कांग्रेस या नेकपाले पहिचान दिन्छ भन्नु भ्रममात्र रहेको त्यस्ता भ्रम फिजाउनेलाई सेतीमा बगाउनुपर्ने बताए । ‘पहिचान सहज ढंगले प्राप्त हुँदैन । नेकपा वा कांग्रेसले पहिचान दिन्छ भन्नु भ्रममात्र हो,’ उनले भने, ‘सहज ढंगले पहिचान प्राप्त हुँदैन । यदी कसैले कांग्रेस, नेकपाले दिन्छ भन्ने भ्रम पाल्नु भएको छ भने सेतीमा बगाइदिए हुन्छ ।’

राईले ३ शीर्ष नेताको गुट समीकरण मिलाउनमात्र पार्टी एकीरकण नभएको प्रष्ट पारे । उनले मुलुकको आवश्यकता पूरा गर्न आफूहरुले एकीकरण गरेको दाबी गरे । ‘हामी वैचारिक रुपमा एकता कायम गरिसकेका छौं । अब चाँडै संगठनात्मक रुपमा एकता सम्पादन गर्नुछ,’ उनले भने ।

पार्टी एकताको मूल कारण नै पहिचानसहितको संघीयता कायम गर्नु रहेको राईको भनाइ थियो । पहिचान जातिवादी प्रसंग नभई न्यायका निम्ति आवाज भएको राईको दाबी थियो ।

‘पहिचानले म को हुँ भन्ने आफैं निश्चित गर्ने अधिकार दिन्छ । यो जातिवादी प्रसंग होइन,’ उनले भने, ‘पहिचान हामीलाई पूर्खाले दिइसकेको छ । हामीसँगै छ । त्यसलाई संवैधानिक संरक्षण प्राप्त हुनुपर्‍यो भन्नेमात्र हाम्रो माग हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment