Comments Add Comment

संविधान नसच्चिए सरकार छाडेर सडकमा उत्रन्छौं : उपेन्द्र यादव

३ जेठ, पोखरा । समाजवादी पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए आफ्नो पार्टी जुनसुकै बेला सडक संघर्षमा उत्रने बताएका छन् । आफूहरु सामेल हुँदा दुई तिहाइ पनि पुग्ने र संविधान संशोधनको बाटो पनि खुल्ने भएकाले सरकारमा गएको बताउँदै सहमति पूरा नभएर सडक आन्दोलनमा उत्रने बताएका हुन् ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकतापछि बनेको समाजवादी पार्टीको पहिलो प्रादेशिक अभिमूखीकरण कार्यक्रममा यादवले संविधान संशोधन गरेर त्रुटी नसच्याए सडक आन्दोलनको विकल्प नभएको बताए । यादवले त्यसका लागि तयार रहन नेता कार्यकर्तालाई आह्वान गरे ।

‘अहिलेको विकृतिपूर्ण संविधानलाई संशोधनका मध्यामबाट सच्याउ, सुधार गर भनेका छौं । उसले (नेकपा) सुधाछौं भनेको छ । सहमति पनि भएको छ,’ यादवले भने, ‘त्यही आधारमा हामी सरकारका सहभागी भएका हौं ।’

सरकारमा सहभागी हुनु अघि भएको सहमति कार्यान्वयन गर्ने बेला आएको यादवले बताए । ‘आफूले गरेको वचन, हस्ताक्षर र प्रतिवद्धतामा जो कोही उभिनुपर्छ । उभिदैनन् भने जनताले के भन्ने त्यो पनि समय आउँदैछ,’ यादवले भने, ‘हामी सरकार समातिरहन गएका होइनौं, संविधान सच्याउन र पाएको अधिकारीलाई रक्षा गर्न गएका हौं ।’

संविधान संशोधन नभएर मुख्य बाटो नै सडक संघर्ष भएको उनको भनाइ थियो । ‘हामी संघर्षमै छौं । सरकारको भागिदारी पनि एउटा संघर्षकै बाटो हो । यसमा भ्रम नहोस्,’ उनले भने, ‘अबको हाम्रो यात्रा संसदीय र गैरसंसदीय पनि हुन सक्छ । सडक संघर्ष मात्रै पनि हुन सक्छ ।’

संघीयता उल्ट्याउने खेल भइरहेको छ

समाजवादी पार्टीका अध्यक्ष यादवले संघर्ष र आन्दोलनबाट जन्मिएको संघीयता अपुरो भएको बताए । ‘संघीयता त जन्मियो तर अपंगता भएको । एउटा हात छ, अर्को खुट्टा,’ यादवले भने ।

त्यसलाई पनि उल्टाउने खेल भइरहेको यादवले बताए । ‘प्रदेशलाई अधिकार नदिएर यसले कामै गरेन भन्ने प्रचार गरिएको छ । यो संघीयतालाई नै कमजोर बनाउने खेल हो,’ यादवले भने, ‘संघीयता, गणतन्त्र, समावेशी र धर्म निरपेक्षतालाई सुरक्षित गर्दै बाँकी अधिकारको लडाइँ लड्ने बेला आएको छ ।’

कम्युनिस्ट पार्टीले बोकेकोजस्तो समाजवाद कुनै समय आफूहरुले पनि बोकेर हिँडेको स्मरण गर्दै यादवले अब त्यसको औचित्य नभउको बताए । नागरिक स्वतन्त्रता र लोकतन्त्रमा आधारित विभेदको अन्त्य, विकास र समृद्धि भएको समाजवाद आफूहरुले चाहेको यादवले बताए ।

‘गरिब झन् गरिब हुँदै जाने अनि धनी अझै धनी हुँदै जाने नेपाली आर्थिक प्रणाली परिमार्जन गर्नुपर्छ । आर्थिक संरचनामा ठूलो परिवर्तन नभइ समाजवाद आउँदैन,’ यादवले भने, ‘सुशासन, समाजवाद, संघीयता र विभेद, बेरोजगारीको अन्त्य कांग्रेस, कम्युनिस्टबाट असम्भव भएकाले दुई शक्ति एकीकृत भएका हौं ।’

अहिले पनि मधेशप्रति चरम विभेद रहेको उनको भनाइ थियो । ‘महिला, दलिद र जनजातिको विभेद पनि अन्त्य गर्न अग्रसर नहुने अनि कागजमा समाजवाद लेखेर हुन्छ ?’ यादवले भने ।

उनले फोरम र नयाँ शक्तिको एकता विचार मिल्नेहरुहरु एकता गर्दै जाने कामको सुरुवात मात्र भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment