Comments Add Comment

सार्वजनिक बसमा मुख्यमन्त्रीको सवारी

यातायात क्षेत्र पर्यटक मैत्री बनाउन जरुरी : पोखरेल

४ जेठ, बुटवल । मुख्यमन्त्रीलाई सरकारले गाडी सुविधा दिएको छ । आफ्नै गाडीमा सुरक्षाकर्मीको टोली अघिपछि लाउँदै मुख्यमन्त्रीहरु हुइँकिन्छन् ।

शनिबार बिहान प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल भने सार्वजनिक बस चढेर बुटवलबाट लुम्बिनी पुगे । रुपन्देहीका बिभिन्न रुटमा चल्ने बस सेवाको रिबन काटेर उदघाटन गरेपछि मुख्यमन्त्री पोखरेल श्रीमतीसहित सोही बस चढेर लुम्बिनी पुगेका हुन् ।

लुम्बिनी भ्रमण वर्ष २०७६ को अवसर पारेर रुपन्देहीमा सुविधा सम्पन्न सार्बजनिक बस सेवाको सिद्धबाबाबाट शुभारम्भ गरिएको छ । एसी र वाइफाइ जडित १० वटा अपांगमैत्री बस बुटवल लुम्बिनी चल्नेछन् । ५२ सिटको क्षमताका बसमा सिसिटिभी क्यामेरा पनि जडान गरिएको छ ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले यातायात क्षेत्र पर्यटकमैत्री बनाउन जरुरी रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको बिकासमा यातायातको महत्व धेरै भएको भन्दै नयाँ बसका कारण लुम्बिनी आउने पर्यटकलाई थप सहज बिश्वास समेत ब्यक्त गरे ।

यात्रुहरूलाई सहज र सुविधासहितको सेवा प्रदान गर्ने उद्देश्यले १० करोड रूपैयाँ लगानीमा भिजन लुम्बिनी लिमिटेडले एसी बसहरु सञ्चालनमा ल्याएको हो ।

ती बसहरु बुटवल, भैरहवा, सुनौली, लुम्बिनी, सेमलार, बर्दघाट रूटमा गुड्ने छन् । बुद्ध सर्किटमा पनि चलाउने गरी लिमिटेडले अनुमति लिइसकेको छ ।

गाडीमा रिचार्ज र टिकटको सेवा पनि उपलब्ध गराइने भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए । ‘बुटवल-भैरहवामा आवत-जावत गर्ने यात्रुले पनि अबदेखि सहज यात्रा गर्न पाउनेछन्, माइक्रो बसमा कोचाकोच हुनुपर्ने अबस्थाको अन्त्य हुनेछ,’ अध्यक्ष पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment